काठमाडौं । नेपालले चीनबाट किनेको कोरोना भाइरस विरुद्धको खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । त्रिभुवन विमानस्थलमा चीनबाट नेपाल एयरलाइन्सका जहाज आज साढे ६ बजे विहान अवतरण गरेको हो । आगामी दुई साता भित्रै ४० लाख डोज खोप नेपाल आइसक्ने छ । खोप लिन नेपाल वायुसेवा निगमको विमान बिहीवार चीन गएको हो ।
नेपाल आएको खोप वितरण शुरु नभएसम्म निश्चित तापक्रममा भण्डारण गर्नुपर्छ । साथै गाउँ गाउँसम्म कोल्ड चेनको व्यवस्था गरेर उपलब्ध गराउनु पर्छ । सरकारले अब भने धमाधम खोप अभियान चल्ने बताएको छ । खोप आएसँगै अब ६४ वर्षभन्दा तलको जनसंख्याले खोप पाउने छ ।
चीनबाट भेरोसेल खोप किनिएको हो । नेपाल आइपुगेको खोप सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको चिस्यान भण्डारणमा राखिने छ। केन्द्रीय स्तरका भण्डारण केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, टेकु र पथलैयासहित हेटौँडा, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा क्षेत्रीय स्तरका भण्डारण केन्द्र बनाइएको छ ।