न्यूयोर्क । जोन्सन एण्ड जोन्सन खोप माथि अमेरिकामा लागेको रोक फुकुवा भएको छ । रगत जम्ने खतरा देखिएको विवरण सार्वजनिक भएसँगै अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा अस्थायी प्रतिवन्ध लागेको थियो । ११ दिन अगाडी लगाएको प्रतिवन्ध अमेरिकाले फुकुवा गरेको छ ।
अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले खोपमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको अमेरिकी एजेन्सीलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । जोन्सन एण्ड जोन्सनको खोप लगाएका करिब ८० लाख मध्येबाट १५ जनामा गम्भीर प्रकारको रगत जम्ने समस्या देखिएको थियो । सोहीका कारण अप्रिल १४ देखि खोपको प्रयोग रोकिएको थियो ।
समस्या देखिएका सबै ५० वर्ष मुनिका महिला रहेका र उनीहरुमध्ये तीनजनाको मृत्यु भइसकेको छ । युरोपियन औषधि नियामक निकायले पनि यही हप्ता जोन्सन एण्ड जोन्सनको खोपमाथिको प्रतिबन्ध हटाइसकेको छ ।
अमेरिकामा प्रतिबन्ध फुकुवासँगै नेदरल्याण्ड्समा रहेको कम्पनीको फ्याक्ट्रीबाट कम्तिमा एक करोड खोपको मात्रा तत्कालै अमेरिका पठाइने पनि जोन्सन एण्ड जोन्सन कम्पनीले जनाएको छ ।
अमेरिकामा जोन्सनको खोपको प्रयोगबाट हुने हानी अत्यधिक कम भएको र यसबाट लाभ लिनेको सङ्ख्या धेरै भएकोले खोप रोक्न नहुने निश्कर्षमा अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ पुगेको हो ।