चैत ५ भित्र स्थानीय चुनाव गर्न निर्वाचन आयोगको सिफारिस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन् । सोमबार दिउँसो देउवा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारीहरूबीच आगामी स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको हो ।

छलफलका क्रममा आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापन शीर्षकमा ३० करोड रुपैयाँ माग गरेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनका लागि ३० करोड रुपैयाँ माग गरेको हो ।

त्यस्तै आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । त्यसैगरि आयोगले अब नयाँ कानुनअनुसार चुनाव गर्ने समेत प्रस्ताव गरेको छ । त्यसका लागि विभिन्न ९ वटा कानुनलाई ३ वटा कानुनमा समेटेर कानुन परिमार्जन गर्नेगरी ड्राफ्ट तयार पार्ने प्रक्रिया सुरु भएको आयोगले जनाएको छ ।

प्रधानमन्त्री देउवासँग छलफल गर्न थपलियाको नेतृत्वमा आयोगका पदाधिकारीहरू सिंहदरबार पुगेका थिए । पदाधिकारीहरूले चुनावका लागि भइरहेको तयारी र आयोगका आवश्यकताहरूबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।