चीनलाई अमेरिकाको चेतावनी : रुसलाई आर्थिक तथा सैन्य सहयोग नगर्नु

File

काठमाडौं । अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ। बीबीसीका अनुसार रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन्। तर चीनका एक अधिकारीले आफूहरू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताए। अमेरिकाले रुसलाई थप आर्थिक मद्दत नगर्न चीनलाई चेतावनी दिएको हो।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउने कुनै कोसिस बेइजिङले गर्न नहुने बताएका छन्। सोमवार उनले चीनका वरिष्ठ विदेश नीति अधिकारी याङ जेइचीसँग रोममा भेट्दैछन्। फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङसँग त्यस्तो मद्दत मागेको थियो।

तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन। ती विवरणमा चीनले मद्दतको तयारी गरिरहेको पनि उल्लेख गरिएको छ। वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए। उनले चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको बताए।