काठमाडौं । गायन क्षेत्रको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का विजेता किरण गजमेरले भुटानी शरणार्थी शिविरका लागि एम्बुलेन्स खरिद गर्ने घोषणा गरेका छन्।
उनले प्राप्त गरेको २५ लाख रुपैयाँमा एक हजार रुपैयाँ आफ्नी आमालाई लगेर दिने र बाँकी रहेको पैसा र अन्य पैसा थपेर भुटानी शरणार्थीका लागि एउटा एम्बुलेन्स किन्ने घोषणा गरेका हुन्।
उनले पश्चिम नेपालका लागि पनि अर्को एम्बुलेन्स किन्ने घोषणा गरेका छन्।
गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को ग्रान्ड फिनालेमा उनले उपाधि जितेका हुन्।
शनिबार भएको फिनालेमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि चुमेका हुन्। उपाधिसँगै गजमेरले २५ लाख रुपैयाँ पाएका छन्।
काेच प्रमोद खरेलकाे टिमका गजमेर अमेरिकाबाट भ्वाइसमै भाग लिन भनेर नेपाल आएका थिए ।
झापाको खुदुनाबारी शिविरबाट उनी भुटानी शरणार्थीका रुपमा अमेरिका गएका थिए।
किरणका अलावा फाइनलमा टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले पुगेका थिए।