जथाभावी सवारी पार्किङ गर्ने विरुद्ध प्रहरी कारवाही तिब्र

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा जथाभावी पार्किङ गरी सवारी जाम बढाउन भूमिका खेल्ने चालकविरुद्ध कारवाही तिब्र बनाएको छ ।

प्रहरीले ठूलाबडा र कानून पालना गराउने व्यक्तिहरुका समेत गाडीमा लक लगाउँदै अहिले कारवाहीलाई तिब्र बनाएको हो ।

प्रहरीले पछिल्लो ८ महिनामा निषेधित क्षेत्रमा सवारी पार्क गरि राखेका ५ हजार सवारी साधनलाई कारवाही गरेको जानकारी दिएको छ ।

कारवाहीमा पर्ने अधिकांश निजी सवारी साधनका चालक छन् । सामान्यतया निजी सवारी साधन चालक चढेलेखेका, कामकाजी र शिक्षित वर्ग मानिन्छन् ।

नेपालमा कानून उल्लंघन गर्नेमा उनीहरु नै अगाडी रहेको तथ्यांक छ । निजी प्रयोजनका कार, जिप, मोटरसाइकलले बढी नियम उल्लंघन गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

सरकारले बाटो बिस्तार गर्दा सर्वसाधारणका घर भत्काएको थियो । घर भत्काएर बिस्तार गरेको बाटोमा धनीमनी मानिसले सवारी पार्क गरेर राखेपछि सर्वसाधारण आक्रोसित हुँदै आएका छन् ।

जनताबाट व्यापक गुनासो आएपछि निषेधित क्षेत्रमा पार्किङ गर्ने सवारी चालक विरुद्ध कारवाही तिब्र बनाएको प्रहरीको भनाई छ ।

पछिल्लो समय सर्वसाधारणले जथाभावि पार्किङ गरेका र ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनको फोटो, भिडियो खिचेर समेत प्रहरीलाई दिने गरेका छन् । यसबाट पनि कारवाही गर्न सहयोग पुगेको प्रहरीको भनाई छ ।