जवाद चक्रवातका कारण नेपालमा वर्षा र हिमपात

AFP Photo/File/Representative use

काठमाडौं । बंगालको खाडीबाट उत्पन्न भएको जवाद चक्रवात आज भारतका विभिन्न राज्यमा टकराउँदैछ । चक्रवातले नेपालमा पनि प्रभाव देखाउन शुरु गरेको छ । आजबाट मौसम सफा हुने भनिएको थियो । तर, चक्रवातका कारण देशभर बदली भई वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको मध्यपश्चिम भूभागमा सामुद्रिक चक्रवात बनेको हो ।

चक्रवातका कारण प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भु–भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । एक–दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ । जवाद चक्रवातको असर आउँदो सोमबारबाट क्रमशः नेपालमा कम हुँदै जाने समेत विभागले जनाएको छ ।