झिनो अंकले बढ्यो नेपाली सेयर बजार, १२ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । पछिल्लो दुई दिनमै करिब ५५ अंकले बढेको बजार आज न्यून अंकले बढेको हो ।

सूचकमा झिनो वृद्धि भए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लोे दिनको तुलनामा कारोबार रकम झन्डै ५० करोडले घटेर सवा ५ अर्बमा सीमित भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ०.५६ अंकले बढेर २६७३.८८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१५ कम्पनीको ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँ बराबरको १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर किनबेच भएका छन् ।

बुधबार कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै १००.६६ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै ६६.८६ अंकले घटेको छ ।

कारोबारमा आएका २१५ कम्पनीमध्ये १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ३१ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एचआडीसीएल २७ करोड र अपी पावर १४ करोड रुपैयाँको कारोबार सहित शीर्ष तीनमा रहे ।

झिनो अंकले बढेको बजारमा आज १० कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक, बोटलर्स नेपाल र आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसैगरी, आज विशाल बजार, रुरु जलविद्युत्, समता घरेलु लघुवित्त, खानीखोला हाइडोपावर, युनियन हाइडोपावर, एनआरएन इन्फ्रस्टक्चर, दिव्यश्वरी हाइडोपावर, युनिलिभर र जोशी हाइडोपारका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

आज साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य सबैभन्दा धेरै २.२७ प्रतिशतले घटेको छ ।