जुन देशबाट आएपनि अब एनआरएनले अनअराइभल भिसा पाउने

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई त्रिभुवन विमानस्थलमा अनअराइभल भिसा खुला गरेको छ । अध्यागमन विभागका अनुसार अब जुनसुकै मुलुकबाट नेपाल आउँदा पनि गैरआवासीय नेपाली (एनआरएन)ले अनअराइभल भिसा पाउने छन् । तर, यस्तो सुविधा तत्कालका लागि त्रिभुवन विमानस्थलमा मात्र उपलब्ध हुनेछ ।

नेपाल आउँदा पिसिआर नेगेटिभ रिर्पोट अनिवार्य तथा नेपाल आएपछि १० दिन क्वारेन्टिन बस्नुपर्ने प्रावधान भने यथावत नै रहेको छ । यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएमा मात्र अनअराइभल भिसा दिने गरेको थियो ।

अध्यागमन विभागले १० मंसिर, १० पुस र ११ माघको अनुसार मन्त्रिपरिषद्को निर्णयबाट भएका व्यवस्थाहरु सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । अब नेपाली मुलका विदेशी (राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएको) वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली नागरिकलाई बिना शर्त अनअराइभल भिसा पाउने छन् ।

यसबाहेक कुटनीतिकरऔपचारिक राहदान बाहक वा यूएनका कर्मचारीले समेत बिना शर्त अनअराइभल भिसा पाउने छन् । नेपालमा रहेका अन्तर्राष्टिय संस्थामा कार्यरत विदेशीलाई समेत अब बीना शर्त अनअराइभल भिसा दिइने विभागले जनाएको छ ।
विदेशी नागरिकको हकमा विदेशबाटै नेपालको भिसा लिएर आएमा भने सबै विदेशीले प्रवेश अनुमति पाएका छन् । भिसा नभएका विदेशी पर्यटकले भने नेपाली नियोगबाटै भिसा लिएर नेपाल आउनु पर्नेछ ।

भिसा लिएर आउन सम्भव नभएका भने सम्बन्धित सरकारी निकायको सिफारिस वा पूर्वस्वीकृति अनिवार्य गरिएको छ । त्यसो भएमा भने प्रवेश बिन्दुमा भिसा दिइनेछ ।

नेपालबाट कुनै औपचारिक कार्यक्रममा भाग लिन विदेशमा गई पाँच दिन वा सो भन्दा कम अवधिमा नेपाल र्फकने पदाधिकारीले भने विदेशमा थप कोरोना परीक्षण गर्नु नपर्ने भएको छ ।

उनीहरुलाई नेपालमै गरिएको परिक्षण मान्य हुने छ । नेपाल फर्किएपछि पनि उनीहरुले क्वारेन्टिनमा बस्नु नपर्ने गरी छूट दिने निर्णय सरकारले गरेको छ ।