काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आगामी चुनावमा सहभागी हुने वा नहुने भन्ने कोणबाट विभाजन देखिएको छ ।
केन्द्रीय समिति बैठकमा पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई लिएर नेताहरु विभाजित भएका हुन् । चुनावको विषयले नेताहरु तीन धारमा विभाजित देखिएका छन् ।
विप्लवले चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव आफ्नो प्रतिवेदनमा समेटेका थिए । जुन मुद्दामा नेताहरु तीन कित्तामा विभाजित भएका छन् ।
अधिकांश नेताहरुले चुनावमा जाने प्रस्ताव क्रान्ति विरोधी भएको भन्दै विपक्षमा आफ्नो मत राखेका छन् भने कतिपय नेताहरु चुनावलाई उपयोग गरेर जानुपर्ने अडानमा छन् । चुनावलाई उपयोग गरेर जानुपर्ने मतमा उभिएका नेतामध्ये केही माओवादी केन्द्रसँग सहकार्य गर्ने पक्षमा देखिएका छन् भने केही एमालेसँग सहकार्य गर्नुपर्ने पक्षमा देखिएका छन् ।
मुख्यतः नेकपाको सचिवालय टिममै चुनावमा जाने वा नजाने भन्ने विषयमा तिक्ततापूर्णं विवाद देखिएको छ । विप्लव, प्रकाण्डलगायतका नेताहरु चुनावमा जानुपर्ने अडानमा देखिएका बेला धमेन्द्र बास्तोला, हेमन्तप्रकाशन ओलीसहितका नेताहरु कुनै हालतमा चुनावमा जान नहुने अडानमा छन् । यता विप्लव र प्रकाण्डबीच माओवादीसँग सहकार्य गर्ने वा एमालेसँग सहकार्य गर्ने भन्ने कोणबाट विवाद देखिएको छ ।