काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा गरिएको उपचार खर्च व्यहोर्न नमिल्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
नेता थापाले नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने समाचार सार्वजनिक भएपछि नेता थापाले सरकारको निर्णय गैरकानुनी भएको भन्दै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।
‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने व्यवस्था छ र उक्त कान्न २०७५/६/२ गतेदेखि लागु भइसकेको छ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनले लेखेका छन्, ‘यो कानुन कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानुनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।’
उनले अहिले खनालको स्वास्थ्योपचारको चर्चा भइरहेको र त्यसमा उनको पार्टीले पहल गरिरहेको भन्दै अप्ठेरो अवस्था भए सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।
‘जहाँसम्म पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ, हामी सबै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छौँ । नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनुभएका झलनाथ खनालले पछिल्लोपटक निजी नाफा–घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनुभएको छ, यसले उहाँको कद अझ बढेको छ,’ उनले भनेका छन्, ‘झलनाथ खनालसमेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसद्मा सँगै काम गर्न हामी प्रतीक्षारत छौँ । मलाई विश्वास छ, हाम्रो चाहना छिटै पूरा हुनेछ ।’
उनले खनालको उपचारको लागि परिवार, स्वजन, पार्टीपंक्ति लागिरहेको बताएका छन् । ‘उहाँलाई उपचार खर्च जुटाउनुपर्ने अवस्था नै आएमा त्यसको लागि देश–विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै,’ थापाले भनेका छन्, ‘यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाई उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ ।’
थापाले खनालको उपचारका विषयमा अनावश्यक चर्चाले उनको कद घटाउने पनि बताएका छन् । ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी हो र अघिल्लो सरकारले कानु्नविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईंको भनाइ उद्धृत गर्दै आएका समाचार गलत हुन् भन्ने विश्वास छ,’ थापाले भनेका छन् ।