चीनमा दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटियो

काठमाडौं । दक्षिणी चीनको पहाडी क्षेत्रमा दुर्घटनामा परेको चाइना ईस्टर्न विमानको ब्ल्याक बक्स भेटिएको छ । चिनियाँ सरकारी सञ्चार माध्यमले यसको पुष्टी गरेका छन् । बीबीसीका अनुसार चिनियाँ उड्डयन अधिकारीहरूले दुई दिनको खोजी पश्चात् ब्ल्याक बक्स भेटिएको बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन्। अधिकारीहरूले मृतकको सङ्ख्या अझै यकिन गरिसकेका छैनन् । तर विमानमा सवार १३२ जनाको जीवितै उद्धार हुने सम्भावना कम रहेको आशङ्का गरिएको छ।

चीनमा दुई दिनअघि दुर्घटनामा परेको यात्रुवाहक विमानको भग्नावशेष फेला परेको क्षेत्रमा ठूलो वर्षा भएपछि पहिरो जाने जोखिमका कारण खोजी तथा उद्धार अभियान अवरुद्ध भएको छ। सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार दुर्घटनास्थल भएको क्षेत्रको जमिनमा माटोले धेरै पानी सोसेकाले उद्धारकार्य अनिश्चित बनेको हो । दक्षिण चीनको पहाडी भेगमा सोमवार चाइना ईस्टर्नको १३२ मानिस सवार एमयू५७३५ विमान दुर्घटनामा परेको थियो।

उद्धारकर्मीले अहिलेसम्म कसैलाई पनि जीवित फेला पार्न सकेका छैनन्। अनुसन्धानकर्ताहरूले उक्त विमान किन अकस्मात् आकाशबाट खस्यो भन्ने पत्ता लगाउन सकेका छैनन्। दुर्घटनाका कारण चीनमा शोक फैलिएको छ। यात्रु र चालकदलका सदस्यका आफन्तहरू समाचारको व्यग्र प्रतीक्षा देखिन्छन्। युन्नानको राजधानी कुन्मिङबाट उडेको उक्त विमानले सोमवार अपराह्ण ग्वाङ्जाऊमा अवतरण गर्नुपर्ने थियो।