काठमाडौं । चीनले तीन वर्षमाथिका सबै बालबालिकामा कोरोना विरुद्धको खोप लगाउने भएको छ । चीनको स्वास्थ्य विभागले चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकको खोप तीन वर्षमाथिका बालबालिकामा समेत लगाउन सकिने गरि अनुमति प्रदान गरेको हो ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चीनले यसअघि १८ वर्ष भन्दा माथिकाले मात्र खोप लगाउन सक्ने अनुमति पाएका थिए । तीन वर्षमाथि उमेर समूहलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिने चीन पहिलो देश बनेको छ ।प्रयोगमा आएका कोरोना भाइरसविरुद्धको १५ वटा खोपमध्ये सिनोभ्याकको खोपले पहिलोपटक कम उमेरका लागि अनुमति पाएको छ ।
यो खोपलाई गत साता मात्र विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन अनुमति प्रदान गरेको थियो । तीन वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा दुई चरणमा गरिएको परीक्षणमा सिनोभ्याकको खोप १८ वर्षभन्दा माथिकालाई जत्तिकै प्रभावकारी देखिएको निष्कर्ष निस्केको चिनियाँ अधिकारीले बताएका छन् ।
कोरोना भाइरसको तेस्रो लहरले बालबालिका बढी प्रभावित हुने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । चीनले अहिले दैनिक साढे एक करोड मानिसमा खोप दिइरहेको छ ।