काठमाडौं । गत जुन महिनामा दक्षिणी भारतीय राज्य केरलाका ११ जना महिला सफाइ मजदुरहरूले संयुक्त रूपमा चिट्ठाको टिकट किन्न पैसा उठाए। गत साता आफ्नो समूहले १० करोड भारतीय रुपैयाँ बराबरको रकम जितेको थाहा पाउँदा उनीहरूको खुसीले सीमा नाघ्यो।
उनीहरू मलप्पुरम जिल्लाको परप्पान्नगडी सहरका घरहरूबाट नकुहिने फोहोर सङ्कलन गर्छन्। सामान्यतया नगरवासीले प्रत्येक महिना तिर्ने शुल्कबाट उनीहरूले दैनिक २५० रुपैयाँजति ज्याला पाउँछन्। कहिलेकाहीँ स्थानीय निगमले ती महिलाले जम्मा गरेर छुट्ट्याएको फोहोर बेच्छ र सङ्कलित रकमको केही अंश उनीहरूलाई पनि दिन्छ।
तर त्यो रकम जीविकोपार्जनका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ। अधिकांश महिलाले छोराछोरी पढाउन र अन्य खर्चका लागि ऋण लिएका छन्।
भाग्योदय हुने आशामा उनीहरूले कहिलेकाहीँ मिलेर चिट्ठा किन्दै आएका थिए। धेरै भारतीय राज्यहरूमा चिट्ठा अवैध छ। केरलामा पनि निजी चिट्ठा कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ। तर राज्य सरकार स्वयंले एउटा अत्यधिक लोकप्रिय कार्यक्रम सञ्चालन गर्दै आएको छ।
“एक पटक हामीले १,००० रुपैयाँको पुरस्कार जितेका थियौँ। त्यो रकम हामीले बाँडेका थियौँ,” समूहका लागि प्रायः टिकट खरिद गर्ने राधा भन्छिन्। गत महिना उनीहरूको समूहले २५० रुपैयाँ पर्ने मनसुन बम्पर पुरस्कारको चिट्ठा (विशेष अवसरहरूमा जारी गरिने चिट्ठा)ं खरिद गर्ने निर्णय गर्यो।
त्यसका लागि राधाले पैसा उठाउँदा आफूसँग पर्याप्त नगद नभएकाले आफूलाई दुःख लागेको ७२ वर्षीया कुट्टीमालु बताउँछिन्। “चेरुमानिल बेबी (समूहको अर्की सदस्य) सँग २५ रुपैयाँ रहेछ। उनले टिकट खरिद गर्नकै लागि आफूसँग भएको पैसाको आधा हिस्सा मलाई दिइन्,” उनले भनिन्।
यसरी समूहका दुई महिलाले १२ रुपैयाँ ५० पैसा र बाँकी नौ जनाले प्रतिव्यक्ति २५ रुपैयाँ हालेर टिकट लिएका हुन्। “केही जितेको खण्डमा सबैलाई दामासहीले भाग लगाउने कुरामा हामी सहमत थियौँ,” कुट्टीमालुले भनिन्। हामीले यति ठूलो रकम जित्ने आशा गरेका थिएनौँ।“ विजेता घोषणा भएको भोलिपल्ट एक महिलाले आफ्ना पतिलाई नतिजा हेरिदिन आग्रह गरेपछि मात्र उनीहरूले आफ्नो समूहलाई चिट्ठा परेको थाहा पाए।
“बम्पर पुरस्कारका लागि टिकट किनेको यो चौथो पटक हो,” राधाले भनिन्, अन्ततः हामी भाग्यमानी ठहरियौँ।” उमेरले ६२ पुगेकी बेबीलाई आफ्नो समूहले त्यति ठूलो धनराशि जितेको पत्याउन निकै गाह्रो भयो। “मलाई भाग्यले कहिले पनि साथ दिएको थिएन,” उनले भनिन्। सन् २०१८ मा केरलामा आएको बाढीले उनको घर बगाएको थियो। अब उनले नयाँ घर बनाउने र ऋणमुक्त हुने योजना बनाएकी छन्।
समूहका अन्य महिलाहरूको कथा पनि उस्तै छ। मिर्गौलाले काम नगरेपछि गत वर्ष ५० वर्षीया के बिन्दुका पति बिते। अङ्ग प्रत्यारोपणका लागि उनीहरूसँग पैसा थिएन। “मेरा पति डाइयालसिसका लागि राखेको पैसाले चिट्ठाको टिकट किन्थे,” उनले भनिन्। “उनले हाम्रो घरको निर्माण कार्य पूरा नगरी हामीलाई छोडेर गए। अब त्यो मैले पूरा गर्नुपर्छ।”
बिन्दु आफ्नी १५ वर्षीया छोरीलाई पढाउनमा पैसा खर्च गर्न चाहन्छिन्। पढाउन सके छोरीले राम्रो जागिर पाउन सक्ने उनले ठानेकी छन्। चिट्ठा जित्नुभन्दा अघिल्लो रात ४९ वर्षीया लक्ष्मीको परिवार आफ्नो भविष्यबारे चिन्तामा थियो।
केरलाभरि ठूलो वर्षाका कारण निर्माण क्षेत्रमा ज्यालादारी मजदुरी गर्ने उनका पतिलाई काम पाउन मुस्किल भइरहेको थियो। अब छोरीको पढाइ खर्च जुटेकोमा यो दम्पतीले केही राहत महसुस गरेका छन्। लीलालाई भने आफ्नी छोरीको शल्यक्रियाका लागि खर्च जोहो गर्न धौधौ परेको थियो।
‘मैले यसअघि नै घर धितोमा राखेर ऋण लिएकी थिएँ, उसैको विवाहका लागि,’ ५६ र्षीया लीलाले भनिन्। सरकारलाई तिर्नुपर्ने कर कटौती भएपछि उक्त समूहले कुल छ करोड ३० लाख रुपैयाँ प्राप्त गर्ने छ। बेबी र कुट्टीमालुले संयुक्त रूपमा र अरूले जनही ६३ लाख रुपैयाँ हात पार्ने छन्।
बेबी र कुट्टीमालुले पाएको रकम बराबर भाग लाग्ने छ। यी महिलाहरूले फोहोर सङ्कलन गर्नुबाहेक सार्वजनिक शौचालय बनाउन र फोहोर फाल्ने संरचनाहरू निर्माणमा पनि सघाउने गरेको सुचितवा मिशनका निर्देशक केटी बालाभाष्करन बताउँछन्। यो राज्यभरि यस्ता कार्यको समन्वय गर्ने संस्था हो।
शुक्रवार अर्थात् जीवन परिवर्तन गर्ने रकम जिते दिनको भोलिपल्ट यी एघारै महिला आफ्नो काममा फर्किए। “हामीले एउटा निर्णय गर्यौँ,” लीलाले भनिन्। ‘हामी यो काम छोड्ने छैनौँ किनकि यही सामूहिक कामले हाम्रो जीवनमा समृद्धि ल्याइदियो।’
BBC Nepai