काठमाडौं । नेपालको धनुषा कुर्थादेखि भारतको जयनगरसम्म चल्ने ३५ किलोमिटर रेलखण्ड भारतले नेपाललाई हस्तान्तरण गरेको छ। यससँगै एक वर्षदेखि जनकपुर आइपुगेर थन्किएको रेल शीघ्र सञ्चालनको बाटो खुलेको छ । नेपालले किनेर पनि एक वर्षभन्दा बढी समयदेखि रेल सञ्चालन गर्न सकेको छैन । अन्तर्देशिय उक्त रेलखण्ड नेपालको स्वामित्वमा नआएका कारण नेपालले रेल चलाउन सकेको थिएन ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म निर्माणाधीन ६९ किलोमिटर रेलमार्गको एउटा खण्ड हस्तान्तरण गरिएको छ । उक्त पूरा खण्डका लागि भारत सरकारको ८.७७ अर्ब रूपैयाँ अनुदान प्रतिबद्धता प्राप्त भएको छ ।
काठमाडौंस्थित भारतीय दूतावासले ऐतिहासिक शहर जनकपुर हुँदै जाने यस रेलमार्गले भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने उल्लेख गरेको छ । अबको केही समय भारतबाटै रेल चालक सहितका मुख्य प्राविधिक ल्याएर रेल सञ्चालन गरिने भएको छ ।