काठमाडौं । जर्मनी र फ्रान्सले नेपालबाट आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरी लैजाने भएका छन् ।
जर्मनीले शुक्रबार र शनिबार कतार एयरवेजको जहाज चार्टर्ड गरी नेपालमा फसेका पर्यटक लैजान लागेको हो ।
फ्रान्सले पनि चार्टर्ड जहाज ल्याउने तयारी गरिएको छ । सोहीकारण बिहीबार पोखरा तथा लुक्लामा रहेका विदेशी नागरिकलाई धमाधम काठमाडौं ल्याइयो ।
पोखराबाट करीव १ सय पर्यटक र त्यति नै संख्यामा लुक्लाबाट पनि पर्यटकलाई काठमाडौं ल्याइएको छ ।
पोखरामा ५ सय र लुक्लामा ३ सय पर्यटक नेपाल लकडाउनका कारण फसेका छन् । सरकारले सम्बन्धित मुलुकले चार्टर्ड गरेर लैजाने पर्यटकलाई पहिलो प्राथमिकता दिएर काठमाडौं ल्याइरहेको छ ।
अन्य पर्यटकलाई भने सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्नेछन् ।
लकडाउनका कारण आवतजावत बन्द भएपछि सयौं पर्यटक जहाँको तही फसेका हुन् । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मंगलबारबाट एक साता लकडाउन घोषणा गरेको छ । जसले गर्दा आवतजावत बन्द भएको हो ।