काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन मिति जेठ ४ गते तोक्ने संकेत गरेका छन् । सोमबार वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने बताएका हुन् ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले जेठ ४ गते स्थानिय निर्वाचन गर्ने भन्दै प्रधानमन्त्रीले निर्वाचनका लागि तयारीमा जुट्न निर्देशन दिएको बताए । ‘प्रधानमन्त्री जेठको पहिलो हप्ताभित्र निर्वाचन सम्पन्न गर्न तयार हुनुहुन्छ । उहाँले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने कुरा गर्नुभयो,’ उनले भने ।
साथै प्रधानमन्त्रीले एमसीसी पारित गर्ने पनि तयारी रहेको जानकारी गराएका थिए । भेटमा सहभागी कांग्रेस नेता किरण गिरीले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने, ‘स्थानीय तहको निर्वाचन जेठ ४ मा हुन्छ । त्यसको लागि तयारी गर्नू ।’