जबर्जस्ती धर्म परिवर्तन गराएको अभियोगमा पास्चरमाथि दुई वर्ष जेल

डोल्पा । धर्म परिवर्तन गराएको अभियोगमा डोल्पा जिल्ला अदालतले पास्चर केशवराज आचार्यलाई दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलबार न्यायाधीश केशवराज चपाईको एकल इजलासले केशवराज आचार्यलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सुनाएको हो। डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ की एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै सो सजाय सुनाएको हो ।

पास्चर आचार्य गत वर्ष चैत ११ गते पोखराबाट पक्राउ परेका थिए। उनले आफ्नो चर्चमा भेला गरी अफवाह फैलाएको अभियोग लागेको थियो । यशुले कोरोना भाइरस निको पारिदिने भन्दै अफवाह फैलाएको विषय टिकटकमा भाइरल भएपछि उनी पक्राउ परेका थिए ।