जसपाका चार सांसदले छाडे ठाकुर-महतो गुट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले महन्त ठाकुर र राजेन्द्र महतो गुट छाडेका छन् । उनीहरु अब अध्यक्ष उपेन्द्र यादव तथा बाबुराम भट्टराई पक्षमा समावेश भएका छन् । अदालतले संसद विघटनलाई असंवैधानिक भनेसँगै यसअघि ठाकुर र महतो पक्षमा लागेका चार सांसदले कित्ता परिवर्तन गरेका हुन् ।

शनिबार पार्टी कार्यालय, बालकुमारीमा बसेको संसदीय दलको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका छन् । ठाकुर पक्षका यी नेता शुक्रबार पार्टी कार्यालयमा भएको छलफलमा भने अनुपस्थित भए । अब ३२ सदस्यीय संसदीय दलमा दुवै पक्षको १६, १६ सांसद भएको छ । ठाकुर पक्षका थप केही सांसद यादव पक्षमा आउने दावि नेताहरुले गरेका छन् ।

यसले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त गर्न अझ सहज हुने छ । महतो र ठाकुर पक्ष भने ओलीको कदमको समर्थन गर्दै सरकारमा सहभागी भएको थियो । तर, उनीहरुको मन्त्री पदलाई अदालतले असंवैधानिक मानेसँगै मन्त्रीपद गुमेको थियो ।