काठमाडौं । अभिनेता पल शाह माथि लागेको करणी मुद्दामा पीडित नाबालिगका बुबाले समेत बयान फेरेका छन् । यसरी पीडित नाबालिगले समेत बयान फेरिेकी थिइन् । तनहुँ जिल्ला अदालतमा मंगलबार भएको बकपत्रमा पीडितका बाबुले ‘छोरीले भनेअनुसार नै हो मलाई अरु केही थाहा भएन’ भन्ने बयान दिएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुंवरलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । यसअघि सरकारी वकिलसमक्ष बुबाले समेत करणी भएको बयान दिएका थिए ।
बुबाले यसअघि दिएको बयानभन्दा अदालतमा फरक बयान दिएका हु्न् । नाबालिगका बुबाले जबर्जस्ती करणी नभएको र आफुले पछि मात्र यसबारे थाहा पाएको बताएका हुन् । नाबालिग पीडितले बकपत्रमा बयान फेरेपछि उनका बाबु पनि ‘होस्टाइल’ भई बकपत्रका क्रममा जबर्जस्ती करणी नभएको भनेर बयान दिएका छन् ।
नाबालिगलाई जबर्जस्ती करणी गरेको भन्दै गत फागुन ११ गते उनका बुबाले प्रहरी कार्यालय तनहुँमा शाहबिरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गराएका हुन् । चैत १० मा जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको एकल इजालसले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।