जाजरकोटमा गोठालो जाँदा तीन दिनअघि हराएका सात जना अझै भेटिएनन्

file photo

जाजरकोट । जाजरकोटमा तीन दिन देखि वेपत्ता ७ जना अझै भेटिएका छैनन् । गाईभैँसी र बाख्रा चराउन जाजरकोटको जलजला पाटनमा पुगेका उनीहरु वेपत्ता छन् । तर, प्रतिकुल अवस्थाका कारण खोजि हुन नसकेको बताइएको छ । राससका अनुसार उनीहरू मंगलबारदेखि सम्पर्कविहीन भएका हुन् ।

कुशे गाउँपालिका औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र ४० वर्षीय कृष्ण रोकाय वेपत्ता छन् । बेपत्ता भएका उनीहरूको खोजीका लागि प्रहरी र स्थानीयलाई घटनास्थलतर्फ गएको छ ।

तर, लेक लाग्ने समस्याका कारण टोली नपुगिसकेको बताइएको छ । यो टोलीमा रहेका ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गङ्गा खड्का भने सम्पर्कमा आएका छन्।


जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको अवस्थामा भेटिएको प्रहरीलाई उदृत गर्दै राससले लेखेको छ । बुधबार बिहान घटनाबारे जानकारी आएपछि प्रहरी र स्थानीय घटनास्थलतर्फ लागेका थिए । घटनास्थल पुग्न पाँच घण्टाभन्दा बढी लाग्छ ।

बेपत्ताको उद्धारका लागि गृह मन्त्रालय, प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पत्राचार गरिएको छ। उद्धार टोली बिरामी पर्नुका साथै पानी, हावाहुरी समेत आएपछि घटनास्थल पुग्न नसकिएको हो । पाटन समुद्र सहतदेखि चार हजार ८०० मिटर उचाइमा छ।