काठमाडौं\एजेन्सी । प्रिमियर लिगको जारी सिजन अन्तर्गत शनिबारका खेलमा शीर्ष र बलिया टोलीले लज्जास्पद हार बेहोर्न पुगेका छन् । चेल्सीको पोष्टमा वेस्ट ब्रोमले ५ गोल छिराएको छ । आर्सनललाई लिभरपुलले ३ गोल हानेको छ । आर्सनलको घरेलु मैदानमा लिभरपुलले ३–० गोल अन्तरको जित निकालेको छ ।
खेलमा ६४ औँ मिनेटमा पहिलो गोल भएको हो । डिएगो जोटाले टोलीलाई अग्रता दिए । मोहमद शलाहले ६८ औं मिनेटमा दोस्रो गोल गरे । जोटाले नै ८२ औँ मिनेटमा अर्को गोल थप्दै लिभरपुललाई फराकिलो अन्तरको जित निकाले ।
शनिबार नै भएको अंक तालिकाको चौथो स्थानमा रहेको चेल्सी वेस्ट ब्रोमिच आल्बियोनसँग घरेलु मैदानमै स्तब्ध बन्यो । उसलाई वेस्ट ब्रोमले २–५ गोल अन्तरले हरायो । खेलको २७ औँ मिनेटमा क्रिस्टिन पुलिसिचको गोलबाट चेल्सीले अग्रता लिएको थियो ।
२९ औं मिनेटमा चेल्सी १० खेलाडीमा खुम्चियो । दोस्रो पहेँलो कार्ड खाएका थियागो सिल्भा मैदानबाट बाहिरिए । त्यसको फाइदा वेस्ट ब्रोमले उठायो । माथेयस परेराले पहिलो हाफको इन्जुरी समयमा दुई गोल गरे ।
क्यालम रोबिनसनले ६३ औँ मिनेटमा गोल गरे । मबाय डियाग्नेले खेलको ६८ औँ मिनेटमा गोल गरे । मेसन माउन्टले ७१ औँ मिनेटमा चेल्सीका लागि दोस्रो गोल गरे । रोबिनसनले इन्जुरी समयमा गोल गरी चेल्सीलाई लज्जास्पद हार चखाए ।