काठमाडौं । सरकारले ५ वटा नयाँ हिमचुचुरोलाई पर्वतारोहणका लागि खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिम शृङ्खलामा पर्ने ५ वटा चुचुरोहरु आरोहणका लागि खुला भएका हुन् । मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार यी चुचुरो जुगल गाउँपालिकामा पर्छन् ।
सरकारले ६ हजार ५९१ मिटर अग्लो जुगल १, ६ हजार ५१८ मिटर अग्लो जुगल २, ६ हजार १८४ मिटर अग्लो जुगल ३, ५ हजार ९३६ मिटर अग्लो जुगल ४ र ५ हजार ९२२ मिटर अग्लो जुगल ५ लाई पर्वतारोहण प्रयोजनका लागि खुला गर्ने निर्णय गरेको जनाएको छ । सरकारले खुला गरिएका हिमालको विवरण राजपत्रमा प्रकाशित गरेसँगै यी हिमालमा अब व्यावसायिक आरोहणको बाटो खुलेको छ ।
जुगल हिम शृङ्खलामा पर्ने ग्याल्जेन हिमाल (६ हजार १५१ मिटर) यसअघि २०१९ मै आरोहण भइसकेको चुचुरो हो । यी हिमालहरु काठमाडौंबाट नजिकका चुचुरो मानिन्छन् । तुलनात्मक रुपमा होचा यी हिमालहरु अग्लो हिमाल चढ्नु अगाडिको आरोहण अभ्यासका लागि उपयुक्त मानिन्छन् ।
जुगल गाउँपालिका काठमाडौं उपत्यकाबाट ९० किलोमिटर उत्तरपूर्वमा पर्छ । जुगल हिम शृङ्खलामा ६ हजार मिटर भन्दा अग्ला ८ वटा चुचुरो रहेको बताइएको छ । पछिल्लो समय स्थानीय सरकारले समेत जुगललाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न प्रयास गरिरहेको छ ।
नेपालमा सरकारले आरोहण खुला गरेका हिम चुचुराको संख्या अब ४१९ पुगेको छ । सर्वोच्च शिखर सगरमाथासहित ४१४ वटा हिमाल यसअघि नै आरोहणको प्रयोजनका लागि खुला गरिएको छ । जसमध्ये २७ वटा हिमाल नेपाल पर्वतारोहण संघले व्यवस्थापन गरिरहेको छ । नेपालमा विश्वको सर्वोच्च टाकुरासहित १३१० वटा हिमाल रहेको पर्यटन विभागको तथ्यांक छ ।