काठमाडौं\बीबीसी । उत्तरी जर्मनीको ह्याम्बर्गमा भएको बन्दुक आक्रमणमा कैयौँ मानिस मारिएका छन्। ‘जहोभस विटनेस’ इसाई अभियानकर्मीहरूको बैठक कक्षमा गोली चलाउने बन्दुकधारी पनि घटनामा मारिएको हुनसक्ने प्रहरीले बताएको छ। जर्मन सञ्चार माध्यमका अनुसार छ वा सात जना मृतकमध्येमा बन्दुकधारी पनि रहे वा नरहेको प्रस्ट छैन। “घटनाको उद्देश्य अझै यकिन हुन सकेको छैन,” प्रहरीले भनेको छ। ह्याम्बर्गकै अर्को स्थान ग्रस ब्रोस्टलमा भएको गोली प्रहारमा पनि केही मानिसहरू घाइते भएका छन्।
प्रहरी प्रवक्ता होल्गर भेरेनले “गोली चलाउने व्यक्ति पनि त्यही भवनमा रहेको र मृतकमध्ये एक हुनसक्ने” समाचार संस्था एपीलाई बताएका छन्। उनका अनुसार घटनामा प्रहरीले हतियार प्रयोग गर्नुपर्ने आवश्यकता परेको थिएन। प्रहरीले भवनको माथिल्लो तलामा गोली चलेको आवाज सुनेको भेरेनले बताएका छन्। उनका अनुसार घटनामा संलग्न व्यक्ति भागेर गएका थिएनन्। प्रहरीले केही घाइतेहरूलाई अस्पताल लगिएको बताएको छ। घटनामा घाइते भएकाहरूलाई अस्पताल लगिएको बताइए पनि घाइतेहरूको सङ्ख्या र उनीहरूको अवस्थाबारे विवरण सार्वजनिक भएका छैनन्
घटनाबारे सूचना दिने एपमा स्थानीय समय अनुसार राती नौ बजे स्थानीयले “एक जना वा धेरै जनाले चर्चमा मानिसहरूमाथि गोली प्रहार गरिरहेको” जानकारी गराएका थिए। प्रहरीले स्थानीय क्षेत्रमा मानिसहरूलाई प्रहरी कारबाही नसकिएसम्म घरबाट बाहिर ननिस्किन भनेको छ। घटनास्थलमा लिइएका भिडिओहरूमा प्रहरी सुरक्षामा हलबाट मानिसहरूलाई बाहिर निकालिँदै गरेको र कतिपयलाई एम्बुलेन्समा लगेको देखिन्छ।
ह्याम्बर्गका आन्तरिक मामिला मन्त्री एन्डी ग्रोटले ट्विट गर्दै प्रहरीको विशेष फौज र ठूलो सङ्ख्यामा अधिकारीहरू घटनास्थलमा परिचालन गरिएको बताएका छन्। प्रहरीले सर्वसाधारणलाई घटनाको अनुमानबारे सार्वजनिक अभिव्यक्ति नदिन र हल्ला नफैलाउन अपिल गरेको छ। ुजहोभस विटनेसेसु इसाई धार्मिक अभियानकर्मीहरू हुन्। न्यूयोर्कमा मुख्यालय रहेको यो अभियानको स्थापना १९औँ शताब्दीको अन्त्यतिर अमेरिकामा भएको थियो।