जासुसी गरेको अभियोगमा एक चिनियाँ इन्जिनियरलाई अमेरिकामा ८ वर्ष जेल

काठमाडौं । जासुसी गरेको आरोप लागेका एक चिनियाँ इन्जिनियरले संयुक्त राज्य अमेरिकामा आठ वर्ष जेल सजाय पाउने भएका छन्। उनको मुद्दा चीनले अमेरिकाबाट उड्डयन क्षेत्रको व्यापारिक गोप्यता चोर्ने प्रयाससँग सम्बन्धित भएको अमेरिकाको दाबी छ। अमेरिकाको न्याय मन्त्रालयका अनुसार ३१ वर्षीय जी चाओचुनले काम दिन सकिने ठानेर केही वैज्ञानिक र इन्जिनियरहरूको पहिचान पनि गरेका थिए। उनी यूएस आर्मी रिजर्भ्समा भर्ती पनि भएका थिए।

त्यस क्रममा उनले आफूबारे ढाँटेका थिए। जीले चीनको एउटा गुप्तचर निकायको निर्देशनमा काम गरेको अमेरिकी अधिकारीहरूको दाबी छ। उनले विदेशी सरकारको जासुसका रूपमा काम गरेको ठहर गत सेप्टेम्बर महिनामा गरिएको थियो। त्यो क्रममा अमेरिकी महान्यायाधिवक्तालाई सूचना दिइएको थिएन।

उनलाई गुप्तचरी र अमेरिकी सेनालाई मिथ्या जानकारी दिएको अभियोग लगाइएको थियो। न्याय मन्त्रालयका अनुसार जी एक दशकअघि अमेरिकामा विद्यार्थी भिसामा आएका थिए। चीनको जियाङ्सु प्रान्तको सुरक्षा निकायलाई अमेरिकामा भएका आठ व्यक्तिलाई काम दिन सकिने सूचना पठाएको आरोप जीमाथि लागेको थियो। ती आठै जनाले चीन वा ताइवानबाट अमेरिका गएर पछि अमेरिकाको अङ्गीकृत नागरिकता लिएका थिए।

तीमध्ये केहीले अमेरिकी डिफेन्स कन्ट्र्याक्टरको रूपमा काम गरेका थिए। राष्ट्रिय हितका लागि महत्त्वपूर्ण सीप भएका विदेशी नागरिकलाई पनि अमेरिकी सेनामा भर्ती गर्ने एउटा योजनाअन्तर्गत जी सन् २०१६ मा यूएस आर्मी रिजर्भ्समा भर्ती भएका थिए। उनले आफ्नो आवेदन र अन्तर्वार्तामा विदेशी सरकारसँग विगत सात वर्षमा सम्पर्क नभएको भनेर ढाँटेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

जीलाई सन् २०१८ को सेप्टेम्बरमा पक्राउ गरिएको थियो। चीनको राज्य सुरक्षा मन्त्रालय ९एमएमएस०को प्रतिनिधिको छद्मभेषमा गएका एक अमेरिकी गुप्तचरलाई भेटेपछि उनी पक्राउ परेका थिए। अमेरिकी गुप्तचर निकाय वा नासामा काम गर्न चाहन्थे । ती गुप्तचरसँगका बैठकहरूमा जीले सैन्य परिचयपत्र लिएर आफू विमान बोक्ने वाहनहरूसम्म पुग्न सकेको र तिनको तस्बिर लिएको बताएका थिए।

अमेरिकी नागरिकता पाएपछि र सुरक्षा जाँचपछि अमेरिकी गुप्तचर निकाय सीआईए, एफबीआई वा नासामा आफूले जागिर खोज्ने उनले बताएका थिए। ती निकायमध्ये एउटामा साइबर सुरक्षासम्बन्धी काम गर्ने उनको उद्देश्य थियो। त्यो गर्दा त्यहाँ भएका वैज्ञानिक अनुसन्धानसहित सबै डेटाबेसमा उनले पहुँच पाउने ठानेका थिए। अमेरिकी अधिकारीहरूका अनुसार जीले चीनको एमएमएसका एक वरिष्ठ अधिकारीबाट आदेशहरू पाएका थिए। शू यान्जुन नामक ती गुप्तचर अधिकारीलाई मुद्दा चलाउन अमेरिका सुपर्दगी गरिएको थियो। उनी त्यसरी मुद्दा चलाउनकानिम्ति सुपुर्दगी गरिएका पहिलो चिनियाँ गुप्तचर अधिकारी हुन्।

अमेरिकी उड्डयन र एरोस्पेस कम्पनीहरूबाट व्यापारिक गोप्यता चोर्ने षड्यन्त्र गरेको अभियोगमा उनलाई गत वर्ष शूलाई २० वर्ष जेल सजाय सुनाइएको थियो। केही साताअघि जेनरल इलेक्ट्रिक कम्पनीमा कार्यरत एक कर्मचारी जङ शिआओचिङलाई आफ्नो कम्पनीको गोप्य सूचना चीन सरकारलाई उपलब्ध गराएको अभियोगमा दुई वर्ष जेल सजाय सुनाइएको थियो। गत वर्ष जुलाई महिनामा एफबीआईका निर्देशक क्रिस्टोफर रेले चीनलाई पश्चिमा देशका कम्पनीहरूबाट बौद्धिक सम्पत्ति ूलुट्नू खोजेको आरोप लगाएका थिए।

रेका अनुसार चीनले त्यसो गरेर आफ्नो औद्योगिक विकासलाई तीव्र गति दिन र अन्ततः महत्त्वपूर्ण उद्योगहरूमा आफ्नो प्रभुत्व कायम गर्न खोजेको थियो। चीनलाई बदनाम गर्न र ‘शीतयुद्धको मानसिकता’ का कारण रेले त्यसो भनेको आरोप चीनले लगाएको थियो। बीबीसी