काठमाडौं । जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ। यससँगै पार्टीको व्यापक आलोचना भएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको रौतहट कांग्रेसले जनाएको छ। यसको मतलव सो निर्वाचन क्षेत्रमा कांग्रेसले टिकट पाएमा उनी उम्मेदवार बन्ने निश्चित छ । उनलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो। आलम नख्खु जेलमा छन्।
उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो। उनी २०७४ मा रौतहट २ बाटै निर्वाचित भएका थिए। उनीमाथि २०६४ चैत २७ मा राजपुरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको अभियोग छ। स्थानीय शेख इद्रिसको घरमा बम बिस्फोट हुँदा त्यसबेला त्रिलोकप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो। उक्त घटनामा घाइते भएकाहरूलाई इँटाभट्टामा जिउँदै जलाइएको परिवारका सदस्यहरूले आरोप लगाउँदै आलममाथि किटानी जाहेरी दिएका छन् ।