जसपाको चुनावी घोषणापत्र: भ्रष्टाचार गरे तुरुन्तै कारबाही, महानगरमा नगररेल, पालिकामा चक्रपथ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।

स्थानीय तह, संघीय शासन प्रणालीको प्राथमिक र महत्त्वपूर्ण आधार भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रले निर्दिष्ट गरेका लक्ष्य तथा उद्देश्य हासिल गर्न सबल, सक्षम, सुदृढ र सुशासित स्थानीय तह अपरिहार्य भएको घोषणापत्रमा उल्लेख गरेको छ।

घोषणापत्रमा भनिएको छ, ‘वडा र पालिका कार्यालयहरूलाई सेवाग्राही मैत्री बनाइनेछ । कार्यालयमा सेवा लिन आउँने जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिनेछ ।

यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिनेछ। कार्यालयलाई आधुनिक प्रविधियुक्त बनाइनेछ । आवश्यक सबै कर्मचारीलाई न्युनतम कम्प्युटर शिक्षाको तालिम दिइनेछ।’

सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्टाचार गरेमा, प्रमाण भेटिएमा तुरुन्त कानुनी कार्वाही गर्ने उल्लेख गरेको छ। स्थानीय न्याय प्रक्रियालाई चुस्तदुरुस्त बनाइ स्थानीय तहको कार्यक्षेत्रभित्र पर्ने न्यायिक मेलमिलाप तथा मध्यस्थतासम्बन्धी प्रक्रिया पारदर्शी, तटस्थ र निष्पक्ष बताउने बताएको छ।

पार्टीले हरेक पालिकामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने विभिन्न योजनासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

‘पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरुलाई सडकसँग जोडिने छ। सडकहरुको गुणस्तर सुधार गर्दै लगिने छ। सबै पालिकाहरुमा एक बसपार्क बनाइने छ। महानगरहरुमा नगररेल सेवा विकासको सम्भावनाबारे अध्ययन गरिने छ,’ घोषणापत्रमा भनिएको छ ।

शुद्ध पिउने पानीको सुविधा नपुगेका घरबस्तीमा खानेपानी सुविधा पुर्‍याइने प्रतिबद्धता पनि घोषणापत्रमा व्यक्त गरिएको छ। त्यस्तै सबै गाउँपालिकाहरुको विस्तृत भू–उपयोग योजना र नपा/उपनपा/मनपाहरुको गुरु योजना तयार गरी क्रमशः लागू गरिने जसपाको योजना छ। आगामी ५० वर्षसम्मको जनघनत्व पूर्वानुमान गरी आधुनिक सहरी केन्द्र, आर्थिक कोरिडोर तथा औधोगिक क्षेत्र विकास गर्ने नीति लिइने भनिएको छ।