काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको भन्दै चीनले पुनः एकतर्फी रुपमा नेपालसँगका नाका बन्द गरेको छ । तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको बताइएको छ । नाका बन्द भएपछि तीन दिन अघिदेखि सो नाकाबाट चिनियाँ सामान आयात हुन नपाएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार बुधबारदेखि चीनबाट सामान आयात रोकिएको छ ।
तिब्बतमा कोभिड संक्रमण दर बढेको भनिए पनि अब कहिले खुल्नेबारे केही जानकारी नआएको कार्यालयले जनाएको छ । सो नाकाबाट दैनिक ४ देखि ८ कन्टेनर चिनियाँ सामग्री नेपाल आयात हुदैंआएको थियो । स्याउ, मेशिनरी उपकरण, रोल कपडा आयात भइरहेका थिए । जुरे पहिरो, भूकम्प, बाढीपहिरो, कोरोना महामारीलगायतका बिपद्का कारण सो नाका बन्द हुने र खुल्ने हुँदैंआएको छ ।