काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीकालमा मुस्किलले आधा दर्जन पटक मात्र सरकारी कार्यालय टेकेका छन् । सबै कामकाज उनले सरकारी निवास वालुवाटारबाटै गरे । सरकारी कामबाहेक उनले पार्टीका हरेक बैठकहरु समेत सरकारी निवासमै डाके । सोहीकारण उनीमाथि सरकारी निवासलाई पार्टी कार्यालय बनाएको आरोप समेत लाग्छ । उनले जाँदा जाँदै नेकपा एमालेको स्थायी कमिटीको बैठक समेत आज बालुवाटारमै बोलाएका छन् ।
दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि बैठक बोलाइएको छ । आजको बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलबीच भएको १० बुँदे सहमतिलगायतका विषयमा छलफल हुने भएको छ । आज पार्टीको आधिकारिक धारणा समेत सार्वजनिक गर्ने तयारी छ ।
आजको बैठकमा माधव नेपाल पक्षसमेत सहभागी हुने बताइएको छ । सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र विघटटित प्रतिनिधिसभालाई पुनःस्थापित गर्न परमादेश जारी गरेसँगै ओलीको राजनीतिक भविश्य भने अन्यौलमा छ ।