जिबिएनसी(GBNC)लाई निर्वाचन तयारीको चटारो

सुपेन्द्र बस्नेत, बोष्टन

अमेरिकाको म्यासाचुसेट्स राज्यमा बसोवास गर्ने प्रवासी नेपाली तथा नेपाली भाषीहरुको संगठन ‘ग्रेटर बोस्टन नेपाली सामुदय(GBNC-(Greater Boston Nepali Community) लाई यतिबेला निर्वाचन तयारीको चटारो परेको छ। विधान अनुसार प्रत्यक दुइ वर्षमा निर्वाचन गरी नयाँ कार्यसमिति चयन गर्नु पर्ने व्यवस्था भए अनुसार, वर्तमान कार्समितिको दुइ वर्षे कार्यकाल (२०२०-२०२२) सकिनै लागेकाले, आगामी कार्यकाल (२०२२-२०२४)का लागि नयाँ कार्यसमिति चयन गर्न निर्वाचन गर्नु पर्ने चटारो परेको हो। संस्थाले संस्थाको विधान अनुसार आगामी दुइ वर्षे कार्यकाल(२०२२-२०२४) का लागि नयाँ कार्यसमिति चयन गर्न विरोचन नेपालको संयोजकत्वमा, प्रेम तामाङ र भुवन गुरुङ सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेर निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिलाई पूर्ण जिम्मेवारी सुम्पिसकेको छ। सोही मुताबिक निर्वाचन समितिले पनि संस्थाको विधान अनुसार यही सेप्टेम्बर २५, २०२२ तारिखका दिन निर्वाचन सम्पन्न गर्ने भनी सूचना समेत जारी गरिसकेको छ। निर्वाचनको तयारी अन्तर्गत निर्वाचन समितिले निर्वाचन तालिका समेत सार्वजनिक गरेर आवश्यक तयारी थालिसकेको हो।

निर्वाचन समितिका संयोजक बिरोचन नेपालका अनुसार समितिले आफ्नो तयारीलाई तिब्रता दिएको छ। निर्वाचन तयारीका सम्बन्धनमा जानकारी दिदै संयोजक नेपालले भन्नु भयो, ‘संस्थाको विधान अनुसार निर्वाचन सम्पन्न गरेर संस्थाले दिएको जिम्मेवारी पुरा गर्नमा हामी निर्वाचन समिति प्रतिबद्ध छौं। त्यसका लागि आवश्यक तयारी समेत थालिसकेका छौं।’
निर्वाचन सम्पन्न गर्न आवश्यक चरण बद्ध तयारी अन्तर्गत निर्वाचन सम्बन्धि सूचना जारी गरिसकिएको र निर्वाचन कार्य तालिका समेत सार्वजनिक गरिसकिएको संयोजक नेपालले जानकारी दिनु भयो।

निर्वाचन समितिले तोके बमोजिम 594 Washington st, Braintree MA-02184 स्थित पशुपतिनाथ बुद्ध फाउन्डेशनको भवनमा निर्वाचन सम्पन्न गर्न कार्यसमितिले पनि आफ्नो तर्फबाट आवश्यक तयारी थालेको संस्थाका अध्यक्ष मिलन कुमार कार्कीले जानकारी दिनु भयो।

हुन गइरहेको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न म्यासाचुसेट्स वासी नेपाली, आप्रवासी नेपाली तथा नेपाली भाषी समुदायको सक्रिय सहभागिताको खाँचो अौल्याउदै अध्यक्ष कार्कीले सबैको सक्रिय सहभागिताका लागि अनुरोध गर्नु भयो। अधिवेशन मार्फत आगामी कार्यकालका लागि सक्षम नेतृत्वसहितको सक्रिय कार्यसमिति चयन गर्ने मात्र नभई, यो आपसी भाइचाराको सम्बन्धलाई अझ प्रगाढ, सामिप्य र कसिलो बनाउने सुवर्ण अवसर पनि भएको जिकिर गर्दै अध्यक्ष कार्कीले भन्नु भयो, ‘यो केवल औपचारिकताका लागि नयाँ कार्यसमिति बनाउने बेला मात्र नभएर, मुलभूत रुपमा संस्थालाई सही अर्थमा हाँक्न सक्ने सक्षम नेतृत्वसहितको सक्रिय कार्यसमिति चयन गर्ने सुवर्ण अवसर हो। जसमा संस्था र समुदायको भविश्य निर्भर हुनेछ।’
अध्यक्ष कार्कीले समुदाय बिचको आपसी एकता र सामीप्यतामा जोड दिदै थप्नु भयो, ‘त्यति मात्र हैन, यस अवसरले नेपालीहरुलाई एकताबद्ध बनाएर हामी बिचको आपसी भाइचाराको सम्बन्धलाई अझ सामीप्य, आत्मीय, प्रगाढ र कसिलो बनाउछ। त्यसैले निर्वाचन सही अर्थमा सफल बनाउन निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन सम्बन्धित सबैलाई अनुरोध गर्दछु।’

अधिवेशनको तयारीका सम्बन्धमा जानकारी दिदै अध्यक्ष कार्कीले भन्नु भयो, ’हामीले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न, निर्वाचन समिति गठन गरी जिम्मेवारी सुम्पिसकेका छौं। निर्वाचन समितिले आफ्नो काम सुरु गरिसकेको छ।’ निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न कार्य समितिले आफ्नो तर्फबाट पनि तयारी थालिसकेको जानकारी दिदै अध्यक्ष कार्कीले भन्नु भयो, ‘हामी पनि आवश्यक तयारीमा जुटिरहेका छौं। अहिले हामी अधिवेशनको प्रचार प्रसार गर्नमा र संस्थामा धेरै भन्दा धेरै नेपाली समुदायलाई आबद्ध गराउनमा बढी जोड दिइरहेका छौं।’

आगामी दुइ वर्षे कार्यकालका लागि सम्भव भएसम्म सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्ने, यदि सर्वसम्मत हुन नसकेमा प्रजातान्त्रिक अभ्यासबाट निर्वाचन गरेर नयाँ कार्यसमिति चयन गर्ने, गरी घोषित तथा सम्भावित आकाङ्क्षीहरुका बिच आवश्यक छलफल चलिरहेको स्रोतले जनाएको छ। बिगतको तुलनामा संस्थाको नेतृत्व लिन र कार्यसमितिमा चयन हुनका लागि महत्वकाँक्षीहरु धेरै बढेकाले यस पटकको निर्वाचन प्रक्रियामा रस्साकासी कडै हुने श्रोतको दावी छ।

संस्थाको विधान अनुसार अधिवेशनले आगामी दुइ वर्षे कार्यकाल(२०२२-२०२३) का लागि अध्यक्ष-१, वरिष्ठ उपाध्यक्ष-१,उपाध्यक्ष(दुइ जना), महिला उपाध्यक्ष-१, महासचिव-१, सचिव-१,कोषाध्यक्ष-१, सह-कोषाध्यक्ष-१ र सदस्य-२४ जना चयन गर्नेछ।

नेपाली, आप्रवासी नेपाली र नेपाली भाषीहरुलाई संगठित गरी उनीहरुको उथ्थानका लागि यथासक्य काम गर्ने मूल उद्देश्यका साथ सन् १९८९ मा स्थापित यस संस्थामा हाल ५० जना आजीवन सदस्य र १८० जना साधारण सदस्य गरी, जम्मा २३० जना सदस्यहरु आवद्ध रहेका छन्। झण्डै बीस हजारको हाराहारीमा नेपाली तथा नेपाली भाषीहरुको बसोवास रहेको अनुमान गरिएको यस म्यासाचुसेट्स राज्यमा, परिमाणात्मक रुपमा हेर्दा संस्थामा आवद्ध हुनेहरुको संख्या भने निकै कम देखिन्छ। यद्यपि, गर्दै आएका क्रियाकलापहरु र चालिएका गुणात्मक कदमहरु भने कदरयोग्य, उत्प्रेरक र उत्साहजनक नै देखिन्छ। आगामी दिनहरुमा संस्थाले बढि भन्दा बढि सम्बन्धित समुदायलाई संस्थामा आवद्ध गराएर, उनीहरुलाई अपनत्व ग्रहण गराउन विशेष अभियान नै सञ्चालन गर्नु पर्ने आवश्यकता देखिन्छ।