चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले चलाउने

काठमाडौं । चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको लागि ठेक्का लागेको छ । चोभार सुक्खा बन्दरगाह ५ वर्षको लागि ट्रान्स नेपाल फ्रेट सर्भिस जेभीलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिन लागिएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिले टर्मिनल पट्टाबहालमा दिनेसम्बन्धी नियमावली, २०७० बमोजिम उक्त कम्पनीसँग करार सम्झौता गरी जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय भएको जनाएको छ ।

काठमाडौं–तराई द्रुतमार्ग तयार नहुञ्जेल चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउन नसक्ने समिति कार्यकारी निर्देशक आशीष गजुरेलले बताएका छन् । । ‘निजी क्षेत्रले व्यवस्थापन, सञ्चालन, मर्मत, सम्भार गरी कबोल गरे बमोजिम पाँच वर्षको लागि २ करोड ८८ लाख रुपैयाँ न्यूनतम पट्टाबहाल रकम सरकारलाई बुझाउनेछ,’ उनले भने, ‘नियमावलीबमोजिम सुक्खा बन्दरगाह व्यवस्थापन र सञ्चालन प्रतिस्पर्धात्मक प्रणालीमार्फत छनौट भएको कम्पनीलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा भाडामा सञ्चालन गर्न जिम्मा दिन लागिएको हो ।’

समितिको आन्तरिक व्यवस्थापनबाट २०७८ चैत २२ बाट सञ्चालन तथा व्यवस्थापन हुँदै आएको छ । बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनका लागि ०८० साउन ८ मा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान भएको थियो । बोलपत्र प्रक्रियामा ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी र न्यू नेपाल ढुवानी सेवा सहभागी भएका थिए । सहभागी दुई वटा कम्पनीहरुमध्ये मूल्यांकन प्रक्रियाबाट ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी छनोट भएको समितिले जनाएको छ ।

चोभार बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन गर्न बल्खु-दक्षिणकाली सडक खण्डको कीर्तिपुरस्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्यद्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाइनु पर्ने समितिले जनाएको छ । समितिका अनुसार निजगढ-काठमाडौं द्रुतमार्ग सम्पन्न गरी सञ्चालन गर्दा मात्रै चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।