झण्डै २४ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं । नेपालको सार्वजनिक ऋण झण्डै २४ खर्ब पुगेको छ । चालु आर्थिक वर्ष (आव) २०८०\८१ को पहिलो ६ महिनामा ८५ अर्ब १३ करोड रुपैयाँबराबर सार्वजनिक ऋण थपिँदै २३ खर्ब ८४ अर्ब ४८ करोड सार्वजनिक ऋण पुगेको हो । २०८० असार मसान्तसम्म २२ खर्ब ९९ अर्ब १० करोड सार्वजनिक ऋण थियो ।

यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ९८ अर्ब ४ करोड रुपैयाँ छ । बाह्य ऋण भने ११ खर्ब ८६ अर्ब ४४ करोड छ । असार मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब २९ अर्ब १० करोड र वाह्य ऋण ११ खर्ब ७० अर्ब २४ करोड थियो । यस अवधिमा सरकारले लिएको कुल ऋण आकार भने खुद बढेको ऋणको दाँजोमा धेरै ठूलो छ ।

चालु आव पहिलो ६ महिनामा सरकारले लिएको कुल सार्वजनिक ऋण १ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ हो । यसै अवधिमा सरकारले आन्तरिक र बाह्य ऋणको साँवावापत ७७ अर्ब ४५ करोड रुपैयाँ भुक्तानीसमेत गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । सोही आधारमा ६ महिनामा सार्वजनिक ऋणको खुद वृद्धि ८५ अर्ब १३ करोड रहेको देखिएको हो । पछिल्लो ६ महिनामा सरकारले ऋणको सावाँ–ब्याज तिर्नमात्र १ खर्ब १६ अर्ब खर्च गर्नुपरेको छ ।

कार्यालयका अनुसार ६ महिनामा आन्तरिक ऋणको सावाँ भुक्तानीमा ५९ अर्ब ३७ करोड खर्च भएको छ । आन्तरिक ऋणको ब्याज भुक्तानीमा ३४ अर्ब १९ करोड गएको छ । उता, बाह्य ऋणको सावाँ भुक्तानीमा १८ अर्ब ७ करोड र ब्याज भुक्तानीमा ४ अर्ब ९३ करोड खर्च भएको कार्यालयको तथ्यांक छ । यसरी सरकारले ६ महिनामा ऋणको साँवा–ब्याज तिर्नमात्र १ खर्ब १६ अर्ब ५७ करोड खर्च गरेको छ ।