काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ताधारी गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ। आइतवार एक वक्तव्य जारी गर्दै एमालेका महासचिव शङ्कर पोखरेलले सरकार पक्षीय दलहरूले प्रशासनको दुरुपयोग गर्दै धाँधली गरेको आरोप लगाएका छन्। तर, निर्वाचन सकिएको तीन दिन पछि एमालेको यस्तो वक्तब्य आउनुलाई भने मानिसहरुले आफ्नो पक्षमा जनमत आउने नदेखिएपछि आएको प्रतिक्रियाका रुपमा मात्र बुझेका छन् ।
अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा धेरै पालिकाहरूमा जित हासिल गरे पनि मतगणनाको प्रारम्भिक नतिजाले यो दलले यसअघिको जस्तो नतिजा ल्याउन नसक्ने सङ्केत गरेको छ। एमालेले स्थानीय तह निर्वाचन सुरु हुनुभन्दा अघि, मतदानको क्रममा र मतगणनाको क्रममा योजनाबद्ध धाँधली भएको भनेको छ । एमालेले आफ्नो दल र उम्मेदवारहरूको तर्फबाट कतिपय पालिकाको पुनः मतदान र मतगणना गराउन माग गर्दै दिएको निवेदनको सुनुवाइ गर्न निर्वाचन आयोगसँग माग समेत गरेको छ ।