Author: Kalpu

  • अमेरिकामा रहेका नेपाली विद्यार्थीको समस्या : अर्को महिनादेखि घरभाडा तिर्नै गाह्रो

    कल्पना घिमिरे
    न्यूयोर्क/अमेरिका
    कोरोना भाइसरको संक्रमणले यतिबेला अमेरिका ठप्प छ । दिन दुगुना रात चौगुना फैलदो संक्रमणले सम्पूर्ण अमेरिकाबासीको दैनिकी अस्तब्यस्त बनेको छ । महिना दिन भन्दा बढी घर भित्रै थुनिएर बस्नुपर्दा यहा रहेको नेपाली समुदायमा निकै छटपटि र अत्यास बढिरहेको छ । अझ अध्ययनका लागि अमेरिका आएका नेपाली विद्यार्थीहरुले भने बढी मार खेपिरहेका छन् ।
    काम गर्न नपाएकाले उनीहरुलाई आगामी महिनादेखि आर्थिक भार बढ्ने आँकलन गरिएको छ । हालसम्म कलेजको शुल्क बुझाइएकाले अहिलेलाई समस्या नपरेपनि अर्को महिनादेखि कलेजमा बुझाउने मासिक शुल्क र घरभाडाका लागि समस्या पर्ने विद्याथीहरुले बताएका छन् ।
    नेपालबाट एफ वान भिषामा पढ्नका लागि अमेरिका आएका करिब ४५ हजार विद्यार्थी समस्यामा पर्ने अनुमान गरिएको छ । अमेरिकाका बिभिन्न राज्यमा भएका ४ हजार भन्दा बढी युनिर्भसिटिमा नेपाली बिद्यार्थीहरु अध्ययनरत छन् ।
    नेपाल बिद्यार्थी संघ अमेरिकाका सभापति प्रभात सापकोटा कोरोना भाइरस संक्रमणको प्रत्यक्ष र अप्रत्यक्ष मारमा नेपाली बिद्यार्थीहरु रहेको बताउ“छन् । ‘एउटा विद्यार्थीले सातामा १५/२० घण्टा काम गरेर कलेजमा तिर्ने शुल्क जसोतसो ब्यवस्थापन गर्थ्यो पढिरहेको विद्यार्थीले काम गर्न नपाएको अवस्थामा आर्थिक समस्या बेहोर्नुपर्छ ।’
    उनका अनुसार एफवान भिषामा अध्ययन गरिरहेका अधिकांश विद्यार्थीहरुको सोसल सेक्युरिटि नभएकाले अमेरिकी सरकारले उपलब्ध गराएको राहत रकम पनि उनीहरुले पाउदैनन् ।
    एउटा विद्यार्थीका लागि मासिक घरभाडा ६/७ सय, कलेजको शुल्क १ हजार देखि १२ सय, खाना गरेर मासिक २ हजार अमेरिकी डलर खर्च हुने गर्छ । नेपालबाट मासिक २ हजार अमेरिकी डलर सम्म खर्च पठाउन सक्ने परिवार संख्या अत्यन्तै थोरै छ । अध्ययनका लागि अमेरिका आएका अधिकांश नेपाली विद्यार्थीहरु आफै कमाएर पढेका हुन्छन् । तोकिएको समय (घण्टा) मात्रै काम गर्नुपर्दा उनीहरुसंग बचत नहुने भएकाले पनि बढी समस्यामा पर्नेछन् ।
    लुजियाना टेक युनिभर्सिटिमा अध्ययनरत अंकित अर्याल भन्छन्, ‘काम गरेर ‘पे चेक टु पे चेक’ दैनिकी गुजारिरहेका हुन्छौ । अझै लामो समयसम्म काममा जान पाइएन भने अर्को महिनादेखि घरभाडा तिर्नै मुस्किल पर्छ ।’ उनका अनुसार नेपालबाट खर्च पठाउने अवस्था नै छैन । लकडाउनले गर्दा अब नेपालमै रहेको परिवारले आर्थिक समस्या झेल्नुपर्ने हुनसक्छ ।
    न्यूयोर्कमा रहेर नेपाली विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छिरिङ लामाले यतिबेला संक्रमणबाट न्यूयोर्क धेरै प्रभावित भएकाले यहाँका विद्यार्थीलाई ग्रोसरी (खाद्यान्न) किन्न जानै समस्या परेको बताए । आफुले भ्वाइस फर युथ मार्फत समस्यामा परेका बिद्यार्थीहरुलाई सहयोग गर्दै आएको बताए । ’ग्रोसरी गर्न नपाएका हरुलाई घरमै ‘फुड डेलीवरी’ गर्ने व्यवस्था गर्दैछौं । कोभिड १९ संग एक्पोज भइसकेका विद्यार्थीहरुलाई कसरी सहयोग गर्ने चुनौती छ ।’
    इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनको तथ्याक अनुसार करिब ४५ हजार बिद्यार्थीहरुमध्ये धेरैको सोसल सेक्युरिटि नम्बर छैन । ‘सोसल सेक्युरिटि नम्बर नभएका कारणले अनइम्प्लोइमेन्ट फारम दर्ता गर्न नसकेको अवस्थामा कलेज र ट्युसनका लागि बुझाउने शुल्कमा केही गर्न सकिन्छ कि भनेर समुदायका अगुवाहरुसंग छलफल गरिरहेका छौं ।’

    योर्क कलेजमा अध्यापन गराइरहेका डाक्टर अबिन ओझा भन्छन्, ‘नेपालको पैसासंग यहाको डलर तुलना गर्न सकिन्दैन । विद्यार्थीहरुले काम गर्दै शुल्कको ब्यवस्थापन गर्नुपर्ने हुँदा उनीहरु संग बचत (सेभिङ) नै हुँदैन । जसले गर्दा उनीहरुलाई आर्थिक भार बढ्नेछ ।’

  • शेर्पा किदुगले बुधबार निशुल्क तरकारी र फलफुल बाँड्ने

    शेर्पा किदुगले बुधबार निशुल्क तरकारी र फलफुल बाँड्ने

    न्यूयोर्क/अमेरिका
    शेर्पा किदुगले बुधबार निशुल्क तरकारी र फलफुल बाँड्ने भएको छ । ज्याक्सन हाइट वरपर बस्ने नेपाली समुदायलाई केन्द्रित गरी किदुगको भवनमा बुधबार १:३० देखि ३ बजेसम्म सागसब्जी र फलफुल बितरण गरिनेछ । किदुगले ग्रो एनवाइसीसंग मिलेर खानेकुरा वितरण गर्न लागेको हो । किदुगले पहिलो पटक गर्न लागेको यस बितरण कार्यक्रमका लागि न्यूयोर्क सिटी डिस्ट्रिक २५ का काउन्सिल मेम्बर ड्यानियल ड्रमले निशुल्क खानेकुरा उपलब्ध गराएका हुन् ।
    बिशेष गरी नेपाली समुदायमा स्वस्थ खानाको पहुच  पुर्याउने उदेश्यले किदुगले हरेक साता बितरण गर्ने जनाएको छ । सामान लिनका लागि शेर्पा किदुगमा आएका प्रत्येक ब्यक्तिले स्याउ, सुन्तला, सखरखण्ड, प्याज, लेटेस, सिलान्त्रो, दुध, चामल, राजमा(बिन्स) राखेर तयार पारेको १ प्याकेट लिन पाउने किदुगका अध्यक्ष उर्गेन शेर्पाले जानकारी दिए । ‘ड्यानियल ड्रमले पहिलो साताका लागि हामीलाई निशुल्क खाना उपलब्ध गराएकाले समुदायलाई निशुल्क वितरण गर्ने तयारी गरेका हौं । अर्को साता देखि मेयर अफिस र ग्रो एनवाइसिसंग मिलेर बजार भाउ भन्दा आधा नै सस्तोमा खानेकुरा उपलब्ध गराउने तयारी गरिरहेका छौं ।’ उनका अनुसार आफुहरुले बितरण गर्ने सागसब्जी र फलफुल गुणस्तरीय र ताजा हुनेछ ।
    एक ब्यक्तिले ६ वटा स्याउ, २ वटा सुन्तला, २.५ पाउण्ड सखरखण्ड, ३ पाउण्ड प्याज, लेटेस, सिलान्त्रो, दुध, चामल, राजमा राखेर तयार पारेको १ प्याकेट पाउनेछन् । बिरामीका परिवारलाई पहिलो प्राथमिकता दिइने किदुगले जनाएको छ । सामान लिन आउनेहरुले लाइनमा बस्दा ६ फिट दुरी कायम गर्नुपर्नेछ । अहिले बिरामी र संक्रमित परिवारले स्वास्थ र ताजा खानेकुरा खानुपर्ने आवश्यकतालाई मध्येनजर गर्दै वितरण गर्न लागिएको अध्यक्ष शेर्पाले बताए । बुधबार ३ सय जनालाई बितरण गर्ने तयारी गरेका छौं ।
    ‘एनआरएन र न्यूयोर्कको सहयोग समुहसंग मिलेर घर/घरमा पुर्याउन सकिन्छ कि भनेर हामी छलफल गरिरहेका छौ’ शेर्पाले भने ।

  • ‘अस्पतालबाट चाँडै घर फर्कनुस् है आमा’

    ‘अस्पतालबाट चाँडै घर फर्कनुस् है आमा’

    कल्पना घिमिरे
    ‘आज तीन दिन भैसक्यो आमासंग गफगर्न नपाएको, कति फोन गरेँ घण्टी गइरहन्छ आमाको फोन उठ्दै उठ्दैन’ अस्पताल पुगेको २ दिन सम्म त आमाले फोन उठाउनुहुन्थ्यो । अब त फोन उठ्न पनि छोड्यो’ उषा दिदीको छटपटि झन् झन् बढ्दै थियो ‘मैले अस्पताल पुर्याएर ठूलो गल्ती गरें, बरु घरमै राखेर स्याहार गरेको भए आमालाई छिटो निको हुन्थ्यो होला, आमालाई अस्पताल लगेदेखि नै मेरो भोक निन्द्रा हराएको छ । मन अतालिएको छ मैले यस्तो के पाप गरेँ ? र आज आमाले प्रदर्शनी यो भोग्नुपर्यो भन्ने सोच्छु । फोनमा गनथन गरेको धेरैबेर भैसक्यो उषा दिदीको रुवाबासी टुङ्गिएन । आमाको उपचार भइरहेकोले ठिक भइहाल्ने सान्त्वना दिदैँ मैले अनेक तवरबाट मन दरो बनाउन र चिन्ता नगर्न सम्झाएँ । तर, दिदीको मन कसरी सम्झिएला ?
    तीन महिना अघि सम्म म संगै अपार्टमेन्ट शेयरमा (एउटै घरमा) बस्ने उषा दिदीको ८१ वर्षीया आमा नेत्रकुमारी गौचन यतिबेला ज्याक्सन हाइटस्थित एल्मष्ट अस्पतालमा  हुनुहुन्छ । अमेरिकामा रहेका छोरी ज्वाँई भेट्न र घुम्न तीन महिना अघि मात्रै आमा अमेरिका आउनुभएको थियो । उमेर निकै पाको भएपनि आमाको स्वास्थ्य अवस्था सामान्य नै थियो । बिहान बेलुका खाना बनाउने, घरको काम गर्ने, सामान्य हिनडुल गर्ने सबै आमाले गर्नुहुन्थ्यो ।
    दुई महिनादेखि कोठाबाट बाहिर निस्कदै ननिस्केको आमालाई एक्कासी सामान्य ज्वरो देखियो र श्वास फेर्न अफ्ठेरो भएकाले केही दिन अघि अस्पताल पुर्याइएको थियो । परिवारका सदस्यले आमालाई एम्बुलेन्समा राखेर अस्पताल पठाएदेखि नै देख्न पाएका छैनन् । ‘कस्तो अवस्थामा कहाँ हुनुहुन्छ केही पत्तो भएन के खानु भयो होला ? न त भाषा बुझ्नु हुन्छ न त खानेकुरा नै आफुले खानेजस्तो मिल्छ ?’ अहिले परिवारको सदस्यको चिन्ता नै यही छ ‘खानेकुरा बेस्सरी खुवाउन सके पो आमाले रोगसंग लड्न सक्नुहुन्थ्यो, रोगले भन्दा पनि खानै नपाएर पो धेरै कमजोर हुनुभयो ।’
    अस्पताल पुगेका कोरोना संक्रमित बिरामीलाई कसैले पनि भेट्न पाउँदैन । अस्पतालले नै बिरामीको लागि खानेकुरा लगायत सबै ब्यवस्था मिलाएको हुन्छ । चिसो पानी, पाउरोटी र के केको मासु दिएकोले आफुले खान नसकेको गुनासो आमाले सुरुमा फोन सम्पर्क हुँदा गर्नुभएको थियो रे । भाषा नबुझेर बाथरुम जान समस्या परेको, तातो पानी पिउन नपाएको र आफु खानै नपाएर कमजोर हुँदै गएको आमाले सुनाएकोमा परिवार बढी चिन्तित छ । आमालाई आइसोलेसन डिपार्टमेन्टमा छुट्टै कोठामा राखेको रहेछ । आफ्नै छेउको बेडमा कतिबेला शब (डेड बडी) ल्याएर राखिदिएछन् । थाहापाएपछि आमा बेडबाट उठेर रिसेप्सनसम्म गएर नेपालीमै कराउन थाल्नु भएछ । ‘मेरो छेउमा मान्छेको लाश किन राखेको ? बाहिर निकाल’ भनेर चिच्याउन थालेपछि अस्पताल प्रशासनले शब हटाइदिएको पनि आमाले उषा दिदीलाई सुनाउनु भएको रहेछ । आफ्नो आमाको आँट देखेर गर्व गर्दै दिदी सुनाउँदैहुनुहुन्थ्यो ‘तर, आफुले बोलेको डाक्टर, नर्सले नबुझ्ने, उनीहरुले बोलेको आफुले नबुझ्ने भएकाले उपचार गरिरहेका बुढाबुढीले निकै सकस भोग्नुपर्ने रहेछ ।’
    ‘बरु आमालाई अस्पतालले डिस्चार्ज गरिदिए म घरैमा राम्ररी हेरचाह गर्थे, खुवाइरहन्थे र निको पार्थे भन्ने लाग्छ’ दिदीको कामना छ ‘आमालाई चाँडो निको होस् छिट्टै घर ल्याउन पाऊँ । अमेरिका घुम्ने मेरो आमाको इच्छा पुरा गराउनुछ । अस्पतालमा कामगर्ने नेपाली भाइबहिनी जसले मेरो आमालाई भेटेर मलाई सम्पर्क गराइदिनु भयो सबैप्रति आभारी छु ।’

  • क्वारेन्टाइनका लागि निशुल्क होटलको ब्यवस्था

    क्वारेन्टाइनका लागि निशुल्क होटलको ब्यवस्था

    न्यूयोर्क/अमेरिका

    कोभिड १९ को बिरामी भएर अस्पताल भर्ना भएका बिरामीलाई क्वारेन्टाइनको ब्यवस्था गरिएको छ । न्युयोर्कमा कोरोना भाईरसका कारण क्वारान्टाईनमा बस्नु पर्ने भएमा निशुल्क होटल ब्यवस्था गरिएको छ । अधिकारले आज एक सुचना जारी गरी क्वारेन्टाइनमा बस्नु पर्ने बिरामीका लागि होटलको नाम र ठेगाना सार्वजनिक गरेको छ ।

    कोभिड १९ पोजेटिभ देखिएपछि परिवारका सदस्यबाट अलग्गै बस्नु पर्ने बिरामीहरुका लागि विषेश बसोबासको व्यवस्था मिलाउन अधिकारले काउन्सिल मेम्बर ड्यानिल ड्रोम र न्यूयोर्क सिटि हस्पिटलसंग मिलेर काम गर्दै आएको थियो ।
    यो निर्देशिका न्यूयोर्क शहरको स्वास्थ्य तथा अस्पताल सेवा न्यूयोर्क सिटि स्वास्थ्य तथा अस्पताल(एच एच) अन्तर्गतका अस्पतालहरुमा मात्र लागु हुन्छ । एचएचका अनुसार यदि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु परेमा सबै खर्च तिरिएको होटेलको कोठाको माग गर्न सकिनेछ । एच एच अन्तर्गतको अस्पतालमा आकस्मिक सेवा (ईमरजेन्सी) मा भर्ना भइ अस्पतालले क्वारेन्टाइनमा बस्न पठाएको र उपचार पछि अस्पतालले घर पठाउन लागेको अवस्थामा यो सेवा लिन सकिनेछ । अस्पतालमा दोभाषेको आवश्यक परेमा ३११ मा फोन गरेर यो सेवा लिनका लागि अनुरोध गर्न सकिनेछ ।
    क्वारान्टाईनका लागि निस्शुल्क होटेलको कोठा सहित खानपिनको पनि व्यवस्था गरिनेछ । त्यसको साथै अन्य रोगको लागि विषेश हेरचाह, होम केयर र स्वभाव बारे स्वास्थ (बिहेबियरल हेल्थ) सेवा पनि उपलब्ध गराईनेछ । तर होटेलमा आईसियू सेवा भने पाईंदैन ।
    अधिकारले यी जानकारीका सुचनाहरु विभिन्न भाषाहरुमा छापेर अस्पतालको ढोकाहरुमा टाँस्न र प्रवेशद्वारमा बस्ने कर्मचारी र सुरक्षाकर्मीहरुलाई पर्चाहरु बाड्न लगाउन पनि अनुरोध गरेको जनाएको छ । ज्याक्सन हाइट स्थित एल्मष्र्ट हस्पिटलमा भने यस बारे तयारी शुरु गरिएको छ । अधिकारलेथप जानकारीका लागि आगामी साता जानकारी मुलक भिडियो बनाउने तयारी गरेको जनाएको छ ।

  • काेराेना: पोजेटिभ सोचौं, आत्मबल उच्च राखौं

    काेराेना: पोजेटिभ सोचौं, आत्मबल उच्च राखौं

    कल्पना घिमिरे

    छिनछिनमा ‘न्यूजब्रेक एप’ हेर्यो, खुइया श्वास तान्यो । अम्मम ! अमेरिकामा आजमात्रै १ हजार २ सय ३२ ले ज्यान गुमाए ? संक्रमण कहिले रोकिएला ? कोठाभित्रै थुनिएर बढ्दो मृत्युको तथ्याङ्क हेरेरै दिन बितिरहेको छ । कोरोना भाइरस अमेरिका भित्रिएको महिना दिन भन्दा बढी भयो ।

    आज ‘कन्ट्रोल’ होला कि, भोली पो होला कि भनेर छट्पटाउँदा छट्पटाउँदै १० हजार ८ सय ४८ जनाले ज्यान गुमाइसके । यतिबेला ३ लाख ६६ हजार ७ सय ८६ संक्रमितहरु बाँच्ने आशामा मृत्यसंग लडिरहेका छन् । अझ विश्वभरको तथ्याङ्क हेर्दा ७४ हजार ६ सय ६६ ब्यक्तिले कोरोना भाइरसका कारण ज्यान गुमाइसके भने १३ लाख ४६ हजार २ सय ५२ ब्यक्ति संक्रमित भइसकेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) लगायत संस्थाले तयार पारेको पछिल्लो अपडेट हो यो ।

    यतिको मृत्यु, उति संक्रमित भनेर गिन्ती गरिरहन मन थिएन । मृत्युको समाचार सुन्दा र हेर्दाहेर्दै आँखा टट्याइसके । त्यसमाथी वरपरका आफन्त र इष्टमित्र नै बिरामी पर्न थालेको खबरले मन हुँडलिएको छ । कहिलेकाँही यो सबै सपना भैदिनु नि जस्तो लाग्छ । तर, यो सपना होइन । अब यही पीडा र छटपटिको वास्तविकतालाई स्वीकार्दै मनोबल उच्च बनाउनु छ । भोली आँफैलाई कोरोना लागिहाल्यो भने यसरी लड्छु भनेर तयारी गर्नुछ ।

    उपचारपछि स्वास्थ्य अवस्था सामान्य भएर घर फर्केका ब्यक्तिलाई हेरेर उर्जा बटुल्नु छ । उनीहरुको अनुभव सुनेर कसरी सुरक्षित रहने, सावधानी अपनाउने जान्नु छ र उनीहरुको खानपान, जीवनशैलीलाई पच्छ्याउनु छ ।

    न्यूयोर्कमा बस्दै आएका भिडियोग्राफर शम्भु मोक्तान, अर्का ब्यवसायी जीबन बम र स्वास्थ्यकर्मी निमा शेर्पा उपचारपछि घर फर्किसकेका छन् । उच्च आत्मबिश्वासले नै आफु निको भएको उनीहरुको अनुभव छ । राम्रो सोचे र मनोबल उच्च राखे कोरोनालाई परास्त गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उनीहरु नै हुन् । कोभिड–१९ पोजेटिभ देखिएपछि मोक्तान र बम न्यूयोर्कको लङ आइल्याण्डमा रहेको जुइस अस्पताल भर्ना भएका थिए । औषधि नभएका कारण ज्वरोको औषधि र ‘पेनकिलर’ चलाएर अस्पतालले उपचार गरेको थियो ।

    उडसाइडमा बस्दै आएकी निमा शेर्पाको परिवार घरमै आइसोलेसनमा बसेर निको भएको हो । घरका सानातिना काममा आफुलाई ब्यस्त गराएर बिरामीभएजस्तो नगरी, एकछिन् पनि नसुती, झोलिलो खानेकुरा बेस्सरी खाएरै आफुले कोरोनालाई जितेको उनले बताइरहेकी छिन् । तातो पानीले नुहाउने, तातो पानी, झोलिलो खानेकुरा प्रस्तत पिउने, भिटामिन सी भएका खानेकुराको मात्रा बढाउने, सरसफाइमा ध्यान दिने सकारात्मक सोच्ने र आत्मविश्वास बलियो बनाउने हो भने कोरानालाई जित्न सकिने यीनीहरुको अनुभव छ ।

    यी त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु निको भएको खबरले अमेरिकास्थित नेपाली समुदायमा एउटा नयाँ आशा पलाएको छ । अब मृत्युको खबर होइन कोरोना लाग्दैमा मरिदैन भन्ने सन्देश फैलाउनु जरुरी छ । उपचार पछि निको भएर फर्केका ब्यक्तिहरुको अनुभव सुन्नु र सुनाउनु छ । उपचार सकेर घर फर्किएकाको भन्दा मृत्युकै समाचार पस्किन मिडियाहरु हतारिनु हुँदैन । केही मिडियाहरुले कोलोराडोमा उपचार गरिरहेका एक नेपालीको मृत्यु गराए । अर्का न्यूयोर्कमा उपचार गरिरहेका ब्यक्तिको मृत्यु भयो भन्ने खबर सार्वजनिक भयो । अस्पतालले नै सुचना गलत दिएको परिवारले बताउँदै आएको छ । परिवारले पनि यस्तो अवस्थामा आफ्नो मान्छेको मृत्युको खबर सामाजिक सञ्जालमा पोस्टिन हतार गर्नुहुन्थेन ।

    हालसम्म विश्वभर २ लाख ७८ हजार ५ सय ३३ ब्यक्ति निको भएर घर फर्किएका छन् । अमेरिकामा १९ हजार ६ सय ६९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसको एन्टिबडी औषधि पत्ता नलागेको अवस्थामा पनि यति संख्यामा निको हुनुलाई राम्रो मान्नुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाहरु चिकित्सकको सल्लाह मान्दै सावधानी अपनाएरै निको भएका हुन् ।

    कथा न्यूयाेर्ककाे

    अमेरिकाको न्यूयोर्कको क्वीन्सस्थित ज्याक्सन हाइट यतिबेला कोरोना भाइरसको मुख्य केन्द्र बनेको छ । म पनि ज्याक्सन हाइटमै बस्छु । घर भित्रै बसेर आफन्त इष्टमित्र बिरामी परेको खबर सुनिरहेको छु । मैले नजिकबाट चिनेको एकजना व्यक्तिलाई कोभिड–१९ पोजेटिभ देखिएकाले यतिबेला घरैमा आइसोलेनमा बसेका छन् । आज बिहान फोन गर्दा ‘२ दिन गाह्रो भयो अहिले त धेरै अथबा छ’ उनले बलियो आत्मविश्वास बोलेका थिए ‘अब त ठिक भैहाल्छु नि ।’ आफन्त इष्टमित्र बिरामी परेको बेला भेट्न पनि नपाउने कस्तो बिडम्बना । मैले नआत्तिन र केही गाह्रो साह्रो पर्ने बित्तिकै एम्बुलेन्स बोलाएर अस्पताल जान सुझाउँदै फोन राखें । धेरै संक्रमित ब्यक्तिहरु आँफै आइसोलेसनमा बसेर ठिक भइरहेका छन् ।

    क्वीन्समा धेरैजसो नेपालीहरु अपार्टमेन्ट सेयर गरेर बस्छन् । एउटै अपार्टमेन्टमा २/३ परिवार सम्म बस्दै आएका छन् । उनीहरुको सुत्ने कोठा फरक/फरक भएपनि भान्छाकोठा एउटै हुन्छ । यसरी बसेका परिवार झनै बढी जोखिममा छन् । यस्तो अवस्थामा परिवारमा कसैलाई संक्रमण देखिए अन्य सदस्यहरुलाई कसरी सुरक्षित गर्ने ठूलो चुनौती छ । यस्तो अवस्थामा आँफै सचेत हुनु र सावधानी अपनाउनु जरुरी छ । नेपाली समुदायमा सक्रिय सामाजिक अभियन्ताहरुले सिङ्गो नेपाली समुदायलाई सचेत गराउनु जरुरी छ ।

    हाल न्यूयोर्कमा सक्रिय कोरोना बिरुद्ध सचेतना तथा सहयोग समुहले बाहिर जान नसक्ने असक्त बिरामीहरुका लागि र कोभिड–१९ पोजेटिभ देखिएकालाई औषधि र अत्यावश्यक खाद्यान्न बस्तु घरघरमा पुर्याइरहेका छन् । सहयोगी समुहको मुख्य काम जनतालाई पोजेटिभ म्यासेज दिने, आत्मविश्वास दिलाउने, अत्यावश्यक सामाग्री घरघरमा पुर्याउने हो । बिरामीलाई परिवार र आफन्तले नै सहयोग गर्न नसक्ने अवस्थामा यो समुहले सकेको सहयोग गरिरहेको छ ।

    हालसम्म कति नेपालीहरु संक्रमित भए भन्ने यकिन तथ्याङ्क छैन । सहयोग समुहले आफुहरुको सम्पर्कमा आएकाहरुलाई मात्र सहयोग गरिरहेको छ । सम्पर्कमा नआएका कति होलान् ? संक्रमितहरुको तथ्याङ्क संकलन काम गर्ने तयारी भइरहेको छ । एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर सहितको समुहले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की र महाबाणिज्यदूत पुष्पराज भट्टराईसंगको छलफलमा बिपद्को बेला सबै एकजुट भएर नेपाली समुदायलाई सहयोग गर्न सक्रिय रहने जनाएको छ । संक्रमित नेपालीको डाटा संकलन गर्ने, थर्मोमिटर, हेन्ड सेनिटाइजर, माक्स, टाइलनोल(ज्वरोको औषधि) जस्ता आत्यावश्यक सामाग्री जुटाउन न्यूयोर्क बाहिरको नेपाली समुदायलाई अनुरोध गर्ने, क्वारेन्टाइनको ब्यवस्थापनका लागि कानुनी प्रावधान खोज्ने लगायत सहमती भएको छ ।

    त्रसित बातावरणलाई सहज ढंगले बुझ्न र बुझाउनका लागि परामर्शदाताहरु परिचालन गर्ने, नेपाल जान चाहाने बृद्धबृद्धाका लागि नेपाल पठाउन सरकारी तवरबाट पहल कदमी गर्ने, बेरोजगारी सुबिधा दर्ता, कानुनी परामर्श, चिकित्सा सम्बन्धी परामर्श, तथा सरकारी सुविधाका लागि तिब्रताका साथ काम गर्ने निर्णय गरेको छ ।
    परिवारको एक जनामा संक्रमण देखिएमा त्यो ब्यक्तिलाई कहाँ राख्ने ? अस्पतालले घरमै आइसोलेसनमा बस्नु भनेर पठाएका बिरामी कहाँ बस्ने लगायत समस्याको समाधानका लागि समुहले न्यूयोर्क सिटिसंग मिलेर काम गरिरहेको छ । समुदायमा भएका राम्रा कामहरुबारे पनि जनतालाई सुचित गर्नुपर्छ । कसैलाई अफ्ठेरो परेमा सहयोग समुहमा सम्पर्क गर्न भनिएको छ । अमेरिकास्थित नेपाली राजदूतावासले पनि सम्पर्क गर्न भनेको छ । अमेरिकामा लकडाउन गर्ने कानुन नै नभएको भन्दै सरकारले हालसम्म लकडाउन गर्न सकेको छैन । तर, न्यूयोर्कका गर्भनर एन्ड्र्यू क्यूमोले घरैमा बस्न निर्देशन त दिएका छन् तर, सबैले उनको निर्देशन मानेको देखिन्दैन । अझैपनि न्यूयोर्कका मेट्रोहरु खचाखच भएको तस्बीरहरु सार्वजनिक भइरहेका छन् । सुपरमार्केटहरु खुला छन् र मान्छेहरु निर्धक्क किनमेल गरिहेका छन् । यस्तो अवस्थामा सुरक्षित हुन आँफु र परिवार सचेत भएर सावधानी अपनाउनु जरुरी छ । बाहिर निस्कदैं ननिस्कने हो भने संक्रमणको जोखिम कम हुन्छ । सकारात्मक सोच र दृढ आत्मविश्वासका अगाडि कोरोना हार्नेछ ।

  • अब आँफैले आँफैलाई ‘लकडाउन’ गरौं

    अब आँफैले आँफैलाई ‘लकडाउन’ गरौं

    कल्पना घिमिरे
    महिना दिन भयो । दिमाग पुरै कोरोनाले कब्जा गरेको छ । खाना खाँदा, सुत्दा, उठ्दा, साथीभाइसंग फोनमा कुराकानी गर्दा, टीभी हेर्दा जे सुकै गर्दा होस अन्य विषयले मेरो मन मष्तिस्कलाई आकर्षित गर्न सकेन । मोवाइल समात्यो संक्रमित र मृत्यु हुनेको तथ्याङ्क हेर्यो, दिन दुगुना रात चौगुना बढेको बढ्यै छ । छटपटि त्यो भन्दा बढी रफ्तारमा । यो आलेख लेख्दै गर्दासम्म अमेरिकामा ३ हजार ४ सय ८४ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् भने १ लाख ७८ हजार १ सय २७ व्यक्ति संक्रमणका कारण मृत्युसंग लडिरहेका छन् ।
    यतिबेला न्यूयोर्कको ज्याक्सन हाइटस्थित एल्मष्र्ट अस्पताल कोरोनाका बिरामीले भरिएको छ । ज्याक्सन हाइट वरपर बस्ने मैले नजिकबाट चिनेजानेका केही परिवार ज्वरो आएर थलिएका छन् । एक साता अघि ५० वर्षीय अनिल लिम्बुले ज्यान गुमाउनु परेको पीडाले लिम्बुका परिवार मात्र होइन सिङ्गो नेपाली समुदाय शोकमा छ । मृत्युपछि श्रीमतीले मुख सम्म हेर्न नपाएको र दाहसंस्कारमा समेत जान नपाएको पहिलो पटक सुनेँ । श्रीमान बियोगको पीडामा कोठामा छट्पटाइरहेकी श्रीमतीलाई भेटेर कसैलेपनि सहानुभुती दिन सकेन । श्रीमानको अन्त्येष्टिमा उपस्थित हुन नसकेर शब जलाउनका लागि १२ सय डलर तिरेर ग्रिनउड सिमेट्रीलाई जिम्मा लगाउनुुपर्दा ती परिवारका सदस्यको मनमा के गुज्रियो होला । श्रीमानको शबको दाहसंस्कार यतिबेला भयोहोला भन्ने अनुमान गर्दै कोठाभित्र दिन काट्न बाध्य ती परिवारको पीडालाई शब्दले कसरी ब्यक्त गरुँ ।
    बिश्वमा आफुलाई शक्तिशाली राष्ट्रको उपल्लो दर्जामा राख्दै आएको अमेरिकामा यतिसम्म भयावह स्थिति नआउनु पथ्र्यो । गत डिसेम्बर महिनामा चीनमा कोरोना भाइरस फैलिरहेको खबर सुन्दा हाम्रा शर्बशक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्पले सामान्य लिएकै कारण अहिले हामी सबैले यो दुर्गती भोग्नु परिरहेको छ । चीनमा फैलदै गर्दा अमेरिकाले गम्भीर भएर तयारी सुरु गर्नुपथ्र्यो । तयारीका लागि समय पनि प्रसस्त थियो । तर, त्यसो भएन । अमेरिकामा फैलिएको दुई साता सम्म पनि राष्ट्रपति ट्रम्पले पत्याएकै थिएनन् । २/४ दिन भित्रै ठिक भइहाल्छ, अमेरिकालाई छुनै सक्दैन भन्ने अभिव्यक्ति दिँदै जनतामाझ झुटो आश्वासन छरिरहे । बरु, अरुलाई गाली गर्दै समय बिताए, महिना दिन बितिसक्दा पनि राष्ट्रपति ट्रम्पले यसलाई नियन्त्रण गर्नेबारे मिसन भिजन देखाउन सकेनन् ।
    भाइरसको संक्रमण फैलन नदिनका लागि सबैले अमेरिकालाई ‘लकडाउन’ गर्नुपर्छ भन्ने सल्लाह पनि दिएका थिए । तर, अमेरिकामा ‘लकडाउन’ गर्ने कुनै कानुन नभएका कारण ‘लकडाउन’ हुन नसक्ने न्यूयोर्कका गभर्नर एन्ड्रयु क्युमोले बताउँदै आएका छन् ।
    ह्वाइट हाउस कोरोना भाइरस टाक्सफेर्सका चिकित्सक र बिज्ञहरुले स्थिति गम्भीर बन्दै गएको र यो महामारीले अमेरिकामा २ लाख ब्यक्तिको मृत्यु हुन सक्ने अनुमान गरेपछि राष्ट्रपति ट्रम्पले हिजो पत्रकार सम्मेलन गरी अमेरिकामा २ लाख मान्छेको मृत्यु भएर भाइरस नियन्त्रण भएमा हाम्रो सफलता मान्नु पर्छ भन्ने मुख्र्याइ अभिब्यक्ति दिएका थिए । मृत्युलाई नै सामान्य मानिरहेका राष्ट्रपतिले २ लाख सम्मको मृत्यु भएपनि खासै असर नपर्ने आशय ब्यक्त गरिरहँदा हामी सुनिरहन मात्र सक्छौं ।
    सुरुवाती चरणमा महिनादिन सम्म अरुलाई गाली गर्दै भाइरसलाई बेवास्ता गरेको परिणाम हो यो । राष्ट्रपति ट्रम्पको यो हेलचेक्र्याईले अमेरिकामा अझै कतिले ज्यान गुमाउनु पर्ने थाहा छैन ।
    अमेरिकामा करिब ३५ करोड जनसंख्या मध्ये सोमबारसम्म १० लाख ब्यक्तिलाई मात्रै कोभिड–१९ जाँच गरिएको थियो । त्यसमध्ये १ लाख ७८ हजारमा कोभिड–१९ पोजेटिभ देखिएको छ । यो संक्रमणको क्रम बढिरहेको छ । यस्तो अवस्थामा अब अमेरिकी सरकारले केही गर्न नसकेको अवस्थामा तपाई हामीले आँफैले आँफैले लकडाउन गर्नु जरुरी छ । यतिबेला अन्य कुनै रोग लागेर बिरामी परेमा अस्पताल जान सक्ने अवस्था छैन । कोभिड–१९ पोजिटिभ देखिएर पनि स्वास्थ्य अवस्था सामान्य भएमा घरमै बस्नु, श्वास फेर्न गाह्रो भएमा मात्रै अस्पताल आउनु भनेर अस्पतालबाट फर्काइरहेको दयनीय अवस्था हामीले भोगिरहेका छौं । यस्तो अवस्थामा ज्यान जोगाउनु नै महत्वपूर्ण र सही हुन्छ ।
    परिवार, समाज, र अमेरिका मात्र होइन बिश्वनै त्राही त्राही छ । मृत्युदेखि सबैले डराउनै पर्छ । तर, यस्तो अवस्थामा बहादुरी देखाउने जमातको पनि कमी छैन । सरकारले घर भित्रै बस्न निर्देशन गरेपनि खुलेआम मान्छेहरु सडकमा हिडिरहेका छन् ।
    न्यूयोर्कका गभर्नर क्युमोले अप्रिल महिनाको १२ तारिक सम्म घर भित्रै बस्न र सोसियल डिस्टेन्स कायम राख्न निर्देशन दिएका थिए । पछिल्लोे समय अवस्था बिग्रदै गएपछि अप्रिल महिनाभर घर भित्रै बस्न निर्देशन दिएका छन् । घर बाहिर निस्कनेलाई कुनै किसिमको कारवाही नभएका कारण कतिपयले यसलाई हेलचेक्र्याई गरिरहेका छन्, जथाभावी हिडिरहेका छन्, संक्रमण फैलाइरहेका छन् ।
    आफुलाई नपरुञ्जेल सानो लाग्छ । परेपछि यसको कुनै उपचार छैन । तपाई संक्रमित हुनुभयो भने तपाईकै परिवारका सदस्यले समेत तपाईलाई हेरचाह र सहयोग गर्न सक्दैनन् । त्यसैले हेलचेक्र्याइ पटक्कै नगरौं ।
    यतिबेला चर्चित हाँस्य कलाकार मनोज गजुरेलले बारम्बार भन्ने गरेको एउटा भनाइ मानसपटलमा घुमिरहेको छ ‘केही नहुञ्जेलसम्म केही पनि हुँदैन’ । फेरी सम्झन्छु, बिश्व नै ठप्प बनाउन सक्ने कोरोनाको अगाडि यो भनाइको पनि के लाग्ला !
    संसारका सबै भन्दा शक्तिशाली राष्ट्र अमेरिका, चीन, रुस, जापान, इटाली जस्ले विश्व नै ध्वस्त पार्न सक्ने आणविक बम, मिसाइलको आविस्कार गरे तीनीहरु समेत अहिले यो आँखाले देख्न नसक्ने शुक्ष्म जीवाणुदेखि डराइरहेका छन् । यसको औषधि नबनुञ्जेल सम्म तपाई हामीले आफैले सकेको सावधानी अपनाउनु बाहेक अरु उपाय छैन ।
    घर भित्रै बसौं, समय समयमा साबुन पानीले हात धोऔं, घरमा जे उपलब्ध हुन्छ त्यही खाऔं, पुस्तक पढौं, फिल्म हेरौं, सरसफाइका काम गरौं, बालबालिकालाई पढाऔं, बालबालिकालाई घरको काम, खाना पकाउन सिकाऔं, भान्छाको काममा सबैले सहयोग गरौं । आफन्त इष्ट मित्रसंग भेटघाट नगरौं, आफ्नो घरमा पनि कसैलाई आउन नदिऔं, प्रसस्त पानी पिऔं, भिटामिन सी भएको खानेकुरा खाऔं, योग गरौं, एक्सरसाइज गरौं, मनोबल उच्च बनाऔं, घर बाहिर निस्कदै ननिस्कऔं । सरकारले नगरेर के भो त २ साता आँफैले आँफैलाई लकडाउन गरौं । केही नहुञ्जेलसम्म केही पनि हुँदैन ।

  • अस्पतालबाट डिस्चार्ज भए मोक्तान

    अस्पतालबाट डिस्चार्ज भए मोक्तान

    न्युयोर्क /अमेरिका

    कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना भएका भिडियोग्राफर शम्भु मोक्तानको स्वास्थ्यमा सुधार देखिएपछि आईतबार बिहानअस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोनाको संक्रमणको लक्षण देखिएपछि उनी झण्डै एक साता अघि ज्याक्सन हाईटस्थित एल्मर्स्टअस्पताल भर्ना भएका थिए । उपचारपछि आफु कोरोनाभाईरस जोखिम मुक्त भएको उनले बताएका छन् ।

    मोक्तानले शनिवार साँझ फेसबुक स्टाटस लेख्दै आफु जोखिम मुक्त भएको बताएका छन् । उनले आफ्नो स्वास्थ लाभको कामना गर्नेसबैप्रति धन्यवाद दिदैं सबैको माया र सद्भाबले गर्दा नै रोगलाई जित्नसक्ने हिम्मत मिलेको बताएका छन् ।  मोक्तानले पुर्ण रुपमा ठिकभएर आफ्ना अनुभवहरु  शेयर गर्ने जनाएका छन् । यस अघि उनले अस्पतालको शैयाबाट आफु कोरोना संक्रमित भएको खुलासा गर्दैअन्यलाई पनि रोग नलुकाउन र सतर्क रहन अपिल गरेका थिए ।

    मोक्तान न्युयोर्क आसपासमा नेपाली समुदाय बीचमा चर्चित भिडियोग्राफर हुन । उनले ज्याक्सनहाइटमा “मोक्तान डिजिटल” सञ्चालनगर्दै आएका छन् ।

  • कोरोना भाइरसका कारण अमेरिकामा २३७ को मृत्यु, न्यूयोर्कमा मात्रै ४२ को मृत्यु, ८३१० संक्रमित

    कोरोना भाइरसका कारण अमेरिकामा २३७ को मृत्यु, न्यूयोर्कमा मात्रै ४२ को मृत्यु, ८३१० संक्रमित

    कल्पना घिमिरे
    न्युयोर्क/अमेरिका
    यो समाचार तयार पार्दै गर्दा अमेरिकामा कोभिड १९ (कोरोनाभाइरस)बाट १८ हजार ८ सय ३९ संक्रमित भएका छन् । आज मात्रै ४ हजार ४ सय ८८ संक्रमित भएका हुन् । जसमध्ये २ सय ३७ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमण देखिएका १ सय २५ जना उपचार पछि घर फर्किएका छन् । संक्रमित ब्यक्तिमध्ये अत्यन्तै न्युय संख्याको मात्रै उपचार सफल भएको छ । बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ), सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (युएससिडिसी), सिसिडिसी र इसिडिसीमा रेकर्ड भएको तथ्याङ्क अनुसार पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको देखिएको हो ।
    न्यूयोर्क राज्यमा भने ८ हजार ३ सय १० जना संक्रमित भएका छन् भने ४२ जनाको मृत्यू भएको छ । न्यूयोर्कमा आज मात्रै २ हजार ५ सय ९८ संक्रमित भएको तथ्याङ्क छ ।
    दैनिक हजारौं संक्रमितहरुको संख्या बढ्दै गएपछि न्यूयोर्कका गर्भनर एन्ड्रु कुमोले न्यूयोर्कबासीहरुलाई घरमै बस्ने आदेश दिएका छन् । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सत प्रतिसत न्युयोर्कवासीलाई घरमै बस्न आदेश दिएका हुन् ।
    उनले न्यूयोर्कमा कार्यरत सबै कामदारहरुलाई घरमै रहनु पर्छ भन्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने जनाएका छन । कोरोनाभाइरसको संख्या बढेकोले अत्यावश्यक सेवाबाहेक घर बाहिर ननिस्कन उनले आदेश दिएका हुन् ।
    अत्यावश्यक बाहेकका अन्य ब्यापारमा काम गर्ने कामदारलाई घरमै बस्न आदेश दिएका हुन् । आइतबार साँझदेखि यो आदेश कार्यान्वय गरिने पनि जानकारी दिएका छन् । न्यूयोर्कमा सबै ‘पज’ गर्न लागिएको हो । आदेश नमान्नेलाई कडा कानुनी कारवाही गरिने भएको छ ।
    सुपरमार्केट, ग्रोसरी स्टोर, फार्मेसी, हेल्थ केयर, डे केयर सेन्टर, हार्ड वेयर स्टोर, ग्यास स्टेसन, गाडी मर्मत केन्द्र, बैंक, हुलाक, लण्ड्री, पशु अस्पताल, क्लिनिकहरु, कन्भिनेन्स स्टोर, फोहोर संकलन, विग बक्स स्टोर अत्यावश्यकमा पर्दछन् ।

  • एकल महिला समुहले क्वारेन्टाइनका लागि भवन उपलब्ध गराउने

    एकल महिला समुहले क्वारेन्टाइनका लागि भवन उपलब्ध गराउने

    काठमाडौं
    मानव अधिकारको लागि महिला एकल महिला समूहले आवश्यक परेमा सरकारलाई छहारी भवन उपलब्ध गराउने भएको छ ।
    एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापा र अध्यक्ष कुन्दा शर्माले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी क्वारेन्टाइन सेवाका लागि एकल महिला समुहको छहारी भवन उaपलब्ध गराउने जानकारी दिएका हुन् ।
    रक्षामन्त्री पोख्रेल कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पनि हुन् । सिङ्गो मुलुक र सरकार कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको तयारीमा जुटिरहेको बेला सरकारलाई एकल महिला समूहले सहयोग गर्ने प्रस्ताव गरेको हो ।
    एकल महिला समुहकी संस्थापक अध्यक्ष थापाले एकल महिला समुहको निम्ति विभिन्न जिल्लामा बनाइएका १० वटा छहारी भवन सरकारलाई उपलब्ध गराउने जानकारी दिइन् । भवनमा ३ सय ६५ जनालाई राख्न सकिने थापाको भनाइ छ ।
    समूहले सुनसरी, झापा, धनकुटा, संखुवासभा, काठमाडौं, काभ्रे, चितवन, धादिङ, सुर्खेत र कैलाली जिल्लामा रहेको भवनको सम्पूर्ण विवरणसहित सरकारलाई उपलब्ध गराएको छ ।
    एकल महिला समूहले क्वारेन्टाइन सेवाका लागि आवश्यक समय सम्मका लागि प्रयोग गरी सञ्चालन गर्न आग्रह गरेका हो ।
    उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले समूहको यो प्रस्तावको सराहना गर्दै महामारी रोकथामका लागि सबैको सहयोग आवश्यक पर्ने बताए ।
    उपप्रधानमन्त्री पोखरेलले, विश्वव्यापी महामारी बनेको कोभिड–१९ बाट बच्नका लागि सरकाराले तयारी गरिरहेको उल्लेख गर्दै आतंकित नहुन र सरकारमाथि विश्वास गर्न आग्रह गरे ।

  • कोरानाको कारण नेजाको अबिधेशन स्थगित

    कोरानाको कारण नेजाको अबिधेशन स्थगित

    न्यूयोर्क/अमेरिका
    आगामी मे महिनामा न्यूयोर्कमा हुन लागेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौँ अधिवेशन तथा १४ औं बार्षिक साधारण सभा केही समयका लागि स्थगित गरिएको छ ।
    पछिल्लो समय अमेरिकामा फैलिएको कोरोनो भाइरसका कारण दैनिक जनजीबन नै अस्तब्यस्त बन्न थालेपछि यस्तो अवस्थामा अधिवेशन गर्न नसकिने निर्णय गर्दै केही समयलाई स्थगित गरिएको हो ।
    नेजाको सल्लाहकार र कार्यसमिति सहितको आइतबार बसेको कन्फ्रेन्स कल बैठकले कोरोना प्रकोप नियन्त्रणमा नआएसम्म र सरकारले सभा सम्मेलन गर्न स्वीकृति प्रदान नगरेसम्मको लागि स्थागित गरेको हो ।
    बैठकपछि नेजाका महासचिब किरण मरहठ्ठाले प्रेस बिज्ञप्ती जारी गर्दै अमेरिकी सरकारले न्यूयोर्कमा संकटकाल घोषणा गरिसकेको र सभा सम्मेलन नगर्न निर्देशन दिइसकेको अवस्थामा अबिधेशन गर्न नसकिने जनाएका हुन् । यस्तो अवस्थामा अबिधेशन गर्नु उचित हुन्छ कि हुँदैन भन्ने बिषयमा आइतबार बिहान कार्यसमितिका सदस्य र नेजाका सल्लाहकारहरुको आकस्मिक बैठक बसेको थियो ।
    नेजाको अधिबेसन मे महिनाको २ र ३ तारिक न्यूयोर्कमा गर्ने गरि सबै तयारीहरु भइरहेको अवस्थामा यस्तो निर्णय गर्न कार्यसमिति वाध्य भएको हो । कोरोनाको कारण अमेरिकामा सरकारले संकटकाल घोषणा गरि न्युयोर्कको सबै विद्यालय र कलेजहरु समेत रोग नियन्त्रणमा नआउन्जेलसम्मको लागि बन्द गरिसकेको छ । परिस्थिति अनुकुल हुने बित्तिकै बैठक बसी अधिवेशनको मिति तोक्ने निर्णय भएको छ ।
    प्रतिकुल परिस्थितिका कारण अधिबेसन स्थगित गरेपनि नयाँ सदस्यता दर्ता गर्ने म्याद मार्च महिनाको १५ तारिखको राती १२ बजेसम्म मात्रै भएको बिज्ञप्तीमार्फत जानकारी गराएको छ । साधारण सदस्यहरुका लागि सदस्यता नबीकरणको म्याद भने मार्च ३१ तारिखसम्म राखिएको जनाएको छ ।

  • ‘सम्भोग सिरम’ पद्धती लागु गरे कोरोना निको हुन्छ : डा. अर्टुरो

    ‘सम्भोग सिरम’ पद्धती लागु गरे कोरोना निको हुन्छ : डा. अर्टुरो

    न्युयोर्क/अमेरिका
    कोरोना भाईरसको प्रकोपले संसारभर त्रास फैलाईरहँदा अमेरिकाको बाल्टिमोर स्थित जोन हप्किन्स युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले कोरोनाको उपचारमा नयाँ आशा ब्यक्त गरेका छन् । विश्वभर ५ हजार ८ सय ८८ को ज्यान लिइसकेको र ८० हजार मानिस मृत्युसँग पौठाजोरी खेल्न वाध्य पारेको कोरोना संक्रमणको उपचारमा सताप्दी पहिला प्रयोग गरिएको उपचार बिधी अपनाउदा बिरामीलाई बचाउन सकिने बिचार ब्यक्त गरेका छन् । कोरोना संक्रमणको बिरुद्ध कुनै पनि भ्याक्सिन र एन्टि भाइरल औषधी नबनेको अवस्थामा ‘सम्भोग सिरम’ पद्धती लागु गरे रोग निको हुने बताएका छन् ।
    सम्भोग सिरम पद्धती भनेको कोरोना संक्रमणबाट उन्मुक्ती पाएका बिरामीको रगत नयाँ बिरामीको शरीरमा राखेर उपचार गर्दा रोग निको हुने बिचार जोन हप्किन्स युनिभर्सिटीका अनुसन्धानकर्ता चिकित्सक डा अर्टुरो कासाडेभलले बताएका हुन् ।
    डाक्टर अर्टुरोले कोरोना संक्रमणबाट पूर्णरुपमा निको भएका बिरामीको रगतलाई एन्टिबडीको रुपमा प्रयोग गरेर उपचार गर्दा बिरामी निको हुने कुरा बताएका हुन् । संन् १९१८ को स्प्यानिस फ्लुको महामारी होस् वा दादुरा पोलियो जस्ता महामारीको समयमा त्यस्ता प्राण घातक रोगको उपचारको लागि कुनै औषधी थिएन तर त्यही रोग लागेर निको भएका बिरामीको शरीरको रगत झिकेर अरु बिरामीको उपचार गर्दा मृत्युदरमा ५० प्रतिशत कमी आएको इतिहास समेत डा अर्टुरोले कोरोनाको उपचारको बिषयमा भनेका छन् । सन् १९५० पछि यस्ता महामारीहरुको उपचारमा औषधी आए पछि यस्तो उपचार बिधी बन्द गरिएको समेत डा अर्टुरोले बताएका छन् ।
    शुक्रबार प्रकाशित क्लिनिकल जर्नलमा डा अर्टुरोको साथमा डा लिजी एन प्रिरोफ्स्कीले कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड –१९ को उपचारमा अन्य बैकल्पिक औषधी नहुँदा सम्म निको भएका बिरामीको शरीरबाट रगत निकालेर नयाँ बिरामीको उपचार गर्ने प्राचिन बिधी नै सुरु गर्नु पर्ने बताएका छन् ।

  • २१४७औं झिवा ल्होछार मनाइयो

    २१४७औं झिवा ल्होछार मनाइयो

    न्युयोर्क/अमेरिका
    अमेरिकामा बसोबास गरिरहेका तोक्पेगोला (ढोक्प्या) समुदायले न्युयोर्कस्थित क्विन्स प्यालेसमा २१४७ औं झिवा ल्होछार मनाएका छन् ।
    तोक्पेगोला समाज सेवा समिति काठमाडौंको प्रवास शाखा ढोक्प्या किदुक उत्तर अमेरिकाको
    आयोजनामा झिवा ल्होसार मनाइएको हो । ढोक्प्या किदुक उत्तर अमेरिका न्युयोर्कका अध्यक्ष गोवा ढोक्प्याको अध्यक्षतामा गत साता ‘भाषा, धर्म र संस्कृतिको संरक्षण गरौं, आफनो पहिचान कायम राखौ’ भन्ने नारासहित झिवा ल्होछार साँझ मनाइएको थियो ।
    ढोक्प्या समुदायका औतरी लामा लोब्साङ खेटुक र लामा कासाङ छोम्वेले संयुक्त रुपमा वौद्घ धर्म परम्परा अनुसार पुजापाठ गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
    नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष लोक चेम्जोङले नेपालको संघीय प्रणाली पहिचानको आधारमा हुनुपर्ने र नेपालको सामाजिक, भाषिक, संस्कृतिक र समुदायगत विविधता अनुसारको राज्य संरचना, संविधान र ऐन कानुन निर्माण हुनुपर्ने बताए । उनले वर्तमान सरकार आदिवासी जनजातिहरुको आवाज सुन्नै नचाहाने र देशको सुन्दर विविधतालाई तहसनहस पार्न अग्रसर भइरहेको आरोप लगाए । अधिकारका लागि आदिवासी जनजातिहरु एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
    उनले अहिले संयुक्त राज्य अमेरिका राट्रिय जनगनाणाको संघारमा भएको हुँदा सबै नेपालीहरुले राट्रिय जनगनाणामा गम्भीर भएर सहभागिता हुन आह्वान गरेका छन् ।
    किदुकका सल्लाहकार डण्डु ढोक्प्याले नेपालमा आदिवासी जनजातिहरुले पहिचानको मुद्दालाई निरन्तर उठान गरिरहेको, प्रदेशहरुको नामाकरण पहिचानको आधारमा हुनुपर्ने र प्रदेशभित्र अल्पसंख्यक आदिवासी जनजातिहरुको स्वशासन सहितको स्वायत्त क्षेत्रहरु हुनुपर्ने मागलाई निरन्तर उठान गरिरहेको बताए ।
    प्रवासमा रहेका आदिवासी जनजाति लगायत आम नेपाली समुदायले पुस्तौ पुस्तासम्म आफ्नो पहिचान कायम राख्न आफ्नो भाषा, धर्म, संस्कृति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।
    अध्यक्ष ढोक्प्याले अमेरिकामा ढोक्प्या समुदाय थोरै संख्यामा भए पनि संस्था गठन गर्न सफल भएको र संस्था गठन भएदेखि नै ल्होछार लोसार साँझ कार्यक्रम आयोजना गर्दै आएको बताए । उनले लोसार साँझ कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैप्रति धन्यबाद ब्यक्त गरे । कार्यक्रममा नेपाली कलाकार संघ अमेरिकाका अध्यक्ष सुमन बुढा मगरसहितको टोलीले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु दिएर सहभागीलाई मनोरञ्जन गराएको थियो । कार्यक्रममा ढोक्प्या समुदायको परम्परागत स्याब्रु नाच प्रस्तुत गरिएको थियो ।

  • न्यूयोर्कमा वालुङ समुदायको लोसार

    न्यूयोर्कमा वालुङ समुदायको लोसार

    न्यूयोर्क/अमेरिका
    वालुङ समुदाय युएसएले न्यूयोर्कमा ल्होसार मनाएको छ । गत साता आयोजना गरेको कार्यक्रममा बिभिन्न समुदायका ब्यक्तिहरुको उपस्थिति थियो ।
    टिबेट र नेपालको सिमानामा बसोबास गर्नेहरु नै वालुङ समुदाय हो । नेपालको ताप्लेजुङको वालुङ गाउँपालिकामा वालुङ समुदायका मानिसका बसोबास गर्ने गर्छन् । वालुङमा नेपालकै दोश्रो ठूलो गुम्बाको रुपमा रहेको ऐतिहासिक गुम्बा डिकी छ्योलिङ गुम्बा छ ।
    त्यस गुम्बामा वर्षमा ४ पटक विभिन्न साँस्कृतिक झल्काउने कार्यक्रमहरु गरिदै आएको छ । जसमा पुजापाठ गर्दा फुटुक चाहि विशेष रुपमा मनाईने चलन छ । स्थानीय गाउँले र देश बिदेशबाट आएका बौद्धधर्मावलम्बीहरुको ठूलो उपस्थिति हुने गर्छ ।
    वालुङ समुदायका अध्यक्ष छिरीङ तोपग्याले वालुङ समुदाय युएसएले अमेरिकामा पनि गुम्बा स्थापना गर्नको लागि ट्रष्टी बोर्ड तयार भएको र त्यसका लागि आर्थिक संकलन गर्न तिब्र गतिमा लागिपरेको बताएका थिए ।
    ‘अब चाँडै ट्रष्टी बोर्डको साथमा वर्तमान कार्यसमिति मार्फत घरदैलो कार्यक्रम गरेर धेरै भन्दा धेरै आर्थिक सहयोग संकलन गर्नेछौ’ अध्यक्ष तोपग्यालले बताए ।
    भावी पुस्ताका लागि आफ्नो भाषा, धर्म र संस्कृति सिकाउनका लागि चाँडै नै भाषा कक्षा सञ्चालन गर्ने बताए । नेपालमा वालुङ समुदायले ग्याल्बो लोसार र सोनाम लोसार संयुक्त रुपमा मनाउँदै आएका छन् ।
    कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्कस्थित नेपाली महाबाणिज्यदूतावासका महाबाणिज्यदूत पुष्पराज भट्टराईले विदेशमा भए पनि आफ्नो देशको संस्कार र संस्कृति संरक्षण गर्न नेपाली समुदाय सबै क्षेत्रबाट लागि परेकोमा खुशी व्यक्त गरे । उनले कोरोना भाईरस कारण समस्या बढ्दै गएकोले सबैलाई सचेत हुन पनि आग्रह गरेका छन् । नेपाल भ्रमण बर्ष २०२० का बारेमा नेपाल महोत्सव गर्ने योजना यथावत रहेको र परिस्थिति बस थोरै समय पछि पर्न गएकोले सबैले सकेको सहयोग गर्न पनि अपिल गरेका छन् ।
    कार्यक्रमका नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष लोक चेम्जोङले लोसार नयाँ वर्षको आगमनमा ल्होसार कार्यक्रम गरिने भएको र यस कार्यक्रममा सबैको भाईचारा, एक आपसको भेटघाट सहकार्य सम्बन्ध राम्रो बनाउँदै सबै समुदायलाई एकजुट हुन आग्रह गरे ।
    विदेशमा भए पनि हाम्रो पहिचान र विविधतामा एकताको सन्देश जाने अवसर मिलेको उनले बताए ।

  • प्रवासी नेपाली एकता मञ्चको सदस्यता सबै नेपालीले लिन पाउने

    प्रवासी नेपाली एकता मञ्चको सदस्यता सबै नेपालीले लिन पाउने

    कल्पना घिमिरे
    न्यूयोर्क/अमेरिका
    प्रवासी नेपाली एकता मञ्चले अमेरिकामा बसोबास गरिरहेका सबै नेपालीले आफ्नो संस्थाको सदस्यता लिन पाउने जनाएको छ । यो संस्था कुनै पनि पार्टीको भातृ संगठन नभएकाले अमेरिकी नेपाली समाजका सबैले यसमा सहभागी हुन पाउने बताइएको हो । ११ महिना अघि अमेरिकी कानुन अनुसार दर्ता गरिएको सामाजिक संस्था भएकाले बिना कुनै पुर्वाग्रह संस्थाको सदस्यता लिन पनि सबैमा आह्वान गरिएको छ । मञ्चका संयोजक टेक गुरुङले अमेरिकी कानुन अनुसार दर्ता भएको बिशुद्ध सामाजिक संस्था नेपालको कुनै पनि पार्टी अन्तरगत नचल्ने बताए । ‘यो स्वतन्त्र संस्थामा कुनै पनि राजनीतिक पार्टीको दब्दबा रहदैन । सबै अमेरिकी नेपालीको हक हितका लागि गठित यो संस्थाको छुट्टै बिधान ड्राफ्ट भइरहेको छ’ उनले भने, ‘हामीले पूर्व प्रवासी नेपाली मञ्चका साथीहरुसंग पटक÷पटक छलफल गरेपछि नै छुट्टै संस्था दर्ता गर्ने निष्कर्षमा पुगेका थियौं ।’
    उनका अनुसार अमेरिकी कानुन अनुसार स्थापित संस्थालाई नेपालको कुनै पनि राजनीतिक दलले निर्देशन दिन मिल्दैन । संस्थाको साधारण सभा र अधिवेशन आगामी अगस्ट/सेम्पेम्बर सम्ममा गरी समितिलाई पूर्णता दिने पनि उनले जानकारी दिए । हाल संस्थामा गुरुङको संयोजकत्वमा ४ पदाधिकारीसहित ४३ सदस्यीय समिति गठन गरिएको छ । गत साता न्यूयोर्क र टेक्सासमा एकै समय छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै संस्थाको काम कतब्र्य र उदेश्यबारे जानकारी दिइएको हो ।

    मञ्चका महासचिब शंकर पन्तले एक बिज्ञप्ती जारी गर्दै ४ सदस्यीय पदाधिकारी सहित ४३ सदस्यीय समितिको रुपमा बिस्तार गरिएको जनाएका हुन् । ‘हाम्रो यो स्वतन्त्र संस्थाको आगामी बैठकबाट हाल कमिटी भन्दा बाहिर रहेका पूर्व प्रवासी नेपाली मञ्च तथा पूर्व जनप्रगतीशिल मञ्चका सम्पूर्ण इच्छुक साथीहरुलाई बिना कुनै पुर्वाग्रह सम्मानपूर्वक समाबेश गरी प्रवासी नेपाली एकता मञ्चको आयोजक कमिटिको रुपमा पूर्णता दिइने कुराको समेत अवगत गराउन चाहान्छौं’ महासचिब पन्तले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ, ‘साथै निकट भबिश्यमा हुन गइरहेको साधारण सभा(अधिवेशन) को तिथी मिति सहित सम्पूर्ण कार्य योजना तथा जिम्मेवारी बाँडफाँड उक्त बैठकबाटै गरिने समेत जानकारी गराउँदछौ ।’
    संस्थाको प्रवक्तामा टेक्सासका कमल ओझा, कोषाध्यक्षमा टेक्सासकै युवराज खनाल रहेका छन् । त्यसै गरी सदस्यहरुमा टेक्सासका भीम कार्की, जर्जियाका सिएन घिमिरे, मेरील्याण्डका गणेश कुँवर, इलिनोइका बाला घिमिरे, न्यूयोर्ककी सीता खरेल, न्यूयोर्कका राधाकृष्ण देउजा, डिसीका डी.बी. सागर, न्यूयोर्कका सोमेन्द्र रन्जित, टेक्सासका प्रदिप तिमल्सीना, सरीता चौलागाई, न्यूयोर्कका लक्यान लामा, कृष्ण आचार्य, बनिता कतिला, केन्सासका सुरेन्द्र पोख्रेल, मेरील्याण्डका टंक कुँवर, कमला भुषाल, शेषकान्त खनाल, टेक्सासका दिपक पाण्डे, चेतनाथ भट्टराई, शुशिल क्षेत्री, केन्टकीका भरत उप्रेती, आयोवाका दिपेश गौतम, इलिनोइका सुन्दर घिमिरे, म्यासाचुसेटका बुद्ध लामा, क्यालिफोर्नियाकी दिलमाया बिक, न्यूयोर्कका शेषराज खतिवडा, नर्थक्यारोलिनाकी शान्तीदेबी राई, नेबादाका जुनु घले, मिनिसोटा निरप्रसाद गुरुङ, न्युयोर्ककी फुरी शेर्पा, पेम्बा शेर्पा, टेक्सासका उद्धब खनाल, चन्द्रमणी पाण्डे, भुवन अधिकारी, इलिनोइकी सरस्वती मुखिया, फ्लोरिडाकी मिना खतिवडा, मिनिसोटा डम्बर गुरुङ, न्यूह्यामसायरका रोशन गुरुङ, न्यूयोर्कका डा.प्रकाश श्रेष्ठ छन् ।
    संस्था दर्ता गर्नुअघि पूर्व प्रवासी नेपाली मञ्चका साथीहरुसंग ब्यापक छलफल गर्दा समेत बिचार बाझिएकाले स्वतन्त्र संस्थाको स्थापना गर्न आवश्यक देखिएको संयोजक गुरुङले बताए । ‘पार्टीको लेटरप्याडमै प्रवासी नेपाली मञ्च नेकपाको भातृ संगठन हो भनेर लेखाएर ल्याइसकेपछि हामीले त्यसको बिरोध गरेका हौं’ उनले भने, ‘हामी नेपालबाट आएका सबै सामाजिक ब्यक्तित्व, सबै पार्टीका नेताहरुलाई सहयोग गर्नेछौ । भष्ट्रचार र अपराधिक क्रियाकपालमा नाम जोडिएका कसैलाई पनि सहयोग गर्दैनौ । जुनसुकै पाटीको सरकार भए पनि सरकारका राम्रा कामको प्रंससा र गलत कामको खुलेर बिरोध गर्नेछौ ।’

  • सेन्ससमा सबैलाई सहभागी हुन अधिकारको आग्रह

    सेन्ससमा सबैलाई सहभागी हुन अधिकारको आग्रह

    कल्पना घिमिरे
    न्यूयोर्क/अमेरिका
    नेपाली समुदायको हकहितमा कार्यरत सामाजिक संस्था अधिकारले ११० औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । अधिकारले आफ्नो १५ औं बार्षिकोत्सबका अवसरमा शनिबार ज्याक्सन हाइटस्थित पी एस ६९ स्कुलमा नेपाली समुदायको बाक्लो उपस्थितिका बिच नारी दिवस मनाएको हो । ‘सबैको सरोकार, सबै समान’ भन्ने नाराका साथ मनाइएको दिवसमा यसपाली अमेरिकी जनगणना(सेन्सस २०२०)मा सबैलाई सहभागी हुन बिषेश आग्रह गरिएको छ ।
    बौद्धधर्मावलम्बीहरुको महान चाड ल्होछार मनाइरहेको अवसरमा अधिकारले सम्पूर्ण नेपाली समुदायप्रति ल्होछारको शुभकामना ब्यक्त गरेको थियो । अधिकारकी कार्यकारी निर्देशक पबित्रा बेन्जामिनले यसपालीको जनगणनामा सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन कोही पनि नछुट्न आग्रह गरेकी छिन् ।

    अधिकारकी कार्यक्रम निर्देशक नर्बदा क्षेत्रीले अधिकारले अमेरिकामा बसोवास गरिरहेका हजार भन्दा बढि आप्रवासी कामदारलाई विभिन्न तालिम उपलब्ध गराएको जानकारी गराएकी थिइन् । कर्नेल युनिभर्सिटीसंग सहकार्य गर्दै न्यानी तालिम, सीपीआर तालिम, हेल्थ केयर, हेल्थ ईन्सुरेन्स सेवा उपलब्ध गराउँदै आप्रवासीहरुलाई आफ्नो हकहितबारे जानकारी दिने बिभिन्न तालिमहरु संचालन गर्दै आएको बताइन् ।
    कार्यक्रममा अमेरिकामा रहेको नेपालीभाषी समुदायलाई निःशुल्क कानूनी सेवा उपलब्ध गराउँदै आएको, अंग्रेजी भाषा कक्षाहरु संचालन गरिरहेको, कामदारलाई संचालकले ज्याला नदिएको अवस्थामा कानूनी लडाई लडेर २३ कामदारलाई २,८५,००० अमेरिकी डलर ज्याला उपलब्ध गराइदिएको लगायत अधिकारले कार्यसम्पादन गरिरहेको जानकारी गराइएको थियो ।
    अमेरिकामा नेपाली समुदायको पहिचान, अस्तित्व र सेवा सुबिधाका लागि जनगणनामा आफ्नो समुदायको संख्या र शक्ति देखाउन सके राज्यबाट पाउने सेवा सुबिधा सजिलै उपलब्ध गराउन सकिने भएकाले अमेरिकी जनगणनामा भाग लिनु आवश्यक छ । अधिकारले यसपालीको जनगणनाका लागि सक्रिय भएर काम गर्दै आएको छ ।
    न्यूयोर्क सिटी अन्तरगत क्विन्स बोरोका कार्यवाहक प्रेसिडेन्ट स्यारोन लीले कार्यक्रमको उद्घाटन गर्दै नेपाली समुदायको हकहितका निम्ति छोटो समयमा नै केही गरेर देखाउने प्रतिवद्धता ब्यक्त गरे । कागजपत्र नभएकाहरु अझैपनि बोल्न, अधिकारका लागि लड्न डराउँने बताउँदै अझै पनि बिभिन्न जातजाती धर्म बिच विभेदकारी राजनैतिक वातावरण विधमान रहेकोले यसलाई परिवर्तन गर्नका लागि आफ्नो कुरा खुलेर राख्न र हकहितको निम्ति लड्न प्रोत्साह गरे । ‘हामीले हाम्रो महत्व दर्शाउन, हाम्रो संख्या र सक्रियता देखाउन जनगणनामा आफ्नो नाम बिबरण दर्ता गर्न जरुरी छ’ उनले भने ।


    न्यूयोर्क स्टेट ३९ डिस्ट्रिक्टकी एसेम्बली मेम्बर क्याटलिना क्रुजले नेल सलुनमा काम गर्ने कामदारका लागि न्यूयोर्क स्टेटले ‘नेल सलुन एकाउन्टीबिलिटी एक्ट’ ल्याउन लागेको अवस्थामा नेपाली समुदायले आफ्नो शक्ति र संख्या देखाउँदै दबाब सिर्जना गर्नका लागि न्यूयोर्कको राजधानी अल्बानी जानु पर्ने बताइन् । अधिकारले नेल सलुन कामदारको हकहित र राम्रो पारिश्रमिकको लागि लड्दै आएको छ । न्यूयोर्कमा नेल सलुन कामदारको न्यूनतम ज्यालादर प्रति घण्टा १५ डलर बनाउन सफल भएको छ ।
    कार्यक्रममा न्यूयोर्क सिटी २५ डिस्ट्रिक्ट काउन्सिलम्यान डानियल ड्रोम, न्यूयोर्कबाट कांग्रेसवुमन अलेक्सान्द्रीया ओकासियो कोर्टेज, कांग्रेसवुमन ग्रेस मेङ, सेन्ससका डेपुटी डाइरेक्टर अमित भागा, डिपाटमेन्ट अफ कन्जुमर अफेयर्सका कमिस्र्नर लोरेलइ सलास सहभागी भएका थिए ।
    कार्यक्रममा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका वाणिज्यदूत गणेशप्रसाद अधिकारीले अमेरिकी जनगणनामा आफ्नो नाम विवरण दर्ता गर्न सबैलाई आग्रह गरेका थिए ।

  • पत्रकारहरुलाई सदस्यता नबीकरण गर्न नेजाको आह्वान

    पत्रकारहरुलाई सदस्यता नबीकरण गर्न नेजाको आह्वान

    न्यूयोर्क/अमेरिका
    उत्तर अमेरिकामा बसोबास गरिरहेका सम्पूर्ण पत्रकारहरुलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ । अधिवेशनमा सक्रिय र अर्थपूर्ण सहभागीता बढाउनका लागि सदस्यता दर्ता र नबीकरणको कामलाई तिब्र पारिएको नेजाले जनाएको छ । नेजाले गत फेब्रुअरी २० मा आफ्नो वेवसाइट मार्फत सुजना सार्बजनिक गर्दै सदस्यता दर्ता र नबीकरण गरिदिनुहुन अनुरोध गरेको हो ।
    नेजाको सातौं अधिवेशन तथा १४ औं बार्षिक साधारण सभा आगामी मे महिनाको २ र ३ गते न्यूयोर्क शहरमा हुँदैछ । ‘त्यस साधारण सभा तथा अधिवेशनमा सहभागि हुन सबैंमा नेजा कार्यसमिति हार्दिक आग्रह गर्दछ’ वेवसाइट मार्फत जारी गरिएको सुचनामा उल्लेख छ । । नेजाको विधानले साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिको रुपमा भाग लिनका लागि साधारणसभा हुनुभन्दा १ महिना अघि नैं सदस्य भैसक्नुपर्ने व्यवस्था गरेको छ । त्यस अनुसार सन् २०२० को अप्रिल १, गते सम्म नबआगन्तुक पत्रकारहरुले नयाँ सदस्यता दर्ता र नबीकरण गरिसक्नुपर्नेछ । सदस्यता नबीकरण गर्ने समय अब १५ दिन मात्रै रहेकाले समयसिमा भित्रै सदस्यता नबीकरण गरिदिनु हुन पनि सम्पूर्ण पत्रकारहरुमा नेजाले बिशेष अनुरोध गरेको छ ।

    नयाँ सदस्यताका लागि नेजाको विधानले तोकेको आवश्यक प्रक्रिया पुर्याइ सदस्यता आवेदन फाराम भर्न अनुरोध गरिएको छ । नेजाको नयाँ सदस्यता आवेदन तथा नविकरणको आबेदन भर्नका लागि संस्थाको वेवसाइट डब्लुडब्लुडब्लु डट नेजायुएसए डट ओआरजी (http.www.neajausa.org ) क्लिक गरेर बिकम अ मेम्बर become-member मा क्लिक गर्ने र नयाँ सदस्यता लिनेहरुले न्यू मेम्बर र नबीकरण गर्नेहरुले रिन्यू लिङ्कमा क्लिक गरेर आवेदन फारम भर्न सक्नुहुनेछ । यससम्बन्धी थप जिज्ञासा भए संस्थाको इमेल  [email protected] मा सम्पर्क गर्न सक्नु हुनेछ । नयाँ सदस्यता लागि ७५ अमेरिकी डलर लाग्नेछ भने नबीकरणका लागि ५० अमेरिकी डलर लाग्नेछ । नेजामा आवद्ध साधारण सदस्यहरुले प्रत्येक २/२ वर्षमा नबीकरण गर्नुपर्ने ब्यवस्था छ । साधारण सदस्यले आजीबन सदस्य बन्न चाहेमा आजीबन सदस्य प्राप्त गर्नेछ । आजीबन सदस्यता लिनका लागि नेपालमा या अमेरिकामा कम्तीमा १५ वर्ष पत्रकारिता गरेको प्रमाण पेश गर्नुपर्नेछ । १५ वर्ष पत्रकारिता गरेको प्रमाण पेश गर्न नसकेमा आजीबन सदस्य स्वीकार गरिने छैन । आजीबन सदस्यता लागि ३०० अमेरिकी डलर शुल्क लाग्नेछ ।

  • नेजाको अधिवेशनबारे न्यूयोर्कमा समुदायसंग छलफल

    नेजाको अधिवेशनबारे न्यूयोर्कमा समुदायसंग छलफल

    कल्पना घिमिरे
    न्यूयोर्क/अमेरिका
    नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आगामी मे महिनामा हुने सातौं अधिवेशनका सन्दर्भमा न्यूयोर्कस्थित नेपाली समुदायसंग छलफल गरेको छ । ज्याक्सन हाइटमा आइतबार आयोजना गरिएको समुदायसंगको अन्तरक्रियामा आगामी अधिबेशनलाई सफल रुपमा सम्पन्न गर्नका लागि समुदायको के कस्तो सहयोग हुनेछ ? भन्ने विषयमा बिस्तृत छलफल गरिएको थियो । हरेक २/२ वर्षमा हुने नेजाको अधिवेशन यसपाली न्यूयोर्क शहरमा हुँदैछ भन्नेबारे पनि समुदायलाई जानकारी गराइएको थियो । अधिवेशन मे महिनाको २ र ३ गते हुनेछ ।
    अमेरिका र क्यानडालाई कर्म क्षेत्र बनाएका पत्रकारहरुको भेलामा झण्डै १ सय ५० पत्रकारको सहभागीता हुनेछ । अधिबेशनका लागि नेपालबाट नेपाल पत्रकार महासंघका अध्यक्षको समेत सहभागीता रहनेछ ।
    नेजाले अमेरिकाका विभिन्न राज्यमा बसोबास गरिरहेको नेपाली समुदायसँग सुमधुर सम्बन्ध स्थापित गराउने उदेश्यले प्रत्येक वर्षको साधारण सभा तथा अधिवेशन फरक/फरक राज्य र शहरमा गर्दै आएको छ । त्यसै अनुरुप यसपाली न्यूयोर्कमा गर्ने तय गरिएको हो ।


    न्यूयोर्कमा कार्यक्रम गर्दै गर्दा बिभिन्न राज्यबाट आउने पत्रकारहरुलाई खान/बस्न लगायत २ दिनको सम्पूर्ण ब्यवस्थापन गर्नुपर्ने भएकाले कार्यक्रम सम्पन्न गर्न समुदायको आर्थिक सहयोग आवश्यक पर्ने जानकारी गराउँदै संस्थाका कार्यबाहक अध्यक्ष बिकासराज न्यौपानेले समुदायलाई सकेको सहयोग गरिदिन आग्रह गरेका छन् ।
    यस अघि कोलोराडो, वासिङगटन, क्यालिफोर्निया, भर्जिनिया, टेक्सस लगायतका राज्यमा नेजाका विगतका साधारण सभा तथा अधिवेशन गर्दा समेत समुदायले ठूलो सहयोग गरेको उनले जानकारी गराए । साथै आगामी कार्यक्रमलाई सफल बनाउन न्यूयोर्कबासी नेपाली समुदायको ठूलो हात रहने उल्लेख गर्दै समुदायप्रति ठूलो अपेक्षा रहेको पनि बताए । समुदायसंग छलफल गर्नका लागि कार्यबाहक अध्यक्ष न्यौपाने र संस्थाका सचिब शुरज भण्डारी टेक्ससदेखि आएका थिए ।
    नेजाका पूर्व अध्यक्ष तथा हाल सल्लाहकार आङछिरिङ शेर्पाले लामो समयपछि न्यूयोर्कमा हुन लागेको पत्रकारको भेलामा सहयोग गर्न पाउनु सुमदायका लागि पनि एउटा अवसर भएको बताए ।

    अधिवेशनको तयारीका लागि न्यूयोर्क र आसपासका पत्रकारहरुको सहभागीतामा बिभिन्न उपसमिति बनाइएको छ । उपसमिति मार्फत तयारीको काम तिब्र पारिएको मुल आयोजक समितिले जनाएको छ ।
    कार्यक्रममा उपस्थित समुदायका अगुवाहरुले पत्रकारको संस्थालाई अधिवेसन सम्पन्न गर्नका लागि आफुहरुले सक्ने सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । आर्थिक सहयोग, भौतिक सहयोग, समुदायको उपस्थिति, अधिबेशनका लागि शुभकामना, बिज्ञापन प्रकाशन लगायत के कसरी सहयोग गर्न सकिन्छ त्यसरी नै सहयोग गर्न पनि समुदायलाई अनुरोध गरिएको छ ।
    कार्यक्रममा समुदायको तर्फबाट बी आर लामा, आनन्द बिष्ट, सञ्जय थापा, बिश्व शाह, लोक चेम्जोङ, लुइसाङ वाइबा, रामहरी अधिकारी, रोशन ढुगाना, मिङमा शेर्पा, नर्वदा क्षेत्री, शमीर महर्जन, अन्जन श्रेष्ठ, टेक गुरुङ, उपेन भट्ट, बिष्णु सुबेदी, प्रमोद सिटौला, अनन्त सुबेदी, राजन कर्माचार्य, नबीन शेरचन, अमित शाह, अभय ढुंगेल, आङनिमा गेल्जेन शेर्पा, बिकी पुलामी, प्रभात सापकोटा, हरीस चन्द्र हमाल, बिनोद चापागाई, कृष्ण आचार्या, सूर्य लम्साल लगायत सहभागिता थियो । अमेरिकामै रहेर बिभिन्न माध्यमले पत्रकारितामा आवद्ध रहेका न्यूयोर्क, न्यूजर्सी, पेन्सिलभेनिया, न्युह्यामसायर,  टेक्सस लगायतका पत्रकारको उलेख्य सहभागिता थियो ।

  • आइतबार न्यूयोर्कमा नेजाको सामुदायिक भेला

    आइतबार न्यूयोर्कमा नेजाको सामुदायिक भेला

    न्यूयोर्क/अमेरिका
    नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आउँदो आइतवार फेबु्रअरी २३ गतेका दिन न्यूयोर्कमा सामुदायिक भेला गर्ने भएको छ । न्यूयोर्कमा आउँदो मे २ र ३ मा हुने नेजाको सातौं अधिवेशनलाई केन्द्रीत गरी सामुदायिक भेला गर्न लागिएको हो ।
    पत्रकार र नेपाली समुदायका क्रियाशिल संघ संगठनका प्रतिनिधिहरुका बीचमा गरिने अन्तरक्रियामा न्यूयोर्क र आसपासमा रहेको नेपाली समुदायलाई कार्यक्रममा उपस्थित हुन नेजाले आग्रह गरेको छ ।

    नेजाका सचिब सुरज भण्डारीले एक प्रेस बिज्ञप्ती जारी गर्दै सातौं अधिवेशन तथा १४ औं वार्षिक साधारण सभालाई मध्यनजर गरी नेजाले विभिन्न कार्यक्रम संचालन गरिरहेको जानकारी गराएका छन् । अधिवेशनको तयारी भइरहेको र सदस्यता वितरण तथा नविकरणको कामलाई तिव्रता दिइएको पनि बिज्ञप्ती मार्फत जनाकारी गराइएको छ । कार्यक्रम आइतबार साँझ ४ बजेदेखि क्विन्सको ज्याक्सन हाइटस्थित रुजभेल्ट एभिन्यूमा रहेको भान्छा घर–२ मा हुनेछ ।

  • प्रथम शहीद लखन थापाको सम्झना

    प्रथम शहीद लखन थापाको सम्झना

    न्यूयोर्क/अमेरिका
    अमेरिकाको न्यूयोर्कमा नेपालको पहिलो शहीद ‘लखन थापामगर’ को १४३ औं स्मृती दिवस मनाइएको छ । नेपाल आदिवासी जनाजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा आइतबार प्रजातन्त्रका सेनानी लखन थापाको योगदान र त्यागलाई सम्झँदै उनको तस्बीरमा पुष्प गुच्छा अर्पण गरिएको थियो ।
    कार्यक्रममा नेपाली महाबाणिज्य दूतावासका बाणिज्यदूत गणेश अधिकारीले राष्ट्रका बिभुतिलाई सम्झदा बिदेशमा भएका नेपालीले एकजुट भएर कार्यक्रम गर्नुपर्ने बताए ।


    बिदेशमा बस्ने नेपालीले राष्ट्रनिर्माणमा योगदान गरेका, त्याग गरेका ब्यक्तिहरुलाई सम्झँदा नेपालीको छोरो भनेर नै सम्झनु पर्छ । ‘कुनै जातजाती, वर्ग, क्षेत्र भन्दा पनि माथी उठेर नेपालीको छोरो भन्दा गर्व महसुस गर्नुपर्छ जस्तो मलाई लाग्छ’ बाणिज्यदूत अधिकारीले भने, ‘यस्ता बिभिन्न दिवसहरु मनाउँदा कन्सुलेटमा छलफल गरौं र कार्यक्रमलाई एकजुट भएर मनाउँ भन्न चाहान्छु ।’
    नेपाल लगायत बिश्वभर छरिएर रहेका नेपालीले हरेक वर्ष फागुन २ गते लगन थापा स्मृति दिवस मनाउँदै आएका छन् । प्रथम शहीद थापाको जन्म सन् १८३५ मा नेपालको गोर्खा जिल्लाको बुङ्कोटमा भएको थियो । प्रथम शहीद थापालाई जहाँनिया राणा शासनको बिरोध गर्दा श्री ३ जंगबहादुर राणाको ठाडो आदेशमा १४४ बर्ष अघि बि सं १९३३ (सन् १८७६) फागुनको पहिलो हप्ता उनकै गाउँ गोर्खा जिल्लाको बुङ्कोटमा झुन्ड्याई मारिएको थियो ।
    नेपाल सरकारले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा बि.सं २०७२ असोज ३ गते बसेको मन्त्रिपरिषदको बैठकले लखन थापा मगरलाई नेपालको प्रथम शहीदको मान्यता प्रदान गरेको थियो ।


    उनले सहादत प्राप्त गरेको १२५ वर्ष पछि मात्रै बि.सं २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा शहीद घोषणा गरिएको थियो । त्यतिबेला पहिलो शहीद भनेर घोषणा गरिएन । त्यसपछि मगर संघ, आदिवासी जनजातीहरुले आन्दोलन गरेर दबाब सिर्जना गरेर गणतन्त्र आएपछि मात्रै उनलाई प्रथम शहीद घोषणा गरिएको थियो ।

     

  • नेम्बाङको स्मृतिमा श्रष्टालाई सम्मान

    नेम्बाङको स्मृतिमा श्रष्टालाई सम्मान

    न्यूर्योक/अमेरिका –
    अमर नेम्बाङ लिम्बू स्मृति ट्रष्टद्वारा दुई श्रष्टालाई साहित्य पुरस्कारबाट आइतबार सम्मान गरिएको छ । पाँचथरको फागुनन्द गाउँपालिकाका पूर्व अध्यक्ष नेम्वाङको वार्षिक स्मृतिका अवसरमा पाँचथरका साहित्यकार डा.देवी क्षेत्री दुलाल र झापाका कवि तथा समालोचक मुनाराज शर्मालाई नगद एक लाख राशि सहित सम्मान पत्रले सम्मान गरिएको हो । सोही अवसरमा ‘अमर नेम्बाङ लिम्बु ट्रष्ट’ द्वारा मेन्छ्यायेम एफएम १०३.४ मेघाहर्ज तेह्रथुमलाई पाँच हजार रुपैंयाँ, स्थानीय फाल्गुनन्द–३, पौवासारतापका विद्यालयको शैक्षिक उन्नति सहयोग र छात्रवृत्तिका लागि दुई विद्यालयलाई सहयोग गरिएको छ । फक्ताङलुङ वाल बिकास आधारभूत विद्यालयललाई ५० हजार रुपैंयाँ र स्थानीय पद्मकन्या आधारभूत विद्यालयमा अध्यनरत बिध्यार्थीको छात्रवृतिको निमित्त १२ हजार रूपैंया सहयोग प्रदान गरिएको छ ।
    साथै केही समय अघि आगलागीबाट घर जलेका फाल्गुनन्द–३, गुम्बाडाँडाका धनकुमार तामाङलाई हाल अमेरिकामा बसोबास गर्दै आएका ट्रष्टका अध्यक्ष मुनिन्द्र नेम्बाङको पहलमा संकलन गरिएको ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।


    नेम्वाङको जन्म स्थान फाल्गुनन्द–३, पौवासारतापको शिलौटीफेदीमा रहेको अमर नेम्वाङ स्मृति रंगशालामा एक कार्यक्रम आयोजना गरी श्रष्टाहरुलाई सम्मान गरिएको हो ।
    कार्यक्रममा रङ्गवादी कवि धर्मेन्द्र नेम्वाङ, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव डा.तुलसीप्रसाद भट्टराई, आख्यानकार कृष्ण बराल, कवि प्रेम ओझा, सन्देश सुब्बा, प्रकाश थाम्सुहाङ्ग, मिना राई, गजलकार बालिका थपलिया, नुनाम केरुङ्ग, दुर्गाराज भट्टराई, गायक खड्ग बोहोरा, सुरेन शिशिर केरुङ्ग, गजलकार तथा वक्ता मधु केरुङ्ग लगायतले श्रद्धासुमन सहित नेम्वाङको जीवनीको चर्चा गरेका थिए । इलाम, झापा र पाँचथरका साहित्य प्रेमीको समेत उपस्थित रहेको स्मृति दिवसमा श्रष्टाहरुले रचना बाचन गरेका थिए ।
    फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदकै समयमा गत वर्ष नेम्वाङको स्वर्गारोहण भएको थियो । साहित्यिक मात्र नभएर सामाजिक र राजीतिक क्षेत्रमा समेत बिशिष्ट योगदान गर्दै आएका नेम्वाङको सम्झनामा समाजमा गरिएका
    सकारात्मक काम र योगदानलाई प्रोत्साहन गर्ने उदेश्यले ट्रष्टको स्थापना गरिएको ट्रष्टका अध्यक्ष नेम्वाङका जेष्ठ सुपुत्र मुनिन्द्र नेम्बाङले जानकारी दिए । ट्रष्टले विभिन्न विधामा कलम चलाउने श्रष्टा, शैक्षिक तथा मिडिया क्षेत्र लगायतलाई बर्षेनी सम्मान गर्ने उनले जानकारी दिए ।
    उनी लिम्बु समुदायमा स्नातकोत्तर गर्ने पहिलो व्यक्ति हुन् । आफ्नो मात्र प्रगतिले गाउँ, समाज र गाउँलेको जीवनमा कुनै परिवर्तन ल्याउँन सक्दैन भन्ने सोच राख्ने नेम्वाङले अध्ययन पछि नोकरी नगरी ग्रामीण क्षेत्रको सेवामा सक्रिय जीबन बिताएका थिए । वि।स।२०३३ सालमा छिमेकी गाउँपञ्चायत चिलिङदिनको जनपक्षिय नेपाली कांग्रेसको तर्फबाट निर्विरोध प्रधानपञ्च भएपछि उनी पटक÷पटक साविक पौवासारताप गाविस अध्यक्ष बन्दै गणतन्त्रको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा फाल्गुनन्द गाउँपालिका प्रथम निर्वाचित अध्यक्ष भए। तीनवटै व्यवस्था गाउँञ्चायत, गाउँविकास समिति, र गाउँपालिकाको जिम्मेवारी वहन गर्ने व्यक्तिको रूपमा परिचित थिए । नयाँ संरचना अनुसार ७५३ वटै स्थानीय तहको सरकार मध्ये नेम्बाङले फाल्गुनन्द गाउँपालिकामा मात्र आधारभूत तथा माध्यमिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठनलाई प्राथमिकताका साथ संचालन गरेकाले देशभर चर्चा कमाएका थिए ।

    २०७५ माघ २६ गते गाउँपालिका अध्यक्ष कार्यकाल सम्हालिरहेको अवस्थामा वडाको एक कार्यक्रममा सम्बोधन गर्दै गर्दा बेहोस भएका थिए । त्यस पछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको थियो ।
    विश्व साहित्यको अध्यन गर्दै बिभिन्न ठाँउको भ्रमण गर्ने क्रममा आफ्ना अनुभवहरु समेटेका केही कृतिहरु पनि प्रकाशित गरेका थिए ।
    अमेरिका भ्रमणका केही सम्झना, सम्झनाका तरेलिहरु र एक साँझको अवसान नामक कविता संग्रह प्रकाशित छ । २०७५ सालमा नेपाल सरकारको तर्फबाट उनलाई सुप्रवल जनसेवा श्री पदकले विभुषित गरिएको थियो ।

  • युनाइटेड मुगुम अर्गनाइजेशनको पहिलो ल्होछार

    युनाइटेड मुगुम अर्गनाइजेशनको पहिलो ल्होछार

    न्यूयोर्क/अमेरिका
    युनाइटेड मुगुम अर्गानाइजेशनको आयोजनामा पहिलो पटक औपचारिकरुपमा सोनाम ल्होछार मनाईएको छ । विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समुदायका व्यक्तिहरुसंग गत शनिवार मुगुम( मुगाल) जातिको महान पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार २१४७, (२०२०) जीवा लो (मुसा वर्ग) को अवसरमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गर्दै मनाएको हो ।
    पेमा नामग्यालको अध्यक्षतामा र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेमजोङको प्रमुख आतिथ्यमा अन्य विशिष्ट व्यक्तिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
    त्यस्तै कार्यक्रमका प्रमुख अतिथि फिप्नाका अध्यक्ष चेम्जोङले मुगुम अर्गनाइजेशनले पहिलोपटक सबै समुदायलाई समेटेर ल्होछार मनाएकोमा संस्थाको प्रसंसा गरे । उनले नेपालमा १२५ भन्दा बढी जातजाति रहेको र त्यसभित्र मुगाली समुदाय विशेष पहिचान बनाउदै अगाडि बढेको बताए । ‘हाम्रो देश यस्तो देश हो, जहाँ हाम्रो पुर्खा वा आमाहरुले बनाएको जडिबुटीनै कडा औषधिको रुपमा काम गर्छ,’ अध्यक्ष चेम्जोङले भने ‘नेपालीको पहिचान दौरा सुरुवाल मात्र नभएर विभिन्न जातजातिको संस्कार र संस्कृति पनि हो ।’ नेपालमा पहिचानको सहितको संघीयता स्थापित हुनुपर्ने उनले बताए । यसका लागि समग्र आदिवासी जनजातिहरु एक भएर आवाज उठाउनुपर्ने समेत बताए । चेम्जोङले उक्त कार्यक्रम मार्फत सम्पूर्णलाई अमेरिकाको जनगणना २०२० मा रजिस्टर हुन समेत अनुरोध गरे ।

    संस्थाका सचिव गेलेक नामग्यालले मुगालीहरुको भेष भुषा एउटा विशेष भए पनि सहज रुपमा नपाइने बताए । उनले मुगालीहरुले आफ्नो भेषभुषाका बारेमा सोच्नुपर्ने समय आएको र आफ्नो परम्परालाई बचाइ राख्नका लागि सबै एकभएर अगाडि बढ्नुपर्ने बताए ।

    कार्यक्रममा मुगुम(मुगाल) का लामागुरु र फिप्नाका अध्यक्ष चेमजोङद्धारा भगवान गौतम बुद्धको मूर्तिमा खादा चढाइएको थियो । नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढा मगरले मुगाली समाज आफ्नो पारिवारिक समाज रहेको बताउँदै मुगाली समाजको संस्कृति र भेषभुषाका बारेमा प्रसंसा गरेका थिए । उनले यो संसारमा खोजेर नपाइने भन्दै आफ्नो भेषभुषामा सजिएर आएकोमा खुसी व्यक्त गरेका थिए । ढोकप्या किदुगका अध्यक्ष गोवा लामाले मुगाली समाज र आफ्नो समाजको संस्कार धेरै कुरामा मिल्दोजुल्दो रहेको बताउँदै सुरुका दिनमा आफ्नो समाजले पनि यसरी नै सुरुवात गरेको बताए । उनले भविष्यमा सबै संघसंस्थासँग भाइचाराको सम्बन्ध कायम गर्दै आफ्नो चाडपर्वलाई यसरी नै मिलेर मनाउने प्रतिबद्धता जनाए ।

    सञ्चारकर्मी निमा पाख्रिनले नेपालमा मुगाली समाज धेरै चर्चित समाज रहेको बताउँदै आफू नेपालको धेरै ठाउँमा भ्रमण गरेता पनि मुगुममा नपुगेको तर न्युर्योकमा आएर भेट्ने अवसर जुरेको भन्दै खुसी व्यक्त गरेका थिए । उनले आफ्नो मौलिक परम्परालाई जोगाउँदै आफ्नो हकअधिकार र पहिचानको लागि हामी सधै एक भएर अघि बढ्नुपर्ने बताए ।

    दोश्रो चरणको कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालका गीता राईले नृत्य प्रस्तुत गरेकी थिइन् भने कलाकारहरु छिरिङ तेन्पा, ज्याम्पा तेन्जिन, गेलेक नामग्याल, भिटिक, छिरिङ भिटिक, गालदेन, कुञ्जोम र तेन्जिन साङमोले (मुगाल) परम्परागत लोक संस्कृतिनृत्य प्रस्तुत् गरेका थिए । मुगुम युवा कलाकार कुङगा डीमे र टाशी दुन्डुपले नेपाली र तिब्बत्तीयन गीत प्रस्तुत गरेका थिए । चर्चित लोक गायक सुमन बुढामगर र सुवर्ण शाक्यले आ–आफ्नो कला प्रस्तुत गरेका थिए । मुगुम समाजका अन्य कलाकारले मौलिक संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।


    फिप्नाका सचिब टोमा लामाले निर्देशन र अभिनय गरेको मुगाल जातिको प्रथम चलचित्र ‘सोल्जी’ र दोस्रो चलचित्र ‘फेक’ का केही झलक प्रस्तुत गरेकी थिइन् । उनले यी दुईवटै चलचित्र नेपाल सरकार, चलचित्र विकास बोर्डको अवार्डबाट सम्मानित भएको र अन्य विभिन्न अवार्डहरुबाट सम्मानित भएको जानकारी गराएकी थिइन् ।

  • नेपाली महिलाले अमेरिकाको डेनाली हिमाल चढ्ने

    नेपाली महिलाले अमेरिकाको डेनाली हिमाल चढ्ने

    कल्पना घिमिरे
    न्यूयोर्क/अमेरिका
    नेपाली महिला शर्मिला थापामगरले अमेरिकाको डेनाली हिमाल चढ्ने भएकी छिन् । सन् २०१४ देखि अमेरिका आवतजावत गरिरहेकी थापा यसपाली अमेरिकाको अलस्का राज्यमा रहेको ६,१९० मिटर अग्लो डेनाली हिमाल चढ्ने उदेश्य लिएर आएकी हुन् । गत शनिबार न्यूयोर्कको ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गर्दै आगामी मे महिनामा डेनाली हिमाल चढ्ने तयारी भइरहेको बताइन् । उनीसंगै ३५ पटक बिभिन्न हिमाल आरोहण गरिसकेका हिमाल आरोही तुलसी गुरुङ पनि चढ्ने छन् ।
    डेनाली हिमाल अमेरिकाको सबै भन्दा अग्लो हिमाल हो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र सम्पूर्ण एकल महिलालाई केही गर्ने प्रोत्साहन मिलोस् भन्दै हिमाल चढ्न लागेको उनको भनाइ छ । ‘बिभिन्न कारणले एकल भएका महिलालाई अझैपनि समाजले हेर्ने दृष्ट्रिकोण परिवर्तन हुन सकेको छैन । महिलाहरु नरम होलान् तर कमजोर छैनन भन्ने सन्देश फैलाउनका लागि पनि मैले यस्तो तयारी गरेको हँ ’ उनी भन्छिन्, ‘सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेको अवस्थामा मैले अमेरिकाको हिमालमा नेपालको झण्डा फहराउन सके भने त्यसले ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि सकारात्मक सन्देश दिनेछ ।’


    गत वर्ष ६००० मिटर अग्लो सिन्धुपाल्चोकको जुगल हिमाल सफल आरोहण गरिसकेकी शर्मिलाले अमेरिकामा पनि केही गरेर देखाउने लक्ष्य लिएकी हुन् । हिमाल चढ्नका लागि आर्थिक संकलन जुटाउन अमेरिकास्थित नेपाली समुदायसंग सहयोगको अपिल गरेकी छिन् । ‘हिमाल चढ्नका लागि झण्डै २७ हजार अमेरिकी डलर अनुमानित खर्च लाग्ने भएकाले सबैले सहयोग गरिदिनु हुन अनुरोध छ’ उनी भन्छिन्, ‘१३ दिन सम्म माथि जाने र फर्कने गरी २१ दिनको समय लाग्छ । त्यसबिचमा खानपान, बसोबासको सामग्री देखि हामी लगाउने बिशेष कपडा, गियरहरु समेतको खर्च सबै जुटाउनु पर्नेछ । यस्ता सामाग्री अत्यन्तै महंगो हुन्छ ।’ हाल उनी क्विन्सको कोर्ट अफ स्क्वायर एक स्कुलमा क्लाइम्वर्सको तालिम लिइरहेकी छिन् । नेपाली समुदाय र संघ संस्थामा आफ्नो उदेश्य बारे बताउँदा सबैले मगर संघमा जानु भनिरहेको पनि उनले बताइन् । ‘तर, म मगरको छोरी भएर मात्रै हिमाल चढ्न लागेको होइन । आम नेपालीको छोरी भएर हिमाल चढ्दैछु । भोली मैले हिमालको चुचुरोमा नेपालको झण्डा फहराउँदा त्यहा सिङ्गो नेपाल र सम्पूर्ण नेपालीले गौरब गर्नेछन् । त्यसैले मलाई सबैले सहयोग गरिदिनु हुन पनि अनुरोध गर्दछु’ उनको अपिल छ ।


    शर्मिलाले एकल महिलाको जीबनमा मात्र हैन समाज परिवर्तन गर्नका लागि गहन भूमिका निर्वाह गदै आएकी छिन् । ‘मृत्यपछि दागबत्ती दिन छोरा नै चाहिन्छ’ भन्ने पुरानो मान्यतालाई चिर्दै छोरीले पनि छोरा सरह काम कर्तब्य पालन गर्न सक्छ भन्ने सन्देश दिएकी छिन् । उनले आफ्नो आमाको मृत्युमा आफैले दाग बत्ती दिएर, कपाल मुन्डन गरी १३ दिनसम्म आमाको काजकिरियामा बसेकी थिइन् । उनको यो शाहसलाई सामाजिक रुपान्तरणको उदाहरणको रुपमा लिइएको छ

    सन् २०१५ मा नेपालामा गएको महाभुकम्पमा ज्यान गुमाउनेका परिवारलाई दिनरात सहयोग गरिन् । उनले समाज परिवर्तनका लागि गरेको योगदानको कदर गर्दै सन् २०१५ मा संयूक्त राष्ट्र संघले एन पी सी अर्वाडले सम्मान गरेको थियो । कार्यक्रममा शर्मिलाले जीवनका गरेका संघर्षबारे बनेको छोटो बृतचित्र प्रस्तुत गरिएको थियो ।
    मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप रानामगरले शर्मिलालाई सबैले सहयोग गरिदिनु हुन आग्रह गरेका छन् । शर्मिलाको यो लक्ष्य पुरा गराउनका लागि संस्थाको तर्फबाट अभिभावकको भुमिका निर्वाह गरिरहेको पनि उनले जानकारी दिए । न्यूयोर्क, टेक्सास, बाल्टिमोर लगायतबाट पनि सहयोग गराउन पहल गरिरहेका छौं । सहयोगको अपिल गर्दै उनी नेपाली महाबाणीज्य दूताबास, डिसिस्थित नेपाली राजदुताबास सबैतिर धाइरहेकी छिन् । सरकारका तर्फबाट केही जानकारी नआएसम्म कन्सुलेटले प्रत्यक्ष बजेट दिन नमिल्ने जानकारी गराएको उनले बताइन् ।

  • तामाङ समाज अमेरिकाले मनायो ल्होछार

    तामाङ समाज अमेरिकाले मनायो ल्होछार

    न्यूयोर्क/अमेरिका
    तामाङ समाज अमेरिकाले तामाङ समुदायको महान पर्व सोनाम ल्होछार (नयाँँ वर्ष) विशेष कार्यक्रम गर्दै मनाएको छ । बौद्धधर्म परम्परा अनुसार साङ सेरकिम पुजासंगै शुरु भएको ल्होछार कार्यक्रममा तामाङ समुदायको साथै न्युयोर्क र आसपासमा रहेका विभिन्न समुदायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । तामाङ समुदायको मौलिक संस्कृति झल्कने प्रस्तुती सहित गत साता ल्होछार आयोजना गरिएको हो । प्रवासमा आफनो धर्म र सस्कृतिको संरक्षणको गर्दै यस पटक बौद्धधर्म गुरु लोपेन गिर्मि छोढकको उपस्थितिमा विशेष धार्मिक पुजा पाठ गरिएको थिए ।


    उक्त अवसरमा आदीवासी जनजाती महासंघ फिप्नाका पुर्व अध्यक्ष लुइसाङ वाइवा, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, आदीवासी जनजाति महासंघ फिफ्नाका सल्लाहकार मणी वाङदेल, शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा, बागलुङ समाजका अध्यक्ष चन्द्र जिशि, एनआरएन व्यापार तथा पर्यटन संयोजक आङ जाङबु शेर्पा, लङ आइल्याण्ड समाजका प्रतिनिधि राजन गौली, तमु परिवारका अध्यक्ष मनिता गुरूङलगायतले ल्होछारको शुभकामना ब्यक्त गरेका थिए ।
    तामाङ समाजकी महासचिब महासचिव विनिता तामाङले सञ्चालन गरेको औपचारिक कार्यक्रमपछि दोश्रो चरणमा तामाङ लोक संस्कृति झल्कने विभिन्न तामाङ नृत्यहरुसंगै झन्कार डान्स सेन्टर र बसन्त डान्स सेन्टरको कोरियोग्राफीमा विभिन्न लोक नृत्यहरु प्रस्तुत गरिएको थियो ।


    कार्यक्रममा उपस्थित अतिथिहरुलाई आयोजकले तामाङको टोपि र खादा लगाइदिएर ल्होछारको शुभकामना आदानप्रदान गरेका थिए । तामाङ समाज अमेरिकाले गत वर्ष देखि छुट्टै ल्होछार मनाउँदै आएको हो ।

  • न्यूयोर्कमा श्रष्टा सम्मानित

    न्यूयोर्कमा श्रष्टा सम्मानित

    न्यूयोर्क/अमेरिका
    अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरले ४ जना साहित्य श्रष्टाहरुलाई सम्मान गरेको छ । आइतबार न्यूयोर्कको ज्याक्सन हाईटमा आयोजना गरिएको ‘न्यूयोर्कमा श्रष्टा’ नामक कार्यक्रममा साहित्य श्रष्टाहरुको श्रृजना सुनाइएको थियो ।
    अनेसास न्यूयोर्क च्याप्टरका महासचिव राजन महर्जनका अनुसार, हरेक तीन महिनाको अन्तरालमा ४/४ जना श्रष्टाहरुलाई सम्मान गर्ने र उनीहरुको साहित्य श्रृजना सुन्ने नयाँ कार्यक्रमको थालनी गरिएको छ । त्यसै अनुरुप ‘न्यूयोर्कमा श्रष्टा’ पहिलो कार्यक्रम हो ।


    उक्त कार्यक्रममा अमेरिकी प्रवासमा रहेर नेपाली साहित्यमा योगदान पु¥याउने साहित्यकारहरु किशनसिंह धामी, बिनोद रोका, मधु माधुर्य, तथा पद्मा लिंखा मगरलाई सम्मान गरिएको थियो । उक्त अवसरमा सम्मानित साहित्यकारहरुले आ–आफ्नो श्रृजना सुनाएका थिए ।
    कार्यक्रममा अनेसास न्यूयोर्क च्याप्टरका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । च्याप्टरमा दुई कार्यकालसम्म रहँदा श्रेष्ठले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । यसैगरी, अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टीका अध्यक्ष साहित्यकार गीता खत्रीको कथा संग्रह ‘अन्त्यहिन इच्छा’ को अंग्रेजीमा अनुवाद ‘सेमलेस डिजायर’  को लोकार्पण गरिएको थियो ।
    नेपाली साहित्यकारहरुको श्रृजनाहरुलाई अन्तराष्ट्रिय स्तरमा परिचय गराउन यो पुस्तक एउटा ठोस माध्यम भएको बताइएको थियो । साथै १७ वटा मनछुने कथा समेटिएको यो पुस्तकले मान्छेको मन छुन सफल रहेको अंग्रेजी पुस्तक लेखक साहित्यकार राजन थपलियाले बताएका थिए ।

    अनेसास न्यूयोर्क च्याप्टरकी अध्यक्ष साहित्यकार शकुन ज्ञवालीले साहित्यकारहरुका श्रृजना सुन्न पाउँदा मनै आनन्द हुने बताएकी थिइन् । बेला/बेलामा यस्ता कार्यक्रम आयोजना गर्नाले लेख्ने र श्रृजना गर्नेहरुलाई समेत प्रोत्साहन मिल्ने उनी बताउँछिन् ।

  • ‘हाम्रो शहर, हाम्रो भोट’माग गर्दै प्रदर्शन

    ‘हाम्रो शहर, हाम्रो भोट’माग गर्दै प्रदर्शन

    कल्पना घिमिरे
    न्यूयोर्क/अमेरिका
    अमेरिकी नागरिकता नभएपनि कागजपत्र हुनेहरुले नगरपालिकाको निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गर्दै न्यूयोर्कमा प्रदर्शन गरिएको छ । न्यूयोर्क राज्यमा बसोबास गरिरहेका कागजपत्र हुने आप्रवासीहरुले मतदान गर्न पाउनुपर्ने कानुन पारित हुन लागेको अवस्थामा नेपालीहरुले पनि दबाब दिँदै प्रदर्शन गरेका हुन् । नगरपरिषदले उक्त विधेयक पारित गरेपछि नागरिकता नभएका तर कानुनी रुपमा न्युयोर्कमा बस्दै आएकाहरुले न्युयोर्कको नगर निर्वाचनमा भाग लिन पाउने छन । नगरपरिषदमा पेश गरिएको उक्त विधेयकमा मतदाता हुनको लागि कम्तिमा ३० दिन काम गरेको प्रमाण सहित न्युयोर्क बसेको हुनुपर्नेछ । सिटि काउन्सीलका ड्यानीयल रोड्रिग्वेजकै अग्रसरतामा उक्त विधेयक नगरपरिष्दमा पेश गरिएको थियो । उनका अनुसार यस्तो कानुनले आप्रवासीहरुको भलाई मात्र होइन, अमेरिकी प्रजातन्त्रलाई थप मजबुत बनाउनेछ ।


    न्यूयोर्क राज्यमा बसोबास गर्दै आएका आप्रवासीहरुको तर्फबाट मतदान अधिकार सम्बन्धी अभियान लामो समयदेखि चलाइएको थियो । पछिल्लो समय नेपाली भाषीहरुको संख्या बढ्दै गएको अवस्थामा थोरै मात्र जम्मा ५ प्रतिशतले मतदानको अधिकार पाइरहेका छन् । अहिलेको अवस्थामा यो कानुन पारित भएमा ५० हजार नेपाली भाषीहरु लाभान्वित हुने बताइएको हो । न्यूयोर्क र न्युजर्सीमा बसोबास गर्दै आएका नेपालीहरुले ‘आवर सिटी, आवर भोट’ अर्थात ‘हाम्रो शहर, हाम्रो भोट’ अभियान अन्तरगत बिहिबार न्यूयोर्क सिटी हलमा दबाब दिदै प्रदर्शन गरेका हुन् ।
    यो अभियानमा न्युयोर्कका विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोग रहंदै आएको छ । यस अभियानका अगुवा अधिकारकर्मी सञ्चारकर्मी शैलेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत खुसी ब्यक्त गर्दै भनेका छन्, ‘करिब तीन बर्षको अन्तरिक तयारी पछि अन्तत आज हाम्रो कोलिसन ‘आवर सिटी, आवर भोट’ नामक सम्पूर्ण डक्युमेन्टेड आप्रवासीहरुले न्युयोर्क सहरको पाँच बोरो भित्र मतदान गर्न पाउने बिधेयकको विधिवत घोषणा गर्न सक्षम भएका छौं । मेरो लागि सन २०१० को पेड सिक डेज (सेवा ब्यबसायका कामदारहरुले अनिवार्य बिरामी बिदा पाउने बिल) बिल पछाडी यसरी कोलिसनको आन्तरिक स्टेरिंग कमिटीमा बसेर काम गर्ने अवसर पाएको यो अर्को अवसर थियो ।’
    यो बृहत कोलिसनमा नेपाली समुदायका तीन क्रियाशील संस्थाहरु अधिकार, युनाईटेड शेर्पा एशोसियसन (शेर्पा किदुग) र नेपाल आदिबासी जनजाती महासंघ अमेरिका (फिप्ना) जोडिएका छन । यो अभियानमा जोडिएका सबै संस्था, त्यस संस्थाका नेतृत्व पंक्तिका अगुवाहरु र न्युयोर्क सिटी हलको प्रांगणमा उपस्थित भएका सबै सहभागीहरुप्रति कोलिसन र स्टेरिंग कमिटीको तर्फबाट श्रेष्ठले आभार व्यक्त गरेका छन् ।

  • न्यूयोर्कमा मगरहरुको ‘माघे सक्रान्ती’

    न्यूयोर्कमा मगरहरुको ‘माघे सक्रान्ती’

    कल्पना घिमिरे
    न्यूयोर्क/अमेरिका
    अमेरिकाको न्यूयोेर्कमा बस्दै आएका मगरहरुले आफ्नो कला र संस्कृति झल्काउँदै माघे सक्रान्ती मनाएका छन् । यसलाई मकर सक्रान्ती पनि भन्ने गरिन्छ । मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा आइतबार मगर समुदायको राष्ट्रिय पर्वको रुपमा रहेको माघे सक्रान्ती मनाइएको हो ।
    हिन्दु परम्परा अनुसार माघ १ गतेलाई माघे सक्रान्तीको रुपमा मनाइदै आएको छ । त्यस दिन घिउ, चाकु, तरुल लगायत मिठो मसिनो पकाएर खाने चलन छ । मगर जातीहरुका लागि त यो एउटा बिशेष महत्वपूर्ण चाड हो ।

    अमेरिकामा बसोबास गर्दै आएका मगरहरुले सन् २०१३ बाट धुमधामका साथ माघे सक्रान्ती मनाउन थालेका हुन् । बि.सं २०६५ सालमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माघे सक्रान्तीलाई मगरहरुको राष्ट्रिय पर्वको रुपमा घोषणा गरेका थिए । त्यस यता नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म छरिएर रहेका मगरहरुले बिशेष रुपमा मनाउन थाले । ‘यो मुलुकमा मात्रै सिमित रहेन अहिले त बिश्वभर छरिएर रहेका मगरहरुले निकै धुमधामका साथ मनाउन थालेका छन्’ मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप रानामगरले भने, ‘अमेरिकामा पनि बिभिन्न राज्यहरुमा माघे सक्रान्ती मनाइरहेका छौं ।’
    खासगरी माघ महिनाको १ गते मनाउनु पर्ने भएपनि सबैको सुबिदालाई बिचार गरेर माघे सक्रान्तीकै पेरिफेरिमा शनिबार÷आइतबार पारेर कार्यक्रम गरिदै आएको उनले जानकारी दिए । आइतबारको कार्यक्रममा बिभिन्न सांस्कृतिक तथा दोहोरी गीतका साथै भुम्या नाच (झाँकी नाच), कौडा, सालैजो, सोरठी, गाउँबेसी लोकदोहोरी, हुर्रा नाँच लगायत मौलिक संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा गायक जगदिश समाल, मुना थापा, टिका पुन, राजेश थापा लगायतले गीत सुनाएका थिए भने स्थानीय मगर समुदायका युवायुवतीले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग प्रमुख अमृतबहादुर राई, एनआरएनए एनसीसीका उपाध्यक्ष बाबुराम लामा, नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेम्जोङ, फिप्नाका सदस्य संस्थाहरुका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधिहरु लगायत न्यूयोर्क, न्युजर्सी, पेन्सिलभेनिया, कनेक्टिकट राज्यहरुबाट आएका दर्शकहरुको सहभागीता थियो । कार्यक्रममा सहभागीहरुलाई मगर परिकारहरु खुवाइएको थियो । मगरको टिपिकल परिकारहरु बंगुरको मासु, तरुल, बटुक, सेलरोटी लगायतको ब्यवस्था गरिएको थियो ।
    न्यूयोर्कमा मात्र होइन, मगर संघ अमेरिका केन्द्रिय समिति अन्तरगत च्याप्टर समितिले बिभिन्न राज्यहरुमा माघे सक्रान्ती मनाइरहेको छ । यसअघि नै टेक्सास, न्यूजर्सी, बोस्टन, कोलोराडो, क्यालिफोर्नियामा माघे सक्रान्ती सम्पन्न भइसकेको छ । आगामी जनवरी २५ मा बाल्टिमोर मनाउन लागेको पनि अध्यक्ष रानामगरले जानकारी दिए ।
    मकर सक्रान्तीमा सबै मगरहरु भेला हुने, बिशेष गरी चेली पुज्ने, धनुषबाँण हान्ने, पुजापाठ गर्ने, पृतिहरुलाई पानी चढाउने, भँुमीलाई पुजा गरेर प्रकृतिलाई खुसी बनाउने, जसले गर्दा अन्न बाली राम्रो हुने, बस्तु भाउ फस्टाउँछन् भन्ने चलन रहिआएको छ । ‘यस पर्वले मगरहरु आफ्नो धर्म र प्रकृतिको पुजक हो भन्ने सन्देश पनि दिएको छ’ उनले भने, ‘पश्चिमको रुकुम रोल्पा र धौलागिरी क्षेत्रमा धनुषबाँण हान्ने र पूर्व तिर छेलो हान्ने, माघे सक्रान्तीका दिन भलिबल खेल्ने चलन पनि स्थापित हुँदै आएको छ ।’

  • नेजाको अधिवेशन तयारीका लागि न्यूयोर्कमा पत्रकार भेला

    नेजाको अधिवेशन तयारीका लागि न्यूयोर्कमा पत्रकार भेला

    न्युयोर्क/अमेरिका
    नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी मे महिनामा न्यूयोर्कमा हुन लागेको सातौं अधिवेशनको तयारीबारे पत्रकारहरुबीच छलफल गरिएको छ ।
    नेजाले आइतबार न्यूयोर्कको ज्याक्सन हाइटमा आयोजना गरेको छलफलमा अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा कार्यरत पत्रकारहरु सहभागी भएका थिए । नेजाको सातौं अधिवेशन तथा १४ औं साधारण सभा आगामी मे महिनाको २ र ३ गते हुँदैछ ।
    भेलामा अधिवेशन कसरी सम्पन्न गर्ने, कस्ले के कस्तो जिम्मेवारी लिने, सहयोग संकलन कसरी गर्ने लगायतका विषयमा छलफल गरिएको थियो ।

    न्यूयोर्कमा गरिएको पत्रकारको भेलाले अधिवेशन सफल पार्नका लागि कार्यविभाजन गर्दै बिभिन्न ९ वटा उपसमिति निर्माण गरेको छ । नेजाका सल्लाहकार तथा पूर्व अध्यक्ष आङछिरिङ शेर्पाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति, कोषाध्यक्ष मच्छेदेवी गुरुङको संयोजकत्वमा दर्ता तथा रजिस्ट्रेसन उपसमिति, शैलेश श्रेष्ठको संयोजकत्वमा होटल तथा हल ब्यवस्थापन उपसमिति निर्माण गरिएको छ ।
    त्यसैगरी बिष्णु पौडेलको संयोजकत्वमा यातायात ब्यवस्थापन उपसमिति, पिपलमणी सिग्देलको संयोजकत्वमा अतिथि सत्कार ब्यवस्थापन उपसमिति, अनुज थापाको संयोजकत्वमा प्रसार प्रचार तथा मसलन्द ब्यवस्थापन उपसमिति, योगेश डंगोलको संयोजकत्वमा हल सजावट, साउण्ड सिस्टम तथा सांस्कृतिक कार्यक्रम ब्यवस्थापन उपसमिति, दिवाकर बाक्चनको संयोजकत्वमा स्थानीय संघ/संस्था संयोजन उपसमिति र ङिमा पाख्रिनको संयोजकत्वमा भोजन ब्यवस्थापन उपसमिति निर्माण गरिएको छ । गत डिसेम्बरमा बसेको नेजाको सल्लाहकारहरु सहितको कार्यसमितिको बैठकले आगामी अधिवेशन न्यूयोर्कमा गर्ने निर्णय गरेको थियो ।
    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अधिवेशन सम्पन्न गरिने तय भएको छ । अधिवेशन सफल पार्नका लागि अमेरिकामा रहेका नेपाली समुदाय, ब्यवसायी, समाजसेबी, बिभिन्न संघ संस्थाका प्रतिनिधि सबैलाई सहयोग गरिदिन पनि नेजाले बिशेष आग्रह गरेको छ ।

    भेलाले गठन गरेको विभिन्न उपसमितिहरु:

    दर्ता तथा रजिस्ट्रेसन उपसमिति
    संयोजक : मच्छेदवी गुरुङ
    सदस्यः बद्री गौतम
    सदस्यः बिष्णु पौडेल
    सदस्य : अनिल अधिकारी
    सदस्यः अनुज थापा

    आर्थिक ब्यवस्थापन उपसमिति
    संयोजकः आङछिरिङ शेर्पा
    सदस्यः किरण मरहठ्ठा
    सदस्यः मच्छेदेवी गुरुङ
    सदस्यः कल्पना घिमिरे
    सदस्यः ङिमा पाख्रिन
    सदस्यः शैलेश श्रेष्ठ
    सदस्यः बिष्णु पौडेल
    सदस्यः मोहनसिंह लामा
    सदस्यः बिष्णुहरी घिमिरे
    सदस्यः दिवाकर बाक्चन
    सदस्यः पिपलमणी सिग्देल
    सदस्यः गोकुल श्रेष्ठ

    होटल/हल ब्यवस्थापन उपसमिति
    संयोजक: शैलेश श्रेष्ठ
    सदस्यः आङछिरिङ शेर्पा
    सदस्यः किरण मरहठ्ठा
    सदस्यः मच्छेदेवी गुरुङ
    सदस्यः दिवाकर बाक्चन
    सदस्यः अनुज थापा
    सदस्यः मनोज घिमिरे

    यातायात ब्यवस्थापन उप समिति
    संयोजक : बिष्णु पौडेल
    सदस्यः लोकमणी राई
    सदस्यः अनिल अधिकारी
    सदस्यः गोकुल श्रेष्ठ
    सदस्यः संजोक आचार्य

    अतिथि सत्कार ब्यवस्थापन उपसमिति
    संयोजकः पिपलमणी सिग्देल
    सदस्यः ज्ञानप्रसाद बाँस्तोला
    सदस्यः बिष्णुहरी घिमिरे
    सदस्यः गीता पन्थ
    सदस्यः तारा भट्टराई

    प्रसार प्रचार तथा मसलन्द ब्यवस्थापन उपसमिति
    संयोजकः अनुज थापा
    सदस्यः ज्योती कुमार श्रेष्ठ
    सदस्यः बद्री गौतम
    सदस्यः दिनेश कार्की
    सदस्यः अकुर लुइटेल
    सदस्यः संजोक आचार्य
    सदस्यः प्रभात भट्टराई

    संस्कृतिक कार्यक्रम ब्यवस्थापन उपसमिति
    संयोजक: योगेश डंगोल
    सदस्यः कल्पना घिमिरे
    सदस्यः ङिमा पाख्रिन
    सदस्यः अनुज थापा
    सदस्यः मनोज घिमिरे
    सदस्यः लोकमणी राई

    स्थानीय संघ/संस्था संयोजन उपसमिति
    संयोजकः दिवाकर बाक्चन
    सदस्यः आङछिरिङ शेर्पा
    सदस्यः किरण मरहठ्ठा
    सदस्यः मच्छेदेवी गुरुङ
    सदस्यः कल्पना घिमिरे
    सदस्य: दिनेश कार्की
    सदस्यः शैलेश श्रेष्ठ
    सदस्यः अकुर लुइटेल
    सदस्यः बिष्णुहरी घिमिरे

    भोजन ब्यवस्थापन उपसमिति
    संयोजकः ङिमा पाख्रिन
    सदस्यः कल्पना घिमिरे
    सदस्यः योगेश डंगोल
    सदस्यः गीता पन्थ
    सदस्यः तारा भट्टराई

  • सिमा अतिक्रमणबिरुद्ध राष्ट्रसंघका महासचिवलाई ज्ञापनपत्र

    सिमा अतिक्रमणबिरुद्ध राष्ट्रसंघका महासचिवलाई ज्ञापनपत्र

    न्यूयोर्क/अमेरिका
    भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण बिरुद्ध संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्क अगाडि विरोध प्रदर्शन गरिएको छ । भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपाली भूभागहरु समेटेको विरोधमा गरिएको प्रदर्शनमा न्युयोर्क र आसपासका राज्यबाट समेत नेपालीहरुको उपस्थीति थियो ।
    राष्ट्रसंघ मुख्यालय अगाडि रहेको राल्फ पार्कमा आयोजित कार्यक्रममा सिमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालका तर्फबाट लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूभाग समेटेको नक्शा तुरुन्त सार्वजनिक गर्नुपर्ने बताए । संचारकर्मी प्रेम बानियाले भारतीय पक्षबाट भएको नेपाली सिमा अतिक्रमणबिरुद्ध विश्वभरका नेपालीहरुले आवाज उठाउनुपर्ने बताए । संचारकर्मी अनिल अधिकारीले भारतीय पक्षबाट नेपाली भूभाग अतिक्रमणविरुद्धको प्रदर्शनमा नेपालीहरुको सहभागिताले देशभक्ति प्रतिबिम्बित गरेको बताए । कार्यक्रममा गायिका सपना श्रीले राष्ट्रिय गीत गाएकी थिइन् भने गायक रामप्रसाद खनाल र कवयत्री शकुन ज्ञवालीको गीत र कविताले देशभक्तिपूर्ण माहौल श्रृजना गरेको थियो ।

     

    कार्यक्रममा भारतीयपक्षबाट गरिएको सिमा अतिक्रमणको बिरुद्ध नाराबाजी गरिएको थियो । सहभागीहरुले भारतीय पक्षबाट आफ्नो नक्शामा समेटेको लिपुलेक, लिम्पियाधुरा र नेपालको नक्शासहितको टिसर्ट लगाएर बिभिन्न सन्देश बोकेका प्लेकार्ड बोकेका थिए ।
    विरोध प्रदर्शनपछि संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटिरेजलाई प्रवक्तामार्फत ज्ञापनपत्र बुझाइएको थियो । भारतीय पक्षले सार्वजनिक गरेको नक्शामा नेपालको भूभाग समेटेकोमा त्यसलाई सच्याउने दिशामा सकारात्मक भूमिका खेल्न राष्ट्रसंघलाई आब्हान सहित ज्ञापनपत्र बुझाइएको हो । भारतले सार्वजनिक गरेको नक्शामा नेपाली भूभाग समेटेको सन्दर्भमा बुद्धिनारायण श्रेष्ठको बिष्लेषणसमेत ज्ञापनपत्रमा समेटिएको थियो । उक्त कार्यक्रम संचारकर्मीहरु प्रेम बानिया र अनिल अधिकारीको पहलमा गरिएको थियो ।

  • नेपालीहरुले संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली गर्दै

    नेपालीहरुले संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली गर्दै

    न्यूयोर्क/अमेरिका
    नेपाल भारत सिमा विवादबारे नेपालीहरुले संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि बिरोध नेपालको भुमी फिर्ताको माग गर्दै संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली गर्ने भएका छन् । आउँदो सोमबार जनवरी १३ तारिख न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालय अघिल्तिर नेपालीहरुले बिरोध नेपालको भुमी फिर्ताको माग गर्दै संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली गर्न लागेका हुन् ।

    लिपुलेक, लिम्पियाधुरा, कालापानी भुमी फिर्ताको माग गर्दै बिरोध स्वरुप नेपालको भुमी फिर्ताको माग गर्दै संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली आयोजना गर्न लागिएको जनाइएको छ । संचारकर्मी प्रेम बानियाले भने, यो प्रवासमा रहेका नेपालीहरुको संयुक्त आवाज हो, स्वतन्त्र प्रयास हो, हामीले हाम्रो भुमी फिर्ता माग्न यो कार्यक्रमको आयोजना गर्न लागेका हौं ।

    कार्यक्रममा सहभागि भएर मातृभुमीका लागि एक हुन आव्हान गरिएको छ । सोमबार १३ तारिख ११ बजे राष्ट्रसंघको मुख्यालय अगाडिको राल्फ पार्कमा जम्मा हुने र सोही स्थानमा ब्यानर तथा प्ले कार्ड सहित बिरोध कार्यक्रम गरिने जनाइएको छ ।

    साथै संयुक्त राष्ट्रसंघका महासचिव या उच्चपदस्थ अधिकारीलाई नेपाल भारत सिमा बारेमा लेखिएको ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत तय गर्न लागिएको जनाइएको छ । साथै कवि, कलाकार, पत्रकार, समाजसेवीहरुले देशको सिमा बारेमा लेखिएको गित कविता समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

  • फोहोर बोक्ने ट्रकले ठक्कर दिँदा १० वर्षे नेपाली बालकको निधन

    फोहोर बोक्ने ट्रकले ठक्कर दिँदा १० वर्षे नेपाली बालकको निधन

    न्यूयोर्क/अमेरिका
    अमेरिकाको न्यूयोर्कमा सडक दुर्घटनामा परि १० वर्षे बालक श्रृजल पन्थीको निधन भएको छ । मंगलबार बिहान ७ बजे न्युयोर्कको क्विन्सस्थित कोरोनामा बच्चालाई स्कूल पुर्याउन जाँदै गर्दा फोहोर बोक्ने ट्रकले छोरा र आमा मीना पन्थी दुबैलाई ठक्कर दिएको हो ।

    कोरोनाको ५७ एभिन्यु र ९७ स्ट्रिटमा जेब्रा क्रसिङबाट बाटो कट्दै गर्दा ट्रकले ठक्कर दिएको जनाइएको छ । घटनापछि घाईतेलाई तत्काल अस्पताल लगिएको थियो । घटनास्थलको नजिकै रहेको एल्महर्ष्ट हस्पिटलमा उपचारका क्रममा बालकको निधन भएको हो । घाइते मीनाको खुट्टामा फ्याक्चर भएकाले आजै शल्यक्रिया गरिने जनाएको छ ।
    लाईन्स क्लब नेप्लीज क्विन्सका अध्यक्ष पुरूषोत्तम पन्थीको परिवारमा पर्न गएको यो दुःखद् घटनाप्रति न्यूयोर्कको नेपाली समाज स्तब्ध भएको छ । पन्थि परिवारलाई भेट्न, सहानुभुति प्रदान गर्नका लागि न्युयोर्कका बिभिन्न समुदाय तथा संस्थाका प्रतिनिधि र सर्बसाधारण एल्महर्ष्ट हस्पिटलमा बिहानैदेखि जम्मा भएका थिए ।