सीमा अतिक्रमण बिरुद्ध ह्वाइट हाउस अगाडि नेपालीहरुद्वारा प्रदर्शन

न्यूयोर्क/अमेरिका
भारतले पछिल्लो समय गरेको सीमा अतिक्रमण बिरुद्ध अमेरिकामा रहेका नेपालीहरुले बिरोध प्रदर्शन गरेका छन् । नेपालको पूर्वीक्षेत्रको सीमानामा पर्ने कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा आइतबार वासिङटन डिसी स्थित ह्वाइट हाउस अगाडि प्रदर्शन गरिएको हो । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज अमेरिका (वाना)का पूर्व अध्यक्ष तथा ट्रष्टी सभापति कुलमणी आचार्यको संयोजकत्वमा विरोध प्रदर्शन गरिएको थियो ।
सीमा अतिक्रमण विरुद्ध अमेरिकाको ह्वाइट हाउसदेखि डिसीस्थित भारतीय राजदूतावाससम्म जुलुस प्रदर्शन गरिएको थियो । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको अगाडितर्फ रहेको लाफाऐट पार्क वरिपरिको गोरेटो हुँदै विरोध जुलुस डिसीको मुख्य शहर हुँदै भारतीय राजदूतावाससम्म पुगेर टुङ्गिएको थियो । कार्यक्रममा सीमाविद बुद्धिनारायण श्रेष्ठले भारतले गरेको नेपाली भूमि अतिक्रमणको बारेमा जानकारी गराएका थिए । यस्तै, बरिष्ठ लोकगायक प्रेमराजा महतले देशभक्तिपूर्ण ओतप्रोत भएको गीत सुनाएका थिए भने लोकगायक रामप्रसाद खनालले भारतलाई व्यंग्य गर्ने कविता वाचन गरेका थिए ।


सहभागीहरुले ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो’, ‘गो ब्याक इण्डिया’ भन्दै नारा लगाएका थिए । विभिन्न ब्यानर र प्लेकार्डसहित निस्केको जुलुसलाई कमान्ड प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष प्रभु थापा, ताईक्वान्डो मास्टर कुमार कार्की, कृष्णबहादुर वलाल गिनिज बुकमा रेकर्ड राख्न सफल उज्जल ठकुरी लगायतले कमाण्ड गरेका थिए ।

तस्बीरः बिनोद अधिकारी