जनगणनामा सत्य विवरण टिपाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । आजबाट देशभर १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । देशभर ४० हजारको संख्यामा गणक खटिँदैछन् । उनीहरुले करीव ७० लाख घरमा पुगेर ३ करोड हाराहारी जनसंख्याको विवरण टिपोट गर्नेछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनामा सत्य विवरण टिपाएर सहयोग गर्न आह्वान गरेका छन् । घरघरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन उनले आग्रह गरेका हुन् ।

राष्ट्रिय जनगणना सुरूवात भएको अवसरमा बिहीबार भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्रीले सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा सहयोग गर्न सबैमा अपिल गरे । उनले गणकले सोधेका प्रश्नहरूको सही जवाफ दिन पनि आग्रह गरेका छन् भने सूचना गोप्य रहने पनि बताए । आजबाट शुरु हुने जनगणनाको काम १५ दिनसम्म चल्नेछ । यस अभियानका दौरान कुल ४ अर्ब रुपैयाँ बजेट खर्च हुनेछ ।