काठमाडौं\एजेन्सी । चीनले आफ्नो जनसंख्यामा १ अर्ब भन्दा माथिको संख्यामा कोरोना खोप लगाएको छ । चीन कोरोना खोप निर्माता मुलुक समेत हो । चिनियाँ नेशनल हेल्थ कमिसनका अनुसार शनिबारसम्म चीनमा उक्त संख्यामा कोरोना खोप वितरण भएको हो । विश्वभर कोरोना खोपको २ अर्ब ५० करोड डोजभन्दा बढी खोप वितरण भएको छ । यस आधारमा विश्वभर दिइएको कोरोना खोपमध्ये करिब ४० प्रतिशत चीनले मात्र खपत गरेको देखिएको छ ।
चीन संसारमा सबैभन्दा धेरै मानिसमा कोरोना खोप दिने मुलुक हो । चीनपछि अमेरिकाले ३१ करोड डोज कोरोना खोप दिइसकेको छ । चीनले खोपको संख्या सार्वजनिक गरेपनि कति मानिसले खोप पाए भन्ने भने खुलाएको छैन । चीनमा सन् २०२० को डिसेम्बरबाट कोरोना खोप लगाउन थालिएको हो । चीनले अहिले दैनिक एक करोडभन्दा धेरै डोज कोरोना खोप बाँडिरहेको छ ।