काठमाडौं । पाकिस्तान आइसिसी पुरूष टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान तेस्रो पटक विश्वकपको उपाधि नजिक पुगेको हो। न्यूजिल्याण्डले दिएको १५३ रनको मध्यम लक्ष्य पाकिस्तानले ५ बल बाँकी हुँदा मात्र ३ विकेट गुमाएर पुरा गर्यो। पाकिस्तानको जितमा कप्तान बाबर अजाम र मोहम्मद रिजवानले उत्कृष्ट पारी खेले।
पहिलो विकेटका लागि सतकीय साझेदारी गरेका कप्तान बाबर अजामले ४२ बलमा ७ चौकासहित ५३ रन बनाए। पहिलो बलमै जीवनदान पाएका बाबरले ३८ बलमा ७ चौकासहित ५० रन पुर्याएका थिए। रिजवानले ४३ बलमा ५ चौकासहित ५७ रन बनाए। रिजवानले ३६ बलमा ५ चौकासहित ५० पुरा गरेका हुन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनायो।
अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रूपमा आयोजना गरेको सन् १९९२ को एकदिवसीय विश्वकपकै शैलीमा पाकिस्तान अष्ट्रेलियामै जारी विश्वकपको फाइनलमा पुगेको छ। पाकिस्तान सन् २००९ को विश्वकपपछि पहिलो पटक फाइनल खेल्न लागेको हो।