काठमाडौं । केही दिन अगाडी प्रचण्डले नेतृत्व गरेको जनयुद्धलाई कुहिएको संज्ञा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भने जनयुद्ध र त्यसमा सहभागी भएका योद्धाको खुलेर प्रसंशा गर्न भ्याएका छन् । जनमुक्ति सेना नेपाल र बहिगर्मित बाल सेनाको नेतृत्वसँग शनिबार भेट गर्दै उनले जनयुद्धमा लडेका लडाकुको प्रसंशा गरेका हुन् ।
उनले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने बताउँदै उनीहरुका सबै माग पुरा गर्ने आश्वासन समेत दिएका छन् । राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने र विगतमा जस्तो धोका नदिने बताएपछि पूर्व लडाकुका संगठनले ओलीलाई साथ दिने समेत भएका छन् ।
यसअघि शुक्रबारको सभामा आफ्ना लडाकुलाई प्रधानमन्त्रीले हेर्ने सम्बन्धमा कटाक्ष गरेका थिए । प्रधानमन्त्री ओलीले आन्दोलनका घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय भइसकेको बताएका थिए । सहिद परिवारलाई एक घर एक रोजगारीको आश्वासन समेत उनले दिएका छन् ।
वेपत्ताको अवस्था सार्वजनिक, संक्रमणकालीन न्यायका बाँकी काम छिटो टुंग्याउनुपर्नेलगायत मागमा पनि प्रधानमन्त्री ओली सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।