कुवेत । एएफसी एसियन कप छनोटमा जन्मदेश कुवेतविरुद्धको खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रशिक्षक अल्मुताइरीलाई उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो ।
डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल ।’ उनले भोलिबाट पुनः काममा फर्कने बताउँदै पराजयका लागि क्षमा मागेका छन् । दोस्रो हाफको सुरु भएलगत्तै अल्मुताइरी नेपालको टेक्निकल एरियामा बेहोस भएका थिए । लगत्तै मेडिकल टिमले उनलाइ स्ट्रेचरमा राखेर अस्पतालतर्फ लैजाँदै गरेको दृश्य प्रत्यक्ष प्रशारणमा देखाइएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मुखमा अक्सिजन मास्क लगाइएको थियो ।
नेपालले कुवेतसँग पहिलो हाफमा १ गोल खाएको थियो । कुवेतकै नागरिक रहेका अल्मुताइरी पहिलो हाफमा रेफ्री र फोर्थ अफिसियलसँगको विवादमा तनावमा देखिएका थिए । त्यसबापत उनलाई पहेलो कार्डसमेत देखाइएको थियो । पहिलो खेलमा जोर्डनसँग २(० ले हारेको नेपालले कुवेतसँगको यो खेल ४–१ गोलअन्तरले गुमाएको छ ।