चुनावका लागि म्यादी प्रहरीको भर्ना फेरि खुलाइने, प्राथमिकतामा स्थानीय चुनावमा खटिएका

काठमाडौं । सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ ।

सरकारले निर्वाचनको घोषणा गरेसँगै सुरक्षाका लागि म्यादी प्रहरीको भर्ना खुलाउने भएको छ । सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउन लागिएको हो ।

चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहने गर्दछ । निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीले प्रहरीको मातहतमा रहेर काम गर्छन् ।

यसअघि स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । म्यादी प्रहरीमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिकता दिएर भर्ना गर्ने प्रस्ताव लैजाने तयारी भएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए ।