काठमाडौं । यूरोपका दुई मुलुक जर्मनी र बेल्जियममा बाढीले वितण्डा मच्याएको छ । यहाँ अत्यधिक वर्षापछि आएको बाढीका कारण नदीमा बहाव बढेको र यसले कम्तीमा ७० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । समाचार अनुसार धेरै क्षति जर्मनीमा भएको छ। बेल्जियममा कम्तीमा ११ जनाको मृत्यु भएको खबर छ । दर्जनौं मानिस वेपत्ता छन् ।
जर्मनीको राइनल्यान्ड पलाटि नट र नर्थ राइन वेस्ट फेलिया प्रान्तले बाढीको सबैभन्दा भयावह मार खेप्नुपरेको समाचारमा उल्लेख छ । नेदरल्याण्ड्समा समेत प्रभाव परेको छ। शुक्रवार उक्त क्षेत्रमा झन् धेरै पानी पर्ने पूर्वानुमान गरिएको सरकारी संयन्त्रले सूचित गरेका छन् । यूरोपमा आएको विनासकारी बाढीलाई भने जलवायु परिवर्तनका कारण भएको भनिएको छ ।
हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एंगेला मर्केलले राष्ट्रपति जो बाइडनसँग भेट गर्नुअघि उक्त बाढीलाई विपद्को संज्ञा दिएको समेत बीबीसीले लेखेको छ । जर्मनीका प्रभावित क्षेत्रहरूमा फसेकाको उद्धार गर्न प्रहरीको हेलिकोप्टर र सयौँ सेना परिचालन गरिएको छ।
