काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) उत्पत्ति भएको शहर चीनको वुहानमा महामारीबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९० जना थपिएका छन् ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकालाई यसमा गणना गरिएको छ ।
चीनले वुहानबाट मात्र १२ सय ९० जना थप भएको उल्लेख गरेको छ ।
महामारीको समयमा अस्पतालमा पर्याप्त भर्ना नभएका, घरमै मृत्यु भएका र दोहोरिएका समेत जोडेर फाइनल नतिजा निकालिएको चीनले उल्लेख गरेको छ ।
यसअघि चीनले यथार्थ विवरण लुकाइरहेको आरोप लागिरहेको थियो ।
यसलाई स्वयमः चीनले समेत स्वीकार गरेको छ । चीनले वुहानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या पुनरावलोकन गर्दै ३ हजार ८ सय ६९ पुगेको उल्लेख गरेको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार महामारीको समयमा पर्याप्त भर्ना तथा उपचारको क्षमताको अभावको कारण केही मेडिकल संस्थाले समयमा नै रोग नियन्त्रण तथा रोकथाम प्रणालीलाई जानकारी दिन नसकेका हुन् ।
अहिले दोहोरिएकालाई हटाउने र छुटेकालाई थप्ने काम पनि भएको चिनियाँ अधिकारीले जनाएका छन् ।