जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा संसदीय दलको नेता उपेन्द्र यादव चयन भएका छन्। शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो। बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा यादव दलको नेतामा चयन भएका हुन् । संसदीय दलको बैठकमा २२ जना सांसद उपस्थित थिए । २० जना प्रतिनिधिसभाका र २ जना राष्ट्रिय सभाका सांसदले यादवलाई नेता चयन गरेको हो । भट्टराई र यादव पक्षले आधिकारिकता पाएसँगै जसपाले संसदीय दलको नेता चयन गरेको हो ।