काठमाडौं । टर्कि र सिरियामा गएको भूकम्पका कारण भएको जनधन र भौतिक क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ। नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले मूल्यवान् मानवीय जीवन गुमेको भन्दै भूकम्पको क्षतिप्रति दुःख व्यक्त गर्दै भूकम्पमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यस्तो सङ्कटको घडीमा नेपाल सरकार टर्किए र सिरियाको साथमा रहेको मन्त्रालयले जनाएको छ।
भूकम्पको इपिसेन्टर आसपास बसोबास गर्ने सबै नेपाली नागरिकको अवस्था हालसम्म थाहा नभए पनि सम्पर्कमा आएजतिको अवस्था सुरक्षित रहेको पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले बताएका छन् । टर्कि लगायत आसपासका देश र नेपालको अवस्थिति पाकिस्तानस्थित दूतावासले हेर्ने गर्छ। टर्किएको दक्षिणी भू–भाग पाकिस्तानसँग छोएको छ। सिरियासँग छोएको सीमा क्षेत्रको सहर भूकम्पको इपिसेन्टर हो।
गाजियन्टेपमा काम गर्न गएका तीन जना नेपाली युवतीले आफ्नो अवस्थाको जानकारी सञ्चारमाध्यमलाई गराएका छन्। केही समयको फरकमा आएका दुईवटा शक्तिशाली भूकम्पका कारण त्यस क्षेत्रमा आइपरेको सङ्कटमा नेपाली नागरिक प्रभावित भएको हुन सक्ने सम्भावना रहेकाले पाकिस्तानस्थित नेपाली दूतावासले निरन्तर आफ्ना नागरिकको खोजी र सम्पर्कमा ल्याउने काम जारी राखेको राजदूत अधिकारीले बताए ।
दूतावासले अपिल जारी गर्दै सङ्कटग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकलाई आफ्ना परिवार र साथीभाइको सम्पर्कमा आउन तथा आफ्नो समस्याका बारेमा जानकारी दिन भनेको छ। कतै समूहमा बसेको भए पनि दूतावासले उपलब्ध गराएको सम्पर्क नम्बरमा फोन गरेर जानकारी गराउन अनुरोध गरिएको छ। त्यहाँका नेपाली नागरिकको अवस्थाबारे परराष्ट्र मन्त्रालयले बुझ्ने कार्य जारी राखेको र समन्वय गर्न दूतावासलाई निर्देशन दिएको जनाइएको छ।
टर्किमा करिब दुई हजारको सङ्ख्यामा नेपाली नागरिक बस्दै आएका छन्। स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार सिरियासँगको सीमा क्षेत्रनजिकै रहेको गाजियन्टेप सहरको इपिसेन्टर भएर सोमबार बिहान ७.८ म्याग्निच्युटको पहिलो भूकम्प गयो।