काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड(नेपाल समूहलाई निर्वाचनको तयारी थाल्न आग्रह गरेका छन् ।
सूदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्कवेटमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
संसद पुनर्स्थापना नहुने उल्लेख गर्दै ओलीले भने कहाँ सडकमा गएर कपडा बिगार्या? उहाँहरु सिंगौरी खेल्दै हुनुहुन्छ।
कहिले माइतीघरमा कहिले भृकुटीमण्डपमा। एक्लै सिंगौरी खेलेर केही हुन्न। चुनाव लड्दा थाहा हुन्छ। जनताले देखाइदिन्छन्। तर पनि मेरो शुभकामना छ उहाँहरु पनि केही सिट जित्नुस्।’ निर्वाचनमा आउनुस्, बत्ती निभाइँदैन, मतपत्र च्यातिदैन । च्यात्न दिइँदैन । बाक्सा साट्न दिइँदैन । यस्तो तमासा लोकतन्त्रमा गर्न पाइदैन । स्वच्छ निर्वाचन हुन्छ । शान्त निर्वाचन हुन्छ ।’
सम्बोधनका क्रममा उनले यसअघि चुनावमा मतपत्र च्यातिएको समेत स्मरण गरे । ‘प्रचण्डले कांग्रेससँग मिलेर पनि छोरी जिताउन गाह्रो थियो । छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्नुभएको थियो,’ उनले भने ।