जब अमेरिकी सैनिकले चीनलाई सैन्य सूचना बिक्रि गरेको स्वीकार गरे

काठमाडौं । संयुक्त राज्य अमेरिकाको सेनामा कार्यरत एक विश्लेषकले गोप्य सैन्य सूचनाहरू चीनलाई बिक्री गरेको दोष स्वीकार गरेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ। सङ्घीय जाँच ब्यूरो एफबीआई र अमेरिकी सेनाको प्रतिगुप्तचरी निकायले गरेको एउटा अनुसन्धानपछि सार्जन्ट कोर्बेन शूल्ट्स गत मार्च महिनामा पक्राउ परेका थिए। सुरक्षासम्बन्धी दर्जनौँ संवेदनशील जानकारीका लागि उनले ४२,००० अमेरिकी डलर लिएको आरोप उनीमाथि लागेको थियो।


अधिकारीहरूका अनुसार गोप्य सूचना बेच्ने आपराधिक षड्यन्त्र जुन २०२२ मा सुरु भई उनी पक्राउ नपर्दासम्म चलिरहेको थियो। आगामी ज्यानुअरीमा उनलाई सजाय सुनाइने छ। अदालतमा प्रस्तुत दस्ताबेजहरूका अनुसार निकै गोप्य सूचनामा पहुँच भएका शूल्ट्सले हङ्‌कङमा बस्ने भन्ठानिएका एक व्यक्तिसँग मिलेर डेटा सङ्कलन गर्ने षड्यन्त्र बनाएका थिए। ती दोस्रा व्यक्तिले शूल्ट्सलाई क्षेप्यास्त्र प्रतिरक्षा र एकठाउँबाट अर्को ठाउँमा लैजान मिल्ने आर्टिलरी प्रणालीबारे संवेदनशील जानकारी भेला पार्न अह्राएको अदालतमा पेस गरिएका दस्ताबेजमा भनिएको छ।

शूल्ट्सले अमेरिकी लडाकु विमान, सैन्य रणनीति र युक्रेनमा जारी युद्धका आधारमा ताइवानको सन्दर्भमा अमेरिकी सेनाले बनाएको प्रतिरक्षात्मक रणनीतिबारे पनि सूचना सङ्कलन गरेका थिए। संयुक्त राज्य अमेरिकाभन्दा बाहिर बस्ने कुनै व्यक्तिलाई देशको प्रतिरक्षासम्बन्धी सूचना पठाएर प्रतिवादीले हाम्रो सेनाले उनीप्रति राखेको विश्वासको फाइदा उठाउँदै हाम्रो राष्ट्रिय सुरक्षालाई गम्भीर जोखिममा पारे, अमेरिकी न्याय मन्त्रालयको राष्ट्रिय सुरक्षा विभागका सहायक महान्यायाधिवक्ता म्याथ्यू ओल्सनले भने।

शूल्ट्सले आफूविरुद्ध लागेका सबै अभियोग मङ्गलवार स्वीकार गरेका हुन्। उनीविरुद्ध रक्षासम्बन्धी सूचना प्राप्त गर्ने र खुलाउने षड्यन्त्र गरेको र सार्वजनिक पदमा रहेर घुस लिएको अभियोगहरू पनि थिए। अभियोगपत्रमा शूल्ट्सले हङ्‌कङमा बस्ने भन्ठानिएका व्यक्तिलाई पठाएका सन्देशहरू विस्तारपूर्वक समाविष्ट छन्। ती दोस्रा व्यक्तिलाई षड्यन्त्रकारी ए भनिएको छ।

एउटा सन्देशमा शूल्ट्सले आफू जेसन बोर्न बन्न पाए हुन्थ्यो भनेका छन्। जेसन बोर्न काल्पनिक जासुस हुन्। थप पैसा पाउने आश्वासन पाएपछि शूल्ट्सले अर्को सन्देशमा भनेका थिए, त्यो सत्य होस्, मैले आफ्नो अर्को बीएमडब्ल्यू फिर्ता ल्याउनु छ । एफबीआई र अमेरिकी सेनाको ुकाउन्टरइन्टेलिजन्स कम्यान्डुले उक्त घटनाबारे अनुसन्धान जारी राखेको छ।
बीबीसीको सहयोगमा