लण्डन । जर्मनीले कोभिड १९ को बढ्दो संक्रमणका कारण लगाएका प्रतिवन्ध हटाउने भएको छ । बीबीसीका अनुसार बेलायत, नेपालसहित अन्य तीन राष्ट्रका यात्रुमा लगाएको प्रतिबन्ध अब हट्नेछ । पोर्चुगल, रुस र भारतका नागरिकहरूमा समेत यो नियम लागु हुने र प्रतिबन्ध बुधवारबाट हट्ने बीबीसीले जनाएको छ । पूर्ण रूपमा खोप प्राप्त गरिसकेका मानिसहरू जर्मनी पुगेपछि क्वारन्टीन बस्नु पर्ने छैन ।
खोप नलगाएका मानिसहरूले भने १० दिनसम्म क्वारन्टीनमा बस्नुपर्ने नियम बनाइएको छ । उनीहरूले पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा नेगेटिभ आए क्वारन्टीनबाट बाहिरिन पाउने छन्। जर्मनीका नागरिक र बासिन्दाहरूमाथि प्रतिबन्ध लागु नगरिएको भए पनि उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था भने थियो ।
यी पाँच राष्ट्रहरूलाई सङ्क्रमितहरूको सङ्ख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरि निगरानी भने जारी राखिने भएको छ । उता, बेलायतले समेत अब मानिसहरुमाथिको प्रतिवन्ध र मापदण्डहरु क्रमशः खुकुलो बनाउँदैछ । आगामी दुई सातामा बेलायतमा सामाजिक दुरी कायम गर्ने र मास्क लगाउनुपर्ने नियम हटाउने तयारी छ ।