ज्याक माले अमेरिकामा पठाए सहायता सामग्री

सांघाई । चिनियाँ अर्बपति तथा एसियाका सबैभन्दा धनी व्यक्ति ज्याक माले अमेरिकालाई १० लाख मास्क र पाँच लाख टेस्टिङ किट सहयोग पठाएका छन् । अलिबाबाका संस्थापक माले सोमबार एक टुइटमार्फत उक्त जानकारी गराएका छन् ।

उनका अनुसार सोमबार बिहान चीनको सांघाईबाट ती सामान चाइना इस्टर्न एयरलायन्सको जहाजमार्फत अमेरिका पठाइएको हो ।

उनले मास्क र कोरोना भाइरस परीक्षण गर्ने किट बोकेको जहाज सांघाईबाट उड्दै गरेको बताउँदै अमेरिकी साथीहरूलाई छिटो निको हुन हुने कामना समेत गरेका छन् ।

त्यसो त उनको टुइटर अकाउन्ट थिएन । सोमबार नै ज्याक माले आजै ट्वीटरमा अकाउन्ट खोलेर संचालनमा ल्याएका छन् ।

ट्वीटरका सिइओ ज्याक डोर्सेले माको टुइट रिट्विट गर्दै उनलाई स्वागत गरेका छन्। ज्याक मा फाउन्डेसनले कोरोना भाइरससँग लडिरहेका अन्य मुलुकलाई समेत सहयोग गर्ने भएको छ ।