झापा । झापामा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । झापाको झापा गाँउपालिका ३ कामाटोलीमा सशस्त्र प्रहरीले स्थानीय बासिन्दासँगको झडपका क्रममा गोली चलाएको हो । स्थानीयबासीबाट सुरक्षाकर्मीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले गोली चलाएको बताइएको छ ।
गोली लागि घाइते भएका कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको ज्यान गएको छ । उक्त स्थानमा गोरु काटेको सुराकीका आधारमा प्रहरी पुगेको थियो । जनपथ प्रहरीले ब्याकअपका लागि सशस्त्रको सहयोग मागेको थियो । त्यसपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयबाट आक्रमण भएपछि प्रहरीले गोली चलाउनु परेको बताइएको छ ।
प्रहरीको लागि लागेर घाइते भएका आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले १० राउण्ड हवाई फायर समेत गरेको थियो । प्रहरी र स्थानीयबीच हिंस्रक झपड भएपछि उक्त स्थान अशान्त बनेको छ ।